झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लाे समय नेपाली समाज आक्रोश पाेख्ने ठाउँ बनेकाेप्रति चिन्ता व्यक्त गर्नुभएको छ । समाजमा बढ्दो आक्रोशका कारण मानवीय संवेदना कमजोर भएकाले सबै पक्षलाई संयमित हुन उहाँले आग्रह समेत गर्नुभयो ।
नेपाल महिला संघले आइतबार काँकडभिट्टामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भन्नुभयो,'छिमेकीप्रति माया र सदभाव राख्नुहोस्, दिउँसो मात्रै होइन, आवश्यकता पर्दा मध्यरातमा पनि छिमेकीको काम गर्नुपर्छ, सकेको सहयोग गर्नुस्।' सबैप्रति सहयोगी भावना राख्न उहाँले कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कांग्रेसका कार्यकर्ताले समयलाई महत्वका साथ पालना गर्नु पर्ने उल्लेख गर्नुभएको उहाँले समयलाई ध्यान नदिएकै कारण देशमा धेरै कुरा बिग्रिएको दाबी गर्नुभयो । ‘तोकिएकै समयमा कार्यक्रम शुरु गर्नुस्, जे कार्यक्रम हो, त्यसैमा केन्द्रीत हुनुस्,’ शर्माले भन्नुभयो, ‘रक्तदान कार्यक्रममा भाषण गर्नु र गर्न लगाउनुले कुनै अर्थ राक्दैन, कार्यक्रम र समयको महत्व बुझौँ।’
बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला मंगलादेवी सिंह,शैलजा आचार्यहरुको जीवनी सुनेर मात्रै केही नहुने बताउनु भएको शर्माले उहाँहरुको जीवनबाट प्रेरणा लिएर आफूहरूलाई रुपान्तरण गर्न कांग्रेस कार्यकर्तालाई सुझाव समेत दिनुभयो। अन्यथा कांग्रेसको हुनुको अर्थ नरहने उहाँको टिप्पणी छ ।
झापा १ का संघीय सांसदसमेत रहनु भएको शर्माले पार्टीले गरेका राम्रा कामको प्रचारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गर्नसमेत भ्याउनुभयो । कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेश सांसद गोपाल तामाङ, नेपाल महिला संघ झापा अध्यक्ष टिका मैनाली, महिला नेतृत्रय रचना घिमिरे, ज्ञानु थापा र सीता पुरीले बोल्नु भएको थियो।
उहाँहरुले मुलुकमा केही भएन भन्ने भनाईमा सत्यता नरहेको बताउँदै प्रजातन्त्र पुनःस्थापनादेखि अहिलेसम्मको अवस्था नियाल्दा काफी हुने बताउनुभयो ।
महिलाहरुको नेतृत्व विकास विषयमा बद्री कार्की, संविधान एवं कानुनमा महिलाका अधिकार विषयमा अधिवक्ता बसन्त नेपाल तथा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघ विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।







