काठमाडौं । पाइलटकै कारण नेपालमा धेरै हवाई दुर्घटनाहरू भएको सरकारी निकायले दाबी गरेका छन् । हवाई सुरक्षासम्बन्धी नियमन गर्ने सरकारी निकायले एयरलाइन्स सञ्चालक र पाइलटका कारण नेपालमा धेरै दुर्घटना भएको दाबी गरेका हुन् । तालुकदार मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण दुवैले हवाई दुर्घटनाको सम्पूर्ण दोष एयरलाइन्स सञ्चालक र पाइलटको टाउकोमा थुपारिदिएका हुन् । मन्त्रालय र प्राधिकरण दुवैको नेतृत्वले सञ्चालक र पाइलटहरूले नियम पालना नगर्दा नेपालमा अधिकांश दुर्घटना भएको दाबी गरेका छन् । जबकि मापदण्ड पालना गराउने दायित्व दुवै निकायको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त नियम लागू नगरेकै कारण नेपालको हवाई सुरक्षामा दाग लाग्ने ९८ वटा दुर्घटना भएको दाबी गर्नुभयो । बिहीबार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षासम्बन्धी गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले पाइलटहरूकै कारण हवाई दुर्घटना बढेको जिकिर गर्नुभएको हो । नेपाली पाइलटहरूले धेरै बहादुरी देखाएर बादलभित्र जहाज उडाउँदा ९८ वटा दुर्घटना भएको अधिकारीले जिकिर गर्नुभयो । नेपालका पाइलटहरूले प्राधिकरणले बनाएको नियमभन्दा बाहिर गएर खराब मौसममा पनि जहाज लैजाँदा दुर्घटना भएको उहाँको भनाइ थियो ।
‘नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा र जंगलमा ठोक्किएर हुने गरेका छन् । तालिम छ । सुरक्षा विज्ञ पाइलटहरू छन् । तर, बादलमा छिर्नुहुन्छ । गोरर्खालीको बहादुरी धेरै भयोजस्तो लाग्छ । तथ्यांक हेर्दा धेरै सिनियर पाइलटहरूको हवाई दुर्घटनामा मुत्यु भएको छ,’ उहाँले भन्नुभयो, ‘९८ वटा हवाई दुर्घटना बादल वा खराब मौसममा छिरेर भएको छ । त्यहाँ नछिरेको भए हवाई उडानमा कालो दाग लाग्ने थिएन । जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्न हुन्थ्यो । तर, सबै पाइलटहरू बहादुर भएकाले यस्तो भएको हो ।’
महानिर्देशक अधिकारी मात्रै होइन तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि पाइलट कर्तव्यनिष्ठ नहुँदा हवाई दुर्घटना भइरहेको जिकिर गर्नुभयो । उडानमा खटिने सबै जनशक्ति कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने उहाँले बताउनुभयो । हवाई उडान क्षेत्रका जनशक्तिहरू आत्मनुशासनमा रहन आवश्यक देखिएको उहाँको भनाइ थियो । ‘हवाई उडान क्षेत्रका जनशक्तिहरू आत्मा अनुशासनमा रहनुपर्छ । पाइलट र इञ्जिनियरले कर्तव्यनिष्ठ भएर ड्युटी गर्नुपर्छ ।’
पछिल्लो समय एकपछि अर्कोगरी भइरहेका हवाई दुर्घटनाले नेपाली आकाश असुरक्षित रहेको सन्देश दिएको छ । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै गत साउन तेस्रो साता एयर डाइनेस्टीको ९ एन-एजेडी कलसाइन रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चार चिनियाँसहित पाँच जनाको ज्यान गएको थियो । यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९ एन-एएमई) कलसाइन विमान काठमाडौंबाट पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी १८ जनाको मृत्यु भयो भने पाइलट मात्रै बाँच्नुभएको छ ।
प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कुल ११० हवाई दुर्घटनामा ९६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो । नेपालमै पहिलोपटक सन् १९७९ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो । नियमनको विषयमा नागरिक उड्डयन प्राधिकरण (क्यान) माथि सधैँ प्रश्न तेर्सिने गरेको छ । तर, हवाई सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले औँल्याएका विषयसमेत सम्बोधन हुने गरेका छैनन् ।
समस्या एक ठाउँमा छ, औषधि अन्तै लगाइरहेका छौँ : महानिर्देशक अधिकारी
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुर्घटना वृद्धि हुँदा राज्यले अनुभवी पाइलट र धेरै क्षति व्यहोरेको बताउनुभयो । अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको उहाँले बताउनुभयो । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरूले पालना नगरेको उहाँको भनाइ थियो । धेरै अग्रज पाइलटहरूको हवाई दुर्घटनामा मुत्यु भएको तथ्यांक रहेको उहाँले जानकारी दिनुभयो । जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उहाँले उल्लेख गर्नुभयो । हवाई सञ्चालकहरूलाई धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले पनि ठूलो क्षति भएको उहाँको जिकिर छ । कतिपय अवस्थामा नियामकले उडान नगर् भन्दा पनि सेयर होल्डरले सर्वोच्च अदालत पुगेर ठूलो क्षति भएको महानिर्देशक अधिकारीले बताउनुभयो । पछिल्लो दुई वर्षमा धेरै सेयर होल्डर पाइलटहरूको हेलिकप्टर दुर्घटनामा मुत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरूलाई प्रश्न गर्नुभयो । उहाँले सेयर होल्डरलाई हेलिकप्टर उडान नगर भनेर जारी भएको सर्कुलरविरुद्ध सर्वोच्च गएर उडान गर्दा कति पाइलटहरू दुर्घटनामा परेको उहाँको भनाइ छ । हवाई दुर्घटनाको समस्या एउटा ठाउँमा भए पनि सरकारले अन्य ठाउँमा औषधि लगाइरहेको उहाँले बताउनुभयो । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या एउटा ठाउँमा छ, औषधि अन्य ठाउँमा लगाइरहेका छौँ ।’
नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ : पर्यटनमन्त्री पाण्डे
पर्यटनमन्त्री बद्री पाण्डेले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित रहेका सन्देश विश्वलाई सन्देश दिन जरुरी रहेको बताउनुभयो । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा कुनै प्रकारको डर र दुविधा हुँदैन भन्ने कुराको विश्वास विदेशी पर्यटकलाई दिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालको हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिबद्धताका साथ काम गरिरहेको उहाँले बताउनुभयो । पछिल्ला दिनमा हवाई सुरक्षा मुलुकको पहिलो चुनौती रहेको बताउनुभयो । हवाई दुर्घटनासम्बन्धी छानविनमा पनि वास्तविकता खोज्न जरुरी रहेको उहाँले बताउनुभयो । विगतमा भएका हवाई दुर्घटनासम्बन्धी छानविनलाई समीक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । अहिलेसम्म हवाई दुर्घटनापछि बनेका समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समीक्षा गर्नु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
सांसद केसीको प्रश्न : नेपाली जहाज इयुको आकाशमा किन प्रतिबन्धित छन् ?
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रत्येक घटनामा छानविन गरेर प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन नहुने गरेको बताउनुभयो । उहाँले नेपाली जहाज आइकाओ र युरोपियन युनियनको प्रतिबन्धमा पर्नुको कारण के हो ? भनी प्रश्नसमेत गर्नुभयो । ‘नेपाली जहाज झण्डै ११ वर्षदेखि इयुको आकाशमा प्रतिबन्धित छन् । आइकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,’ उहाँले प्रश्न गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनेरसमेत उहाँले प्रश्न गर्नुभएको थियो ।
सांसद झाको प्रश्न : सेटिङमा सबै जहाज ग्राउण्डेड गराइएको त हैन ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सेटिङमा नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले चाडवाडको बेला नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको भन्दै यसमा सेटिङको आशंका गर्नुभयो । चाडपर्वका बेला अन्य निजी कम्पनीहरूसँग नाफा खान एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको उहाँको भनाइ थियो । सी चेकमा एक महिनाका लागि विदेश पठाएको जहाज इटालीमा ९० दिनदेखि राखिएको उहाँले बताउनुभयो । इटालीमा दैनिक पाँच करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड छ भन्ने कुरा आइरहेका छन् । सी चेकमा एक महिनाका लागि पठाइएको जहाज ९० दिनभन्दा धेरै समयदेखि इटालीमा छ । दैनिक हामीले पाँच करोडभन्दा धेरै नोक्सान व्यहोरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘चाडपर्व आउन लागेको बेला अरू कम्पनीलाई पैसा र नाफा दिन सेटिङमा राष्ट्रिय ध्वजावाहकलाई पार्किङमा पुर्याइएको हो कि भन्ने आशंका छ ।’ हवाई क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा नियुक्ति दिलाउँदा अवस्था अस्तव्यस्त बनेको उहाँले आरोप लगाउनुभयो ।






