काठमाडौं । तनहुँको मस्र्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मस्र्याङ्दी नदीमा खसेको हो । युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । ‘भरतपुर अस्पतालमा उपचारको क्रममा एकजना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उहाँले भन्नुभयो । मृत्यु हुनेमा सुहास प्रभाकर राणे, तुकशियराम बुधो तायडे, सुधारकर बकीराम जावके, सागर कडु जावके, सन्दीप राजाराम सरोदे, गणेश पाण्डुरंग भारंबे, पंकज भावगत भंगाके, प्रमोद सुरेष पाटिल, मुरलीजा खान (चालक), सरला सुहास राठी, निलीमा सुनिल धांडे, मंगला विलास राठो, रोहिणी सुधाकर जावके, भारती प्रकाश जावके, पल्लबी सन्दिप सरोदे, सुलभा पांडुरङ्ग भारंबे, मिनल गणेश भारंबे, निलीमा चन्द्रकान्त जाबके, आनिता आविनाश पाटिल, निलीमा भिकड, परी गणेश भारंबे (चार वर्षीया) लगायतका रहेका छन् ।
त्यसैगरी, घटनामा १६ जना घाइते भएका छन् । घाइते सबैलाई सुरुमा आँबुखैरेनी अस्पतालमा पठाइएको थियो । दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो ।
दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । दुर्घटनामा परेको बसमा ४३ जना नै भारतीय रहेको खुलेको छ । उनीहरू पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस शनिबार मात्रै निकालिने डिएसपी थापाले बताउनुभयो । ‘अहिले अँध्यारो भएकाले निकाल्न सम्भव भएन । शनिबार मात्रै निकालिने छ,’ उहाँले भन्नुभयो ।
नेपालमा पछिल्लो समय पटक-पटक ठूला दुर्घटनाहरू भइरहेका छन् । गत असार २८ गते बिहान चितवनको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । पछिल्लो समयसम्म २५ जनाको मात्र शव फेला पारिएको थियो ।
उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु
भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग क्षेत्रमा गएको पहिरोमा परेर चारजना नेपालीको मृत्यु भएको छ । मृतक सबै मजदुर रहेको भारतीय प्रकोप उद्धार बलले जनाएको छ । शुक्रबार बिहान करिब साढे १ बजे वर्षाका कारण फाण्टा हेलिप्याड नजिकै पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुने चार नेपालीमध्ये तीनजना चितवनका माडी घर भएको खुलेको छ । मृत्यु हुनेमा चितवन माडी-२ सितलपुरका ५८ वर्षीय तुलबहादुर परियार, माडी-१ भंगहाका २६ वर्षीय कृष्णबहादुर परियार र माडी-५ छर्छरेका २८ वर्षीय पूर्णबहादुर नेपाली हुनुहुन्छ । यस्तै, मृतक दीपक बुढाको भने उमेर र ठेगाना खुलेको छैन । मृतक चारैजना सडक मजदुरको रूपमा काम गर्न भारत जानुभएको थियो । सडक छेउमा त्रिपाल टाँगेर सुतेका चारै जनालाई पहिरोले पुरेको बताइएको छ । मृतकहरूको शवलाई जिल्ला प्रकोप उद्धार बल (डिडिआरएफ) टोलीले रुद्रप्रयाग ल्याएको जनाएको छ ।
बसमाथि ढुंगा खस्दा १९ जना घाइते
मुग्लिन नारायणगढ सडकखण्डको सत्र किलोमा गुडिरहेको बसमा ढुंगा खस्दा १९ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा शुक्रबार दिउँसो ढुंगा लागेको थियो । ढुंगा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिएको थियो । ढुंगा लागेपछि चालकले आत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घाइतेहरूको उपचार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा भइरहेको छ ।
मुस्ताङको थासाङमा हिमपहिरो
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कोबाङमा हिमपहिरो गएको छ । हिमपहिरोको कारण शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको थियो । तर, थुनिएको बोक्सीखोला पछि आफैँ खुलेको थियो । धवलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको प्रहरीले जनाएको छ । हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो । खोला बग्न थालेका कारण कुनै ठूलो जोखिम नदेखिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । जोखिम नभए पनि बोक्सीखोलाका तटीय बस्तीमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको उहाँले बताउनुभयो । नदी रोकिएको ठाउँभन्दा तल रहेका नौ घर परिवारलाई भने त्यहाँबाट सुरक्षित स्थलमा सारिएको छ ।
विपद्मा परी हालसम्म १९५ जनाको मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९५ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २४७ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै काठमाडौं उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १०१ जना गरी जम्मा २१० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीका कारण जम्मा ४०८ घर डुबानमा परेका छन् । ३४२ वटा घर, १२१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९०९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट पाँच हजार ८८३ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।







Breaking news with related posts