काठमाडौं । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर संसद्मा अभिव्यक्ति दिएपछि विपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरू नेकपा एमालेका सचिव योगेश भट्टराईविरुद्ध खनिएका छन् । माओवादी केन्द्रका सांसदहरूले सचिव भट्टराई हतियार खरिद-बिक्री र ओसार-पसारमा लागेको आरोप लगाउँदै छानविन गर्नसमेत माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद छिरिङल्हामु लामा तामाङ र छिरिङ डम्डु लामा भोटेले भट्टराईप्रति आक्रोश पोख्दै हतियार तस्करको आरोप लगाएका हुन् ।
बैठकको शून्य समयमा सांसद छिरिङल्हामु लामा तामाङले भन्नुभयो, ‘हिजोको संसद्मा एमालेका एक सदस्यले संसद्को मान नराखी माओवादी जनयुद्धलाई अपमान गर्ने अभिव्यक्ति दिनुभयो । उहाँको विषयमा सधैँ कन्टोभर्सी, बाहिर आइराख्छ । उहाँ मन्त्री हुँदा बतासकाण्ड होस् वा एकजना माननीयले केही समय पहिले सञ्चार माध्यममा जनयुद्ध कालमा हतियार खरिद-बिक्रीमा र ओसार-पसारमा संलग्न भएको आरोप लगाउनुभएको छ । यसबारे उचित छानविनका लागि संसद्को ध्यानाकर्षण गराउँछु ।’
माओवादी केन्द्रकै अर्का सांसद छिरिङडम्डु लामा भोटेले जनयुद्धको नाममा चन्दा असुल्नेले मुक्ति आन्दोलनलाई हिंसा भनेकोमा रोष प्रकट गर्दै भन्नुभयो, ‘००७ सालको आन्दोलन, २०२८ सालको झापा विद्रोह र २०५२ सालको माओवादी आन्दोलन एकात्मक शासन प्रणालीविरुद्ध लागेका मुक्ति आन्दोलन हुन् । जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने आफैँ हिंसाको गतिविधि गर्ने नायकले जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’
शून्य समयमै माओवादी सांसद उर्मिला माझीले जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाउनुभयो । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गर्दा एमाले सचिव भट्टराईले माओवादीको १० वर्षे आन्दोलन हिंसा नै भएको पटक-पटक दोहोर्याउनुभएको थियो । माओवादी केन्द्रका सचिवसमेत रहनुभएका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको काम अघि बढाउने हात नेकपा एमालेको पनि उत्तिकै भएको भन्दै अन्टसन्ट नबोल्न चेतावनी दिनुभयो । विभिन्न समय भएका आन्दोलनको उच्च सम्मान भएको र न्यायका निम्ति लडिएका आन्दोलनको सम्मान गरिएको भन्दै सांसद पौडेलले भन्नुभयो, ‘शब्द प्रयोग गर्दा ख्याल गर्न अनुरोध गर्दछु । अनुरोध स्वीकार गर्ने नगर्ने यहाँको कुरा हो । हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्नेछ । यहाँहरूले यो शब्द किन कन्जुस्याइँ गरेको ? इतिहास त हामीलाई पनि जानकारी छ ।’
सही ढंगले सुन तस्करीको छानविन गरे माओवादी हेडक्वार्टरमा कोही बाँकी रहँदैन : पदम गिरी
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद पदम गिरीले यस अघिको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सही ढंगबाट सुन तस्करी छानविन गरेको भए माओवादीका शीर्ष नेताहरू कोही बाँकी नरहने टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा सांसद गिरीले सुशासनको ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्रीहरूलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको समेत आरोप लगाउँदै भन्नुभयो, ‘माओवादी केन्द्रतिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन । हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन । तर, पूर्व-प्रधानमन्त्रीले जुन प्रश्नहरू संसद्मै तेर्साउनुभयो त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ । म सुशासनको पक्षमा छु । म ट्रंकलाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब बक्यौता उठाउने पक्षमा थिएँ । अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोसिस गर्नुभयो । म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरूले ऊर्जा मन्त्रालय सम्हालेको पछिल्लो आठ वर्ष भयो । निरन्तर आठ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म बक्यौता उठाउन चाहनुभएन ? सुन तस्करीमा पारदर्शी ढंगले छानविन भएको भए सायद तपाईंको पार्टीको हेडक्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए । यो म भन्न सक्छु ।’
उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगन थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उत्तेजनाको राजनीति नगर्न आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले पूर्व–प्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंका जस्तो हुनसक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताउनुभएको हो । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्नुभएका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो । महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग भएको र उसले आफ्नो जिम्मेवारी भुल्न नहुने स्पष्ट पार्दै भन्नुभयो, ‘प्रतिपक्षले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । एक छिनको लाभका लागि, आफ्नो दलमा अप्ठ्यारो परेको छ, दलका साथीहरूलाई जुरुक्क उचाल्छु भनेर क्षणिक लाभ पूरा गर्न र अन्तरविरोधमा खेल्नका लागि यति धेरै पनि बरालिनु पनि हुन्न कि । बाल्न सजिलो छ निभाउन गाह्रो छ, उत्तेजनाको राजनीतिक बडो सजिलो हुन्छ, चेतनाको राजनीतिक गाह्रो हुन्छ । आवेग ओकल्न सजिलो छ, विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो हुन्छ । हेक्का राख्नुस् ।’
रविलाई लक्षित टिप्पणी : ‘तथ्य र प्रमाण भएकैले नौ घण्टा बयान लिएको हो’
सांसदसमेत रहनुभएका महामन्त्री थापाले सहकारी संस्थाका बचत ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले तथ्य र प्रमाणकै आधारमा नौ घण्टासम्म बयान लिएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै महामन्त्री तथ्य र प्रमाणका आधारमा पूर्व-गृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेसँग नौ घण्टा बयान भएको स्पष्ट पार्दै भन्नुभयो, ‘हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा हाम्रा साथीहरूले बोकेर जानुभएन होला ? अनि यसमा ख्याल गर्नुभएन नौ मिनेटमा चट् भनेको ठाउँमा नौ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था, त्यो तथ्य र प्रमाण भएकाले आएको होइन होला ? छानविन समितिका सभापति सूर्य थापाले मेहनत गरेको र समितिप्रति विश्वास छ । बरू साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान, सफाइ होइन । फैसला त आउनै बाँकी छ, म त तथ्य र प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिराखेको छु । फैसला आउने दिन गनेर बस्न आग्रह गर्दछु ।’ लामिछानेसँग समितिले गत भदौ ७ गते नौ घण्टासम्म बयान लिएको थियो ।
बंगलादेशको जस्तो घटना हुँदा आफू सुरक्षित हुन्छु भन्ने भ्रम नपाल्नू : खतिवडा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बंगलादेशको जस्तो घटना हुँदा आफू मात्र सुरक्षित रहन्छु भन्ने भ्रम नपाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिनुभएको छ । सत्ताबाट हट्नेबित्तिकै देश श्रीलंका र बंगलादेश बन्छ भन्ने प्रचण्डको भाष्य गलत रहेको उहाँको भनाइ छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद खतिवडाले माओवादीलाई जिम्मेवार राजनीति गर्न आग्रह गर्दै भन्नुभयो, ‘रोष्ट्रममा गएर गाली गर्दा एकछिन ताली खाउँला, तर जनताको बीचमा जाँदा त्यसको जवाफ हामी आफैँले दिनुपर्छ । पूर्व-प्रधानमन्त्रीले आफू मात्र सुरक्षित भन्ने भ्रम राखेको पाइयो । आफू सत्तामा नहुनेबित्तिकै देश श्रीलंका हुने, बंगलादेश हुने यो भाष्य गलत छ ।’ मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेस-एमाले सरकारको कुशासनका कारण जनआक्रोश विस्फोट हुने खतरा रहेको टिप्पणी गर्नुभएको थियो ।






