
काठमाडौं । ३१ साउनसम्म सोलुखुम्बुको थामे गाउँ साँच्चै सुन्दर थियो । चिसो हावापानी र थामे खोलामा कलकल बग्ने कञ्चन जलले गाउँको सुन्दरता थप बढाएको थियो । जंगलको बीचमा बनेका अधिकांश एकनाशका घरहरूले पनि पर्यटकीय क्षेत्र थामे गाउँलाई लोभलाग्दो बनाएको थियो । तर, साउन अन्तिममा थामेमा थामी नसक्ने बाढी आयो । धेरैले नसोचेको विपत्ति गाउँ नै बगाउने बाढीको सामना गर्नुप¥यो । थ्याङ्बो हिमताल फुट्दा ३२ साउनमा हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय गाउँ थामेका बासिन्दाले अप्रत्याशित र असाधारण विपत्ति व्यहोर्नुपर्यो । गेग्रान र लेदो माटो मिसिएको भेलबाढीले सिंगो गाउँलाई भताभुंग बनायो । बाढीबाट मान्छेको ज्यान नगए पनि दर्जनौँ घरसहित होटल, विद्यालयलगायत भौतिक संरचनालाई बगायो । गाउँभरी हिलो माटो र गेग्रान थुप्रिएको छ । खेतीयोग्य जमिन बगरमा परिणत भयो ।
विपत्तिपछि सरकारी अधिकारीले गरेको हेलिकप्टर भ्रमणले उपल्लो क्षेत्रका दुईवटा हिमताल फुटेर बाढी आएको देखिएको छ । एउटा हिमताल फुटेर तल्लो स्थानको अर्को तालमा खसेको र त्यो पानी सोहोरिएर एकैपटक प्रवाह हुँदा थामेमा विपत्ति निम्तिएको हो । तालको पानी एकैपटक निस्किएपछि हिउँ, ढुंगा र माटो मिसिएको लेदो बेगवान गतिमा हुत्तिँदै सिंगो गाउँलाई डुबाउने तहमा फैलिएको थियो ।
यो बाढीले तीन वर्षअघि सिन्धुपाल्चोकको मेलम्ची र गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको सम्झना गराएको छ । सँगसँगै हिमाली क्षेत्रमा भइरहेको भू-हलचलको जोखिमलाई पनि संकेत गरेको छ । २१ असार ०७३ मा सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध भत्काउनका साथै तटीय बस्तीका घर बगाएको थियो । २०७४ मा पनि मकालु हिमशृंखलाअन्तर्गत पर्ने यउपा पिकको फेदमा रहेको सानो आकारको लाङ्माले हिमताल फुट्दा होटेल, गोठ, पुल र चौपाया बगाएको थियो ।
पहिल्यैदेखि बढेको थियो हिमतालको आकार
बाढी एक्कासि आएको भए पनि थामेको माथिल्लो क्षेत्रमा रहेका हिमतालको आकार पहिल्यैदेखि निरन्तर बढिरहेको अध्ययनले देखाएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार थामे गाउँ बगाउने थ्याङ्बो हिमताल विस्फोट हुनु अगाडि ०.०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो । थामेको सिरान क्षेत्रमा ३२ साउनभन्दा अगाडि सात दिनसम्म लगातार ६५ मिलिमिटर वर्षा भएको थियो र तापक्रम पनि बढिरहेको थियो । मौसम विज्ञान विभागका अनुसार बाढी आउने अघिल्लो दिन त्यस क्षेत्रको औसत तापक्रम करिब १६ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रम वृद्धिको नतिजास्वरूप हिमताल विस्फोट भएको इसिमोडले जनाएको छ । थामे गाउँमा आएको विपत्तिले हिमाली क्षेत्रमा प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई अझ प्रष्ट बनाएको हिमताल विज्ञहरू बताउँछन् । स-साना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका बेला ठूला ताल फुट्दा त प्रलय नै हुने उनीहरूको भनाइ छ ।
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमनदी पग्लिए : अध्ययन
इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तीन वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिमदनीहरू बर्सेनि पग्लिने क्रम बढेको छ । अध्ययनअनुसार हिमदनी र हिउँ पग्लिएका कारण नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा छन् । जोखिममा रहेका २१ हिमतालमध्ये १८ हिमताल कोशी बेसिन क्षेत्रमा पर्छन् । थामेमा विस्फोट भएको हिमताल पनि कोशी बेसिन क्षेत्रकै हिमताल हो ।
इसिमोडले नै सन् २०२० मा सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रसहित भारत र चीनमा ४७ वटा सम्भावित खतरनाक हिमतालहरू रहेको देखाएको थियो । खतराको सूचीमा परेका हिमतालहरूमध्ये २१ वटा नेपालमा, २५ वटा तिब्बतमा र एउटा भारतमा रहेको अध्ययनले उल्लेख गरेको छ ।
सन् २०२३ मा इसिमोडले सार्वजनिक गरेको एउटा प्रतिवेदनले हिन्दकुश क्षेत्रमा २५ हजारभन्दा बढी हिमतालहरू रहेको उल्लेख गर्दै त्यसमध्ये ४७ सम्भावित खतरनाक हिमतालहरू नेपाल, चीन र भारतमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा रहेको जनाएको थियो । यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्नसक्ने र सन् २०५० बाट ‘हिमताल विस्फोट उच्च बिन्दु’ मा पुग्ने चेतावनी इसिमोडको प्रतिवेदनले दिएको छ ।
मुगु र मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा एक-एकबाहेक अरू जोखिमयुक्त हिमताल दूधकोशी, अरुण र तमोर नदी जलाधार क्षेत्रमा छन् । प्रतिवेदनले च्छोरोल्पा हिमताल र इम्जा हिमताललाई सबैभन्दा बढी जोखिमयुक्त तालका रूपमा देखाएको थियो । हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् । हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन् । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन् । युएनडिपी र इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार सुनकोशी सहायक जलाधार क्षेत्रमा मात्र तिब्बततिर चारवटा हिमताल उच्च जोखिममा छन् । ती तालमध्ये कुनै एउटा फुटेर भोटेकोशीमा बाढी आएमा कम्तीमा १६ हजार जनसंख्या प्रभावित हुनसक्छ ।
जोखिम कसरी घटाउने ?
विज्ञहरू सम्मिलित अध्ययनअनुसार बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिएर हिमताल बढे्का हुन् । जल तथा मौसम विज्ञान विभागको अध्ययन (सन् १९७१-२०१४) अनुसार नेपालको अधिकतम तापक्रम वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेल्सियस छ । यो वृद्धिदर हिमालमा ०.०८६, उच्च पहाडमा ०.०६८, मध्य पहाडमा ०.०५२, शिवालिक क्षेत्रमा ०.०३० र तराईमा ०.०२१ डिग्री सेल्सियस छ । विस्फोटको उच्च जोखिममा रहेका हिमतालबाट पानी घटाउन सके जोखिम कम गर्न सकिन्छ । तर, बजेटको अभावमा सरकारले यो काम अपेक्षाकृत गर्न सकेको छैन । नेपालले अहिलेसम्म विस्फोटको उच्च जोखिममा रहेका ६ मध्ये दुईवटाको पानी घटाइसकेको छ । दोलखाको च्छोरोल्पा र सोलुखुम्बुको इम्जाको पानी घटाइसकिएको छ । तर, ती हिमताल पनि पूर्ण रूपमा जोखिमयुक्त भइसकेका छैनन् । च्छो रोल्पाको सन् २००० मा र इम्जाको सन् ०१६ मा पानीको सतह घटाइएको हो । यहाँ हिमतालमा पानीको सतह घटाइनुका साथै तल्लो तटीय क्षेत्रका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीसमेत जडान गरिएको छ ।
क्षति कम गर्न तालहरूमा प्रत्येक वर्ष पानीको मात्रा भू-उपग्रहबाट निगरानी गर्नुपर्ने विज्ञहरू बताउँछन् । ताल फुटिसकेपछि तल कतिसम्म असर गर्न सक्छ, कत्रो उचाइमा पानी आउन सक्छ, मानवबस्ती, अन्य भौतिक पूर्वाधार केकेमा असर गर्नसक्छ भन्ने कुराको मोडलिङ गर्नुपर्ने उनीहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच