काठमाडौं । अमेरिकामा एक नेपाली छात्राको हत्या भएको छ । टेक्ससस्थित ह्युस्टन शहरमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ ।
भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताउनु भएको छ । पाण्डेको छातीमा गोली लागेको पाइएको छ ।
कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत हुनुहुन्थ्यो ।
अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।
मुनाका साथीहरुका अनुसार उहाँको फोन दुई दिनदेखि स्वीच्डअफ थियो ।







