ललितपुर । वात्सल्य नेचुरल आइभिएफले नेपाल मेडिसिटी अस्पतालमा पनि आफ्नो सेवा सुरु गरेको छ । मेडिसिटीसँगको सहकार्यमा सञ्चालनमा आएको वात्सल्य क्लिनिक सोमबार मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले उद्घाटन गर्नुभएको हो । सो अवसरमा महतोले सन्तानको चाहना भएर पनि प्राकृतिक रूपमा प्राप्त गर्न नसक्ने दम्पतीका लागि वात्सल्यको सेवाले सहजता प्रदान गर्ने बताउनुभयो । डा. महतोले भन्नुभयो, ‘सन्तान नहुनुको पीडा सम्बन्धित दम्पतीलाई मात्र थाहा हुन्छ । वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गर्दै आएको छ । यस कार्यमा आफू पनि जोडिन पाउँदा मलाई खुसी लागेको छ ।’ पैसा र धनसम्पत्तिले अन्य सुख, शान्ति खुसी दिए पनि सन्तानको पारिवारिक सन्तुष्टि दिन नसक्ने भन्दै बिहे गर्न नचाहनेहरूले पनि आफ्नो जीवनको उत्तराद्र्धमा बिहे र सन्तानको चाहना गर्ने गरेको आफूले पाएको पनि उहाँले बताउनुभयो ।
वात्सल्यले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर क्लिनिकको रिब्राण्डिङ गर्दै नयाँ कलर तथा नयाँ विषयवस्तु र नयाँ नारा ‘नयाँ आशा, नयाँ जीवन’ नारा पनि अघि सारेको छ । वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भन्नुभयो, ‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो, हाम्रो रिब्राण्डिङ नयाँ पहिचानमात्र होइन, यसले प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन् यात्रामा सहानूभूतिपूर्ण समर्थनप्रति हाम्रो प्रतिबद्धता पनि थप प्रष्ट पार्छ ।’ वात्सल्य समूहले काठमाडौंको नक्साल, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलमा सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमै पोखरा र विराटनगरमा पनि वात्सल्यको क्लिनिक सञ्चालनको तयारी रहेको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार विगत आठ वर्षमा वात्सल्यले पाँच हजार दम्पतीलाई सन्तान प्राप्तिको सुख प्रदान गरिसकेको छ । कार्यक्रममा वात्सल्यका ब्राण्ड एम्बेसडरका रूपमा मिस नेपाल २०२४ का विजेताहरू आश्मा केसी, सुमना केसी र करुणा रावतको पनि उपस्थिति रहेको थियो ।






