काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा साइग्रेस पोखरेलले अनुबन्धित हुनुभएको छ । अनमोल केसीको शीर्ष भूमिका रहने यो चलचित्रको क्रिएटिभ भूमिकाको लागि उहाँ अनुबन्धित हुनुभएको हो । चलचित्रका निर्माता सरोज न्यौपाने र पोखरेलबीच बिहीबार लिखित सहमति भएको छ ।
पोखरेलले यो चलचित्रमा पटकथा र संवादको पक्ष केलाउनुहुनेछ । ‘स्क्रिप्ट र डायलगसहित क्रिएटिभ पार्टका लागि उहाँले काम गर्नुहुनेछ’, न्यौपानेले भन्नुभयो । पोखरेल युरोपमा बसोवास गर्दै आउनुभएको छ । उहाँ यतिवेला काठमाडौंमा हुनुहुन्छ ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रको अर्को सातादेखि छायांकन गर्ने निर्माणपक्षले तयारी गरेको छ । चलचित्रलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिनेछ । चलचित्रमा अनमोलसहित आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका हुनेछ । यो चलचित्रले भ्यालेन्टाइन्स डेको सन्दर्भ पारेर फागुन २ गते सिनेमाघरमा आउने मिति तय गरेको छ ।






