बैंकक । थाइल्याण्डमा आगामी नोभेम्बर २१ देखि ३० सम्म हुने तय भएको छैटौँ एसियन इण्डोर एण्ड मार्सल आर्ट्स गेम्स बैंकक-चुनबुरी आयोजकको कमजोरीका कारण नहुने भएको छ । एसिया महादेशभित्र ओलम्पिक अभियानको नेतृत्व गर्ने संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले स्थानीय आयोजक कमिटी तोकिएको समयसीमाभित्र आवश्यक तयारी गर्न असफल भएपछि तत्कालका लागि खेल महोत्सव नै रद्द गरिएको हो । एसियाली इण्डोर खेलकुदमा महत्वपूर्ण मानिने यो खेल महोत्सवका लागि नेपालले पनि प्राथमिकताका साथ तयारी गरिरहेको थियो ।
ओसिएको आधिकारिक वेबसाइटमा उल्लेख गरिएअनुसार आयोजक थाइल्याण्डको स्थानीय आयोजक कमिटीले ओसिएद्वारा निर्धारित शर्तहरू पूरा गर्न नसकेकाले खेलकुद महोत्सव रद्द गरिएको हो । गत मेमा बैंककमै सम्पन्न ओसिएको ४३औँ साधारणसभामा स्थानीय आयोजक कमिटीले तयारीको प्रगति विवरण प्रस्तुत गरेको थियो । सो क्रममा आयोजक कमिटीले २०२४ को जुलाईसम्ममा सम्झौतामा उल्लेख गरेअनुसारका सबै तयारी सकिसक्ने वाचा गरेको थियो ।
स्थानीय आयोजकबाट वाचाअनुसार तयारीमा काम नभएपछि गत बिहीबार बसेको ओसिए कार्यकारी समिति बैठकले सोमबारसम्मको समय थप्दै सम्झौताअनुसार नगरिएका बाँकी नौ शर्तहरू पूरा गर्न निर्देशन दिएको थियो । सोही बैठकले सोमबारसम्ममा पनि ती शर्तहरू पूरा नभए खेल महोत्सव नै रज्ञ गर्ने निर्णय पनि गरेको थियो ।
अन्तिम समयमा खेल रद्द गर्दा एसियन इण्डोर एण्ड मार्सल आर्ट्समा भाग लिन लामो समयदेखि तयारीमा रहेका खेलाडी, विभिन्न देश र अन्य सरोकारवालामा पर्न जाने असरप्रति ओसिएले आफू संवेदनशील रहेको बताएको छ । ओसिएले एसियन इण्डोर एण्ड मार्सल आटर््स गेम्सको तयारीमा रहेका खेलाडीलाई आवश्यक सहयोगका लागि सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)हरूसँग सम्पर्क गर्ने पनि जनाएको छ ।
ओसिएको कार्यकारी समितिले साउदी अरेबियाको रियादमा सन् २०२६ मा हुने आगामी संस्करणपछि थाइल्याण्डले एसियन इण्डोर एण्ड मार्सल आर्ट्स गेम्स आयोजना गर्न चाहेमा नियमित प्रक्रियाअनुसार दाबी गर्न सक्ने सर्वसम्मतिबाट निर्णय गरेको छ । २०२१ मै हुनुपर्ने भए पनि छैटौँ एसियन इण्डोर एण्ड मार्सल आर्ट्स गेम्स कोभिड महामारी र थाइल्याण्डमा भएको सरकार परिवर्तनका कारण पटक-पटक मिति सारेर यो वर्षको नोभेम्बर २१ देखि ३० सम्म गर्ने निर्णय भएको थियो । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा