
साउन ३१ गते ओखलढुंगा छहरे कोइराला गाउँका कोइरालाहरूका लागि कालो दिन हुँदै हो । २०३१ साल साउन ३१ गते छहरेका होनहार युवक केशव कोइरालाको हत्या भएको थियो । पञ्चायतकालीन शासकहरूले महोत्तरी जिल्लाको मटिहानीको नेपाल-भारत सीमावर्ती क्षेत्रीमा कहीँ कतै हत्या गरेर ल्याएर आलीमा राखेको जस्तो देखिने शहीद केशव कोइरालाको पार्थिव शरीर राखेका थिए । शहीद केशवको निष्प्राण शरीरको दर्शन गरेपछि मलगायत मटिहानीमा अध्ययनरत हामी जस्ता विद्यार्थीको बाल मष्तिष्कमा शोकका साथै पञ्चायती शासकहरूप्रति प्रतिशोधको भावना जागृत भएको थियो ।
झन् तत्कालीन अञ्चलाधीश लीलाराज विष्टले पार्थिव शरीरका अगाडि देखाएको निकृष्ट व्यवहार त्यहाँ अध्ययनरत सबैका लागि पञ्चायती शासन र यसका शासकविरुद्ध जाइलाग्नुपर्छ भन्ने सन्देश दिन पर्याप्त थियो । बेलुका सुत्ने सुरसार हुँदै थियो । केही विष्फोटको आवाज सुनियो । कोठामा रहनुभएका नारायण घिमिरेलगायतका दाइहरूको भावभंगिमामा अनायास परिवर्तन आयो । मसँग भएका केही तरुण पत्रिका पनि उहाँहरूले कतै सुरक्षित स्थानमा राख्न लिएर जानुभयो ।
साउन ३२ गते बिहान शिक्षण अस्पतालमा उत्तम दाइकी पत्नी यान्जु, काका कुमार, भाइ प्रदीप, दीपक, विदुरलगायतले शवको सनाखत गरेपछि पूरा वातावरण नै शोकमग्न भएको थियो । ट्रकले किचेरको उत्तम दाइको शरीरको विभत्सताको चित्रणले ती दिनहरू हामी छहरेका कोइरालाहरूका लागि थप काला दिन भएका थिए ।
प्रशासनले सम्पूर्ण छात्रावासको खानतलासी लिन सक्ने र त्यसैको आधारमा अरूले पनि सजाय भोग्नुपर्ने अवस्था नबनोस् भनेर उहाँहरू सचेत हुनुहुन्थ्यो । हामी केटीकेटी भएकाले धेरै कुरा थाहा भएन । बिहान स्थानीयहरू आएर पहाडीमूलको एकजनाको मृत शरीर खेतको आलीमा लडिरहेको छ भनेपछि सबै विद्यार्थी समुदाय शोकमग्न बन्न पुगे । हेर्न जाँदा केशव कोइरालाको शव भएको पहिचान भयो । उहाँका सहोदर भाइहरू पनि अध्ययनरत भएकाले यो घटनाको निहुँमा अरू पनि दण्डित हुनुपर्ने अवस्थाको तरबार सबैका सामु झुण्डिराखेको थियो ।
त्यो साउन ३१ गतेको कालरात्रिको घटनालाई सम्झेर शहीद केशवपुत्री समिताले २०८१ साउन ३१ गतेको अनलाइन खबरमा पिताको स्मृतिमा केही शब्दहरू लेखेर शब्दाञ्जलि प्रकट गरेकी थिइन् । त्यो लेख पढिसकेर सबै खबरबाट अद्यावधिक रहने बानी अनुसार अनलाइन समाचारमा गठ्ठाघरमा विभत्स दुर्घटना भएको, ट्रक चालकले सयौं मिटरसम्म लतार्दै स्कुटर चालकलाई क्षतविक्षत पारेको र उक्त स्कुटर चालक नेपाली थरकी महिला भएको भन्ने समाचार सम्प्रेषण भयो । घटनाको प्रकृति अनुसार चिन्तित र आक्रोशित बनियो । तर, संसारको रीत नै जसलाई गाह्रो प¥यो उसैले भोग्नुपर्ने भएकाले आफ्नो दैनन्दिन गर्नुपर्ने कामतिर लागियो । साउन ३१ गते साँझ ओखल्ढुंगा चिसंखुगढी गाउँपालिकाको हुँ भनेर कार्की थरका एकजना महानुभावले फोन गर्नुभयो । उहाँले मलाई चिनेको जस्तो गर्नुभएन किनभने मलाई म सेवा निवृत्त भएको दर्जाको नाम लिएर सम्बोधन गरिरहनु भएको थियो ।
हजुर तेजप्रसाद कोइरालाको छोरा उत्तम कोइरालालाई चिन्नुहुन्छ ? गठ्टाघर दुर्घटनामा उहाँ परेको आशंका छ । उहाँसँग भेटिएको कागजातबाट यस्तो खुल्न आयो । मैले चिन्छु भनेपछि एकैछिनमा हजुरलाई सम्पर्क गर्न लाउँछु भनेर उहाँले फोन राख्नुभयो । उत्तम दाइको फोनमा फोन गर्दा स्विच अफ भन्यो । मनमा चिन्ताले सतायो । केही समयपछि कार्कीजीले फोन गरेर नेपाल प्रहरीका एसपी शान्ति कोइरालासँग सम्पर्क भएको र उहाँले हाम्रो मानिस हो भनेकाले उतै सम्पर्क राख्नु भनेर फोन राखिदिनुभयो । त्यसपछि काका कुमार कोइरालालाई फोन गर्दा काकीले फोन उठाएर बाबु राम्रो खबर छैन, हाम्रै उत्तम हो, रामहरि, तुलसीहरिहरू गएका छन् भनेपछि छाँगबाट खसेजस्तो बनियो ।
केही क्षण फोन राखेर मृत शरीरको व्यवस्थापनलगायत काम के कसरी गर्ने होला ? भन्ने सम्बन्धमा केही कोइराला परिवारसँग सल्लाह गर्दा मृत शरीर क्षतविक्षत अवस्थामा रहेको, शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको, ३२ गते बिहान भेला भएर सनाखत गर्ने सल्लाह भएपछि ३१ गतेको दिन सकियो । राति फिटिक्कै निदाउँन सकिएन, उत्तम दाइको जीवनका संघर्ष, सफलताले दुर्लभ रूपमा मात्र च्याएको अवस्था, डिल्लीबजारका तिवारीहरूको घरको एउटै छानामुनि एउटै ओछ्यानमा सुतेका दिनहरू, २०८१ साउन १८ गते शुक्रबारका दिन भएको अन्तिम वार्तालापलगायत घटनाक्रम र सार्वजनिक भएको घटनाको दृश्य मानस पटलमा आएर सताइरहे ।
साउन ३२ गते बिहान शिक्षण अस्पतालमा उत्तम दाइकी पत्नी यान्जु, काका कुमार, भाइ प्रदीप, दीपक, विदुरलगायतले शवको सनाखत गरेपछि पूरा वातावरण नै शोकमग्न भएको थियो । साउनको महिना यसै पनि बादलको रजाइ थियो । त्यसमाथिे ट्रकले किचेर लछार पछार पारेको उत्तम दाइको शरीरको विभत्सताको चित्रणले ती दिनहरू हामी छहरेका कोइरालाहरूका लागि थप काला दिन भएका थिए ।
सामाजिक नेता थिए उत्तम दाइ
मानिसहरू नेता भनेपछि राजनीतिक नेता बुझ्दछन् । ठूलो भुँडीसहितको शारीरिक कद, श्रोता नभए पनि बोलिरहनुपर्ने स्वभाव, सधैं केही अनुयायीबाट घेरिरहने परिस्थिति, उपलब्धिशून्य तर सधैं व्यस्त, सर्वसाधारण जनताभन्दा पृथक देखिने चालढाल र रहनसहन, देखावटी सहानुभूति र शोकका लागि यत्र तत्र उपस्थिति, चुनाव केन्द्रित राजनीतिक फाइदाको अचूक हिसाबकिताब यी र यस्तै हुन् नेपालका नेताका पहिचान ।
उत्तम दाइलाई सामाजिक नेताभन्दा कसैलाई लाग्न सक्छ के भनेको होला त्यस्तो फिरन्ते मानिसलाई । होला उत्तम दाइको कद सानो थियो । एउटा पुरानो दुईपांग्रेमा वर्षौंदेखि लिखिरलिखिर गरिरहने बाउनचरीको अगाडि पछाडि लागिरहने कोही थिएन । उनलाई चुनाव लड्नु पनि थिएन, कोही कसैसँग भोट बटुल्नु पनि थिएन । उनी व्यस्त रहन्थे तर कुनै प्रतिफलको आशा थिएन । मात्र कर्तव्यबोध थियो ।
सामाजिक कर्तव्यबोध
यस्ता संसारका गतिविधिलाई भगवानको खटनपटन मान्नेहरूका लागि उत्तम दाइ मर्दापर्दा सबैलाई सेवा गर्न ईश्वरद्वारा खटाइएका व्यक्ति थिए । छहरेका कोइरालाको मात्र होइन, चिसंखुगढीका विभिन्न जातजातिका सामाजिक कार्यक्रमका सहजकर्ता थिए उत्तम दाइ । उनी एक सामाजिक अभियन्ता थिए । उदेकलाग्दो के छ भने- उनलाई बिहान बेलुकाको समस्या टार्न पनि धेरै मिहिनेत गर्नुपर्ने अवस्था थियो तर बोलाइएका सबै कार्यक्रममा पुगेकै हुन्थे । उनलाई बोलाइरहनु पनि पर्ने थिएन कुनै ठाउँमा सारोगारो छ भनेपछि नपुगी नहुने स्वभाव थियो उनको ।
शहीद परिवारका दुःख
टिम्बुरबोटेमा भएको पञ्चायती सुरक्षाफौजको कारबाहीमा उत्तमका दाइ महेश कोइरालाले शहादत प्राप्त गरेका थिए । भाइ महेशको शहादतको पीडा दाइ श्यामले भोगेकै थिए । अर्का भाइ उत्तमको क्रियाकर्मको अनिच्छित पीडा पनि उनैले भोग्नुपरेको छ । शहीद परिवारका वेदना असैहृय छन् । मानिसहरू देखावटी रूपमा शहीद परिवार भनिदिन्छन् । दुःख पर्दाको साथी र सहयोगी कमै मात्र पाइन्छन् । शहीदको त्याग र वलिदानले हात्तिछाप चप्पलवाला राज्य सञ्चालनमा पुगेको छ तर आफ्ना बाहेक कसैको सम्झना छैन । सम्झनामा त आफ्ना नाता गोता र चाकडीबाज मात्र छन् । कांग्रेसका शहीदको नाम नसुनेकाहरू आज पार्टीभित्र हावी भएका छन् । उनीहरूलाई देशका लागि मरेको भनेको सुन्दा पनि अनौठो लाग्न सक्दछ । उनीहरूको बुझाइमा-देशका लागि मर्ने त बेबकुफ, हो देश त खान र कमाउनका लागि पो हो ।
उत्तम दाइको परिवार पनि जिन्दगीभर दःुखमा रहृयो । मन्त्री भएको समयमा सोलुखुम्बुका नेता बलबहादुर केसीले केही शहीद परिवारलाई रोजगारीको अवसर जुटाएर कर्तव्यबोध गरे । केही शहीद परिवारका लागि उनको कारणबाट जीविका धान्न केही सजिलो भएको छ । तर, धेरैले अभिनयसम्म गरे, वास्तविक रूपमा सम्झेनन् । अब त शहीदको परिभाषा नै बदलिसकेको छ । आगामी पिँढीले हरेक मृतकलाई शहीद भनिदिने र त्यस्तै बुझिदिने हो कि जस्तो भइसकेको छ । कहीँ केही घटना भएपछिको पहिलो माग नै शहीद घोषणा गरियोस् भन्ने हुने गरेको छ ।
दाइ शहीद महेश कोइराला जल्दाबल्दा हेर्दा पनि देदिप्यमान तेज भएका युवा थिए । छहरेका कोइराला विद्या उपार्जनका लागि जनकपुरको ज्ञानकूप र मटिहानी झरेपछि पञ्चायती शासनको ज्यादतीप्रति सचेत बनेका थिए । त्यसैमध्येका युवा थिए-महेश कोइराला । नेपाली कांग्रेसले जिल्ला कब्जा गरेर र क्रान्तिको आधारभूमि बनाउनका लागि ओखलढुंगालाई सशस्त्र संघर्षका लागि छनौट गरेको थियो । तर, रणनीतिक कमजोरीका कारण त्यो सफल हुन सकेन, ओखलढुंगाका अरू तरुणहरूले पनि शहादत प्राप्त गर्न पुगे ।
सडक दुर्घटनाका समस्या र समाधान
नारायण-मुग्लिन खण्डको सिमलताल दुर्घटनाको चर्चा सेलाउँन नपाउँदै धेरै दुर्घटना भइसकेका छन् । सिमलताल दुर्घटना राति पहिरो आएको कारण उक्त घटना भएकाले मानवीय कमजोरीभन्दा बढी प्राकृतिक कारण रहेको थियो । सउन ३१, २०८१ को गठ्टाघर दुर्घटनामा मालबाहक ठूलो सवारीसाधनले स्कुटरमा चढेको यात्रुलाई सयौं फिटसम्म पेलेर किमा बनाएको छ । शरीर क्षतविक्षत भएको छ । बचेको एउटा खुट्टा लगेर सद्गत गरिएको छ । चालकको भनाइ थाहा छैन भन्ने छ ।
मृतकका परिवारले पाउने बीमाको रकम पाँच लाख रुपैयाँ अहिलेको समयमा अत्यन्त कम धनराशि हो । यसलाई परिमार्जन गरिनु सान्दर्भिक हुन्छ । दुर्घटनापछि बनेका अधिकांश आयोग तत्कालीन जनदबाब थेग्ने उद्देश्यले बनाइएको छ । कतिले प्रतिवेदन दिएका होलान्, कतिले नदिएको पनि होलान् ।
हाम्रा सडकमा चल्ने गाडीका चालकले चालक सिटबाट सबैतिर देख्न नसक्ने सवारीसाधनलाई चल्न अनुमति दिनुहुने हो कि होइन ? एक सवारीसाधनबाट अर्को सवारीसाधनको दूरी कति हुनैपर्ने हो । लेन अनुशासनलाई कडाइ गर्नुपर्ने हो कि होइन । छापामार शैलीमा स्पिडगन लिएर बस्दा ठूला सवारीसाधन उपयुक्त समयमा रोकिएलान् न रोकिएलान् । अरू देशमा जस्तै बाटोका खाल्डाखुल्डी देख्नु नपर्ने अवस्था किन नबनेको, सडक एम्बुलेन्सको अवधारणा र अभ्यास किन सेलाएको ? जेजस्तो भए पनि बाटो बनाउने अनि भयानक दुर्घटना भएपछि हल्ला गर्ने परिस्थितिको अन्त्य कहिले हुने ?
लामो दूरीमा एकजना चालकले हजारौं किमी सवारीसाधन चलाउँनु पर्ने अवस्था छ । यसलाई नियन्त्रण गर्न कार्यविधि बन्छन् तर कार्यान्वयन छैन । मानव शरीर न हो समयमा निद्रा चाहन्छ, खाना चाहन्छ । यसको व्यवस्थापन किन नगरेको ? सवारी साधनको यान्त्रिक अवस्थाको परीक्षण कर्मकाण्डीमात्र हुने गरेको छ । मानव जीवनसँग जोडिएको यस विषयलाई खेलाची गर्न नपाइने व्यवस्था हुनुपर्ने होइन र ? यातायात मजदुर र मालिकको अनुशासनको अवस्था कमजोर रहेको छ । सभ्य मानिसलाई यातायात मजदुरसँग दोहोरो कुराकानी गर्न नै कठिन छ ।
अर्को ठेक्का नलागेसम्म पहिलेको ठेकेदार कम्पनीले नै मर्मतको जम्मिेवारी लिने वा यस्तै अन्य कुनै उपाय अपनाएर खाल्डारहित बाटो नेपाली जनताले देख्न पाउने अवस्था बन्नुपर्दछ । मृतकका परिवारले पाउने बीमाको रकम पाँच लाख रुपैयाँ अहिलेको समयमा अत्यन्त कम धनराशि हो । यसलाई परिमार्जन गरिनु सान्दर्भिक हुन्छ । दुर्घटनापछि बनेका अधिकांश आयोग तत्कालीन जनदवाव थेग्ने उद्देश्यले बनाइएको छ । कतिले प्रतिवेदन दिएका होलान्, कतिले नदिएको पनि होलान् । अहिलेसम्म प्राप्त प्रतिवेदनका सुझावहरू लिएर यसलाई कार्यान्वयन गरिने प्रभावकारी संयन्त्र बनाइनुपर्दछ । यस्तो संयन्त्रलाई अमुगमनको जिम्मेवारी पनि दिइनुपर्दछ । दोषीले कोही कसैले भने पनि उन्मुक्ति पाउँनु हुँदैन ।
गठ्टाघर दुर्घटना छानबिनका लागि पनि समिति बनाइएको छ । यसले पनि केही सार्थक सुझावहरू दिने नै छ । यसका सुझावहरूलाई पनि मनन गरी उत्तम दाइका परिवारले न्याय पाउनुपर्दछ र आगामी दिनमा कसैले पनि उत्तम दाइको अवस्था भोग्नु नपरोस् भन्नेतर्फ पनि सजगता अपनाउनुपर्दछ । उत्तम दाइको आत्मा अहिले के कस्तो अवस्थामा छ थाहा छैन । जेजस्तो अवस्थामा छ, उहाँको आत्माले शान्ति पाओस् ।
उत्तम दाइको आत्माले तबमात्र शान्ति पाउँनेछ-जन निर्दोष यात्रीले अर्को सवारीसाधनबाट विभत्स अकाल मृत्यु भोग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । यसका लागि राज्य संयन्त्र नै गम्भीरतापूर्वक लाग्नुपर्दछ । उत्तम दाइ तपाईंको महाप्रस्थान भएको छ । आज नवौं दिनको कर्म गरेर तपाईंको परिवारले तपाईंलाई सम्झिरहेको छ । जेजस्तो अवस्थामा हुनुहुन्छ, शान्त र सुखपूर्वक रहनु होला । तपाईंले निरन्तरता दिएको सामाजिक अभियानलाई तपाईंका पछिल्ला पुस्ताले निरन्तरता दिएर तपाईंप्रति कृतज्ञताभाव व्यक्त गर्ने छन् । अलबिदा उत्तम दाइ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच