राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको किचलो छताछुल्ल भएको छ । परिवर्तनको आक्रामक सन्देश र शैलीमा जन समर्थन पाएको यो पार्टीको नेतृत्व आरम्भदेखि नै अनगिन्ती विवादमा पर्दै आएको थियो । अहिले भने महासचिव डा. मुकुल ढकाल प्रकरणले यो पार्टीभित्र कुहेको आन्द्राभुडी सडकमा दुर्गन्ध फैलने गरी छरिएको छ । जुन जोगी आए पनि हिजोको जस्तै उखान नेपाली राजनीतिको मौलिक चरित्र हुँदै गएको छ र त्यसको पछिल्लो उदाहरण भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी । नयाँ दल हुन् कि पुरना दल भित्र नयाँ दावी गर्नेहरू हुन् तिनको सोच शैली विधि, व्यवहार सम्पूर्णतामा निरंकुश, आत्मकेन्द्रित, नियन्त्रणवादी चिन्तन, असहमतहरूलाई भित्तामै धकेल्ने सोच, हर प्रकारले आफूबाहेक अरू सबैलाई सकेसम्म उनीहरूको पिठ्यूँमा बसेर राजनीतिको उकालो पार गर्ने त्यसो गर्न नसके धुलो पार्ने नीति तिनीहरूमा कूटकूट भरिएको देखिन्छ । प्रतिकात्मक रूपले मुसोलिनी, हिट्लर, स्टालिन, माओ, चाउचेस्कु, पोलपोट, इदिअमिन, कर्णेल कद्दाफी, सद्दाम हुसेनजस्ता शासकहरू हिंसात्मक निरंकुशताका कारण दुर्नाम रहेका छन् । इतिहासमा यी र यस्ता अनेक नामहरू छन् जसलाई प्रत्येक युगका नागरिकहरूले हिंसात्मक क्रूरता र निरंकुशताका लागि पढिरहने छन् । तीमध्ये माओ र स्टालिनको विचारधार माक्र्सवाद भएका कारण उनीहरूप्रति सम्मान गर्नेहरूको कमी छैन । तैपनि समयले तीनलाई पनि निरंकुशताकै मूलधारमा जोडिदिने निश्चित छ ।
लोकतन्त्रमा पार्टीभित्रसमेत आफ्नो विचार राख्न नपाउने, देशभरिबाट प्राप्त जानकारी र सुझावका आधारमा तयार प्रतिवेदन पार्टीको वैठकमा प्रस्तुत गर्न नपाउने भएपछि संस्थापक महासचिव डा.ढकालले त्यसलाई कायरतापूर्वक कुण्ठाको पोको बनाएर आफैंभित्र दबाउन वा लुकाउन चाहेनन् । प्रतिवेदनमा के छ भन्ने प्राप्त जानकारीलाई सार्वजनिक गरिदिएपछि उत्पन्न रडाकोले मुकुललाई पदमुक्त गराएको छ भने पार्टी अध्यक्ष रवि लामिछानेलाई निर्वस्त्र तुल्याएको छ ।
नेतृत्वका महत्वाकांक्षी, आत्मकेन्द्रित, व्यक्तिवादी, कपटी खेलमा प्रवृत्तहरू राजनीतिमा मात्रै होइन सर्वत्र अहंकारको छायाँग्रसित हुने गरेको भेटिन्छ । बाहिर सेतो लुगा र वस्त्र लगाउनेहरू कुनै सामाजिक संस्था वा राजनीतिक संस्थाको नेतृत्वमा पुगे भने, गेरु अथवा पहेंलो वस्त्रभित्र जनता र नागरिक अधिकारका नारा लगाउनेहरूले संस्थाको नेतृत्व पाए भने, समाज रूपान्तरण र परिवर्तनका लागि जुन रंगको आवरणमा आवृत्त भए पनि तिनीहरूमा निरंकुश, निकृष्ट, कपटपूर्ण सोंच रहन्छ । आजको रास्वपा पनि त्यही लस्करको उदाहरण हुन पुगेको छ । नियन्त्रणकारी रोगी मानसिकताले पीडितहरूले संसाथाहरूप्रतिको विश्वसनीयतालाई यसरी नै धराशायी बनाउने गरेका छन् ।
रास्वपाभित्रको किचलो एउटा उदीयमान पार्टी अवशानको संकेत हो । आदर्श, सिद्धान्त, लक्ष्य, विचार, कार्यक्रम, इतिहास र योगदान केही नभएकाहरू जब जेठको गर्मीमा जमिनबाट छिचिमिरा उत्पन्न भएजस्तो प्रतिक्रियात्मक रूपमा प्रकट हुन्छन् तिनीहरूको अवशान पनि छिचिमिराकै रूपमा हुने गर्छ । पुराना दलभित्र पनि नाटकीय रूपले उत्पन्न छिचिमिराहरूको ठूलो पंक्ति छ । जसको कुनै योगदान छैन, इतिहास छैन तर योगदान र इतिहासका धरोहरमाथि शासन गर्ने तीव्र आवेग तिनीहरूमा व्याप्त छ ।
पुरानाले गरेनन् भन्ने र बोल्ने अधिकारका लागि पुरानाहरूले भोगेका यातना, कष्ट पीडा, गुमाएको समय, श्रम र सम्पत्तिलाई निरर्थक ठान्ने प्रवृत्ति पुराना दलभित्रका नयाँ ठेट्नाहरूमा समेत उत्तिकै छ । समर्थ रहेसम्म राजनीतिमा मानिसहरूको लगाव रहन्छ । अथवा सामाजिक छवि नबिग्रेसम्म राजनीतिको मियोमा मानिसहरू रहन्छन् । तर अरूलाई खसाएर, अरूका खुट्टा काटेर, अरूलाई नीचो देखाएर, अरूका विचारलाई बलात् नियन्त्रण गरेर राजनीति गर्नेहरू नयाँ हुन् कि पुराना सबै एउटै ड्यांगका मूलामा परिणत हुने छन् । अविकसित लोकतन्त्रको सबैभन्दा ठूलो दुर्गुण भनेको नै परिवर्तन जुन प्रकारले भए पनि नियन्त्रणवाद प्रमुख आधार हुने देखिएको छ । यस्तो नियन्त्रणवाद आत्मकेन्द्रित अहंकारको जगमा निर्मित, पल्लवित र पुष्पित हुने गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि एकाधिकारवादी चिन्तनका सामु त्यहाँ बस्ने हो भने कित दास हुनु पर्यो, कि निरीह हुनु प¥यो कि त विद्रोहको विगुल फुक्ने सामथ्र्य राख्नु प¥यो । अन्यथा अपमानको घुट्का पिउँदै डा.मुकुल ढकाल हुन तयार हुनु पर्यो । राजनीति कति गज्जबको तिक्त र यथार्थले भरिएको छ । यही तिक्तता निरासको प्रमुख कारण भएर विष्फोठ भएमा नयाँ पुराना सबैको खेल समाप्त हुने सम्भावना यथावत् रहन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना र अकस्मात् प्राप्त जनसमर्थन निकै आस लाग्दो मानिएको थियो । अनेक दिग्गज बौद्धिकहरूले पनि यस पार्टीको संभावनालाई महत्वकासाथ हेरेका थिए । यो पार्टी लोकतान्त्रिक दलको लोकतान्त्रिक विकल्प हुनसक्ने विश्लेषण हुन लागेको थियो । खासगरी नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा पलाएको र झांगिएको ऐँजेरुका कारण अपमानित र किनारामा पुगेकाहरूले वैकल्पिक लोकतान्त्रिक दलको सम्भावना हुनुपर्ने तर्क गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको थियो । त्यस पार्टीमा आबद्ध धेरै अनुहारहरू आज पनि नेपाली कांग्रेसको पृष्ठभूमिमा कतै न कतै जोडिएका देखिन्छन् । रास्वपाले समानुपातिकमा पाएको मत पनि अरूको नभएर नेपाली कांग्रेसका अपमानित सदस्य वा समर्थकहरूकै मत थियो भन्ने धेरैको बुझाइमा छ । पत्रकारितामा परिवर्तनको छवि बनाएका र आक्रामक देखिएका रवि लामिछानेको अध्यक्षतामा स्थापित यो दल उहाँकै कारण जति चर्चित भएको थियो । त्यही आधारमा उहाँकै अपकृत्यहरूका कारण दुर्नाम पनि भएको छ । खासगरी पहिलोमा उहाँको बहुवैवाहिक स्थिति, दोस्रो जन्मभूमिलाई तिरस्कार गर्दै परित्याग गरी लिइएको अमेरिकी नागरिकता, अमेरिका बसाइक्रममा औपचारिक रूपमै लागेका नौवटाभन्दा बढी आरोप, दुइटा नागरिकताबाट लिइएको पासपोर्ट, अहिले पछिल्लो चरणमा जीवी राई, ग्यालक्सी टिभी र सहकारी काण्डले रविको छवि नमेटिने गरी धमिलिएको छ ।
जनता जनार्दन हुन् । अझै पनि उहाँलाई यस्ता अनेक विवादका बीचमा पनि मत दिए भने कि जनता लोकतन्त्रमा नैतिकताको अर्थ मान्दैन भन्नुपर्छ कि त रविमा नैतिकताक अनन्त सम्भावनाहरू जीवित नै रहेछन् भनेर बुझ्नुपर्ने हुन्छ । दुई वर्ष पहिले अत्यन्त निकट भएर संस्थापक महासचिव भएका सहकर्मीले रविलाई पतितसम्म भउको आरोप लगाउनु भएको छ । यो ओरोप लगाउनु हुन्छ पवा हुन्न त्यो लगाउनेले नै जान्नु भएको होला । बुझ्नेहरूले यो आरोपले रविमा अलिकति पनि नैतिकता छ भने सामना गर्ने, चुनौती दिने वा अदालतको शरणमा पुग्नै पर्ने बनाएको अनुभव गरेका छन् । रविजी नैतिकताको कठघरामा उभिनु भएको छ र उहाँका अनन्य सहकर्मी, सहयोगी डा.मुकुल अभियोक्ता भएर आरोपको वर्ष गरिरहनु भएको छ । फैसलाको प्रतीक्षामा बाँकी दर्शकहरूले दीर्घा भरिएको छ ।






