गुल्मी । गुल्मीका विभिन्न चार पालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी, पानी र चट्याङका कारण यस जिल्लाका विभिन्न चार पालिकामा विद्युत सेवा बन्द भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ ।
वितरण केन्द्रका अनुसार हावाहुरी, पानी र चट्याङका कारण धुर्काेट, मदाने, मालिका र इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको केही वडामा विद्युत सेवा अवरुद्ध भएको छ । विगत तीन/चार दिन अघिको हावाहुरी, पानी र चट्याङका कारण रेसुङ्गा नगरपालिका वडा नम्बर - ५ देखि धुर्काेट गाउँपालिका ५ वस्तु सम्म जोड्ने ३३ केभि मुख्य लाइनको ठाँउ-ठाउँमा क्षति पुर्याएको छ ।
क्षति भएको उक्त लाइनलाई मर्मत गरी वस्तुसम्म लाइन पुगेको थियो । बिहीबार चट्याङसहित आएको पानीले पुनः यस खण्डमा क्षति पुर्याएको छ । विद्युत आपूर्तिका लागि प्राविधिक टोलि फिल्डमा खटिएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताउनुभयो ।
चट्याङले तीन घाइते
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर-६, अम्मरपुर दोबाटाका ८५ वर्षीय रेखबहादुर विकको घरमा चट्याङ पर्दा तीन जना घाइते भएका छन् । बिहीबार साँझ चट्याङ पर्दा निज रेखबहादुर विक सहित उहाँकी माइली बुहारी अन्दाजी ३५ वर्षीय राधा विक र कान्छी बुहारी ३० वर्षीय सीता विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।
चट्याङले सामान्य घाइते हुनुभएका निज रेखबहादुर घरमै हुनुहुन्छ । घाइते हुनुभएका निजकी माइली बुहारी राधा र कान्छी बुहारी सीतालाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको उहाँले बताउनुभयो ।
चट्याङले निजको गोठमा बाँधेको एक माउ बाख्रो मरेको छ । घरको वाईररिङ बिजुलिको तार सबै जालि समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।






