काठमाडौं । नेपाल-म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गका लागि स्वागत कार्यक्रम आयोजना गरेको छ । सोमबार काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष शिवकुमार अग्रवालले नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संघले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा दुई देशबीच सिधा हवाई उडान सुरुवात हुन सके कोशेढुंगा साबित हुने बताउनुभयो । म्यानमारमा ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेको स्मरण गराउँदै उहाँले बुद्धको जन्मस्थल लुम्बिनीमा म्यानमारबाट सिधा हवाई उडान व्यावसायिक रूपमा सम्भव रहेको बताउनुभयो । म्यानमारमा ठूलो संख्यामा रहेका नेपाली भाषीलाई पनि सिधा उडानले सेवा प्रदान गर्न सक्ने उहाँको भनाइ थियो ।
अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापारमा समस्याका रूपमा रहेको भुक्तानी समस्या नयाँ राजदूतको कार्यकालमा सहजीकरण हुने विश्वास व्यक्त गर्दै नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवद्र्धन गर्नुपर्नेमा पनि जोड दिनुभयो । आगामी वैशाखमा नेपाली प्रतिनिधिमण्डलले म्यानमार भ्रमण गर्ने जानकारी गराउँदै सहजीकरणका लागि उहाँले राजदूतलाई आग्रह गर्नुभयो । राजदूत म्यो मायन्ट मौङ्गले नेपालप्रति म्यानमारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै त्यसलाई थप प्रगाढ बनाउने बताउनुभयो । द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा म्यानमारका पर्यटकको संख्या बढाउन सिधा हवाई सेवालाई दिगोरूपमा अघि बढाउने आफ्नो योजना रहेको जानकारी गराउँदै उहाँले त्यसका लागि पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता औंल्याउनुभयो । पर्यटन प्रवद्र्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एक आपसमा भ्रमण बढाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल-म्यानमार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यानमार चेम्बर अफ कमर्ससँग भाइचारा सम्बन्ध विस्तार गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको संघले जनाएको छ । सो अवसरमा संघका अध्यक्ष अग्रवालसहित उपाध्यक्ष रतनलाल केडिया, कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, कार्यसमिति सदस्य मोहनवीर थापा, ऋषिराज मोर, निर्मल पौडेल र राज लामालगायत सहभागी थिए ।







Breaking news with related posts