ऐतिहासिक भोजपुरको टक्सारमा श्रीकृष्ण जन्माष्टमी मेला सुरु
Read Time = 4 mins
टक्सार । भोजपुर टक्सारको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस बर्ष पनि सोमवारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने मेलाको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले उद्घाटन गर्नुभयो ।
टक्सारकोे धार्मिक तथा ऐतिहासिक परम्परा जोगाउन यस बर्ष पनि मेला आयोजना गरिएको मेला ब्यवस्थापन समितिका संयोजक बिमल रणपहेलीले बताउनुभयो । उहाँले भन्नुभयो, “टक्सारका विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्, यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ, यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”
भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । विसं १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि पूर्वमा त्यतिकै प्रख्यात ठाउँ हो । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ पाटक कै स्वरुपमा कृष्ण मन्दिर, विहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिकस्थल छन् ।
सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अवस्थामा फर्काउने प्रयास स्वरुप यस बर्ष पनि मेलाको आयोजना गरिएको आयोजक भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडाध्यक्ष देवी प्रसाद कार्कीले बताउनुभयो । मेला उद्घाटनमा लाखे नाच प्रस्तुती, नृत्य, बिभिन्न जातजातीको प्रस्तुती, धिमे बाजा प्रस्तुती, दाफा भजनमा लाखे नाचको प्रस्तुती, रथयात्रा लगायतका कार्यक्रम गरिएको आयोजक संस्थाका सदस्य घमचन्द दाहालले बताउनुभयो ।
टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनसहित परम्परा समेत जोगाउन जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । टक्सार ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनका लागि पनि सरकारी तहबाट चासो देखिनुपर्ने स्थानीयको माग रहदै आएको छ । मेला मंगलवारसम्म संचालन हुने छ । मेलामा बिभिन्न मनोरञ्जनका खेलहरु, स्थानीय उत्पादनका सामाग्रीहरु राखिएका छन । मेलामा पाँच हजार बढीको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






