जुम्ला । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । जिल्लाको गुठीचौर गाउँपालिका-३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टी एण्ड एन रिर्सच प्रालि र गुठीचौर-५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप ९ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत शाहीको भनाइ छ ।
जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ । उत्पादनसिल क्षेत्रफल करिब २८ हेक्टर रहेको छ । जम्मा उत्पादन चार सय ४८ मेट्रिकटन हुने गरेको छ । उत्पादकत्व १६ मेट्रिकटन हेक्टरमा हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई,जुम्लाका निमित्त बरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।
जिल्लामा उच्च घनत्व स्याउको जातअन्तर्गत फुजी, गाला, गोल्डन, डैली सियस, रैडडैली सियस, किंगरेडडेली सियस, फुजीकिकु, ग्रिनस्मीथ र रेडचिफ जातका स्याउ पाइने गरेको परियोजना कार्यान्वयन इकाई, जुम्लाका निमित्त बरिष्ठ कृषि अधिकृत शाहीको भनाइ छ ।
सो जातको स्याउका विरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोनबाट ५० प्रतिशत अनुदान सहयोग र कर्णाली प्रदेश सरकारबाट ७० प्रतिशत अनुदान सहयोगमा वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई,जुम्लाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा यसवर्ष १४ हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको बताउनुभयो । उनका अनुसार उत्पादन भएको १४ हजार मेट्रिकटन मध्य १० हजार मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात हुने भएको छ ।
बाँकी चार हजार मेट्रिकटन स्याउ जुम्लामै खपत हुने अनुमान छ । हाल स्याउ सरदर ६०-६५ रुपैया प्रतिकेजी खरिद विक्री भईरहेको छ । १० हजार मेट्रिकटन स्याउ निर्यात गर्दा झण्डै ३५ करोडबढी जुम्लामा आम्दानी हुने गरेको छ । यहाँका स्याउ किसानले न्युनतम एकलाख देखी ३ लाख सम्म आम्दानी गर्ने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाको भनाइ छ ।
जुम्लाको आठ पालिकामध्य गुठिचौर,चन्दननाथ र पातारासीमा स्याउ उत्पादन राम्रो भएको छ । भने अन्य पाँच पालिकामा अपेक्षित रुपमा स्याउ उत्पादन हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।
जुम्लामा तीन हजारबढी हेक्टरमा स्याउ खेतीहुने गरेको छ । जसमध्ये करिब दुई हजार आठसय हेक्टरमा मात्र स्याउ उत्पादनहुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।
जिल्लाका आठवटा स्थानीय तहका १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेकाछन् । गतवर्ष भन्दा यो वर्ष २० प्रतिशतले जिल्लामा स्याउ कम उत्पादन भएको छ । जिल्लामा स्याउको मुल्य एकरुपता नहुँदा किसान मारमा पर्ने गरेकाछन् ।






