पाल्पा । नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा मंगलबार पाल्पाको तानसेनमा निकालिएको छ । वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव स्वरुप भगवती रथयात्रा निकाल्ने गरिएको हो ।
जात्रा हेर्नको लागि तानसेनमा हजारौं जात्रालु जिल्ला र जिल्लाबाहिरबाट आएका छन् । जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो ।
बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । कुमाल जातीका जवानले १२ बजेर ३० मिनेटमा भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका छन् । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका छन् । यस्तै, विद्यार्थी र शिक्षकसमेत सहभागी भएका छन् ।
धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनु भयाे । नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष २ सय ५ औं रथयात्राको रुपमा निकालिएको हो । विगतमा भन्दा यस वर्षको जात्रा उत्साहजन र ऐतिहासिक रहेको जात्रामा सहभागी पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले बताउनुभयो ।
विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो । बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरे अनुसार यो जात्रा मनाउने गरिएको किबदन्ती रहेको छ । ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो जिल्लामै सिमित बन्न पुगेको छ ।
भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्नुभएको थियो । रथयात्रामा राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख बसन्त घर्ती , प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश स्वास्थ्य मन्त्री खेम सारु, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, संघीय सांसदहरु ठाकुर गैरे, नारायण आचार्य, प्रदेश सांसदहरु वीरबहादुर राना, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु र कर्णेल उजिर सिंह थापाका परिवार सहित हजारौं भक्तजनहरुको समेत सहभागीता रहेको थियो । जात्राको राष्ट्र प्रमुखबाट अवलोकन भएको यो पहिलो पटक हो । राष्ट्रपति पौडेलले भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारीस्तरबाट पहल गर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले पाल्पाको भवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने बताउनुु भएको छ । मंगलबार पाल्पाको तानसेनमा २ सय ५ औं भगवती रथयात्रामा सहभागी हुन आउनुभएका उहाँले यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पुरा हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताउनुभएको हो ।
उहाँले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पौडेलले पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरवार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको बताउनुभएको छ ।
प्रेस सल्लाहाकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफÞारिश कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता