खोटाङ । जिल्ला अस्पताल खोटाङको एम्बुलेन्स बिग्रिएर थन्किएपछि नयाँ खरीद प्रक्रिया अघि बढाईएको छ । गत जेठ १५ गते अस्पताल प्राङगणदेखि बिरामी चढाएर काठमाडौं लैजान लाग्दा नचलेपछि ट्रकमा हालेर काठमाडौं पु-याईएको एम्बुलेन्स अन्ततः नबनेपछि नयाँ खरीद प्रक्रिया अघि बढाईएको हो ।
जिल्ला अस्पताल र सिप्रदी ट्रेडिङ प्रालिबीच २०७८ असार २३ गते सम्झौता भई भ्याट छुट गरी १२ लाख ८५ हजारमा खरीद गरेर ल्याई २०७९ असार २० गते ‘ख’ वर्गमा परिणत गरेर असोजबाट सञ्चालनमा ल्याईएको एम्बुलेन्स गत जेठ १५ गतेदेखि कामै नदिने गरी थन्किएको हो ।
सिप्रदी ट्रेडिङबाट करीव दुई वर्षअघि मात्रै आएको टाटा योद्धा पिकअपलाई मोडिफाई गरी बनाईएको एम्बुलेन्सको ईन्जिन ब्लग पड्केको, दुईवटा प्रिस्टन बिग्रिएको (गएको), भेल भाँचिएको, कनेक्टिङ भाँचिएको, रिङ गएको, गियर बक्समा पटक–पटक समस्या आउने र अन्य थुप्रै पार्टसहरु बिग्रिएकाले एम्बुलेन्स ग्राउण्डेड भएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुपेश संग्रौलाले बताउनुभयो ।
‘२०७९ असोजदेखि बिरामी बोक्न थालेको एम्बुलेन्स गत जेठ १५ गते अस्पतालको आँगनमै स्टाट नभएपछि ट्रकमा हालेर विनायक अटो काठमाडौं पु¥यायाँै । त्यहाँ देखाउदा इन्जिनका पार्टसहरु भारतबाट ल्याएर फेर्नुपर्ने र फेरेर पनि कतिसम्म टिक्छ भन्ने यकिन भएन ।’ डां संग्रौलाले भन्नुभयो, ‘सबै पार्टस फेर्न विनायक अटोले ५ लाख ९ हजारको इस्टिमेट निकाल्यो । बनाएपछि पनि पक्की सडकमा लामो समय गुड्ने तर, कच्ची सडकमा बढीमा १/२ महिनाभन्दा बढी नगुड्ने भएपछि यहाँका सबै सडक पक्की त छैन । मर्मत गर्दा पनि कति चल्छ भन्ने कुनै ग्यारेन्टी नहुने भयो। बजेट मात्रै सकिने भयो ।’
‘काठमाडौंमा ग्राउण्डेड भएर बसेको एम्बुलेन्स मर्मतमा मात्रै आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ६७ हजार र आर्थिक वर्ष २०८०/०८१ मा ८ लाख ४२ हजार ६०९ रुपैयाँ खर्च भएको थियो। ताकि वर्षभरी एम्बुलेन्सलाई इन्धन, चालकलाई तलब र भत्ता गर्दा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै झण्डै २७/२८ लाख खर्च भएछ । एम्बुलेन्सले वर्षभरी १२ लाख ७२ हजार मात्रै आम्दानी गरेको देखिन्छ ।’ डा.संग्रौलाले भन्नुभयो ।
एम्बुलेन्सले आम्दानी गरेको बजेटले मर्मत गर्नै नपुग्ने र उल्टै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट समेत बजेट हाल्नुपर्ने अवस्था देखिएपछि गत असार २२ गते अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यो एम्बुलेन्स मर्मत नगर्ने र कोशी प्रदेश सरकारलाई नयाँ एम्बुलेन्स खरीदका लागि बजेट माग गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै प्रदेश सरकारले २० लाख बजेट ‘ख’ वर्ग एम्बुलेन्स खरीदमा विनियोजन गरिदिएको छ ।
प्रदेश सरकारले एम्बुलेन्स खरीदलाई साउन २९ गते खर्च मार्गदर्शन २०८१/०८२ जारी गरेपछि भदौ ५ गते जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाउनका लागि वैठक आव्हान गरिदिन अस्पतालले पत्रचार गरेको छ। समितिले हालसम्म नयाँ एम्बुलेन्स खरीद प्रक्रियाका लागि वैठक राखेको छैन।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले वैठक राखेर एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेमा नयाँ एम्बुलेन्स खरीदका थप प्रक्रिया अघि बढ्नेछ।
अस्पतालको एकमात्र एम्बुलेन्स बिग्रिएर थन्किएको हुँदा रिफर गर्नुपर्ने बिरामीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फ अन्यत्र पठाईने गरिएको छ ।






