नवलपरासी । पश्चिम नवलपरासीमा गत आर्थिक वर्षमा नौ सय ३७ नयाँ व्यवसाय दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अनुसार सो अवधिमा चार सय ८४ उद्योग र चार सय ५३ वाणिज्य फर्म दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को जेठसम्म चार सय ७३ उद्योग दर्ता भएकोमा असारमा ११ गरी चार सय ८४ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जनाएको छ । त्यस्तै वाणिज्यतर्फ जेठसम्म चार सय ४४ फर्म दर्ता भएकोमा असारमा नौवटा गरी गत आर्थिक वर्ष चार सय ५३ नयाँ फर्म दर्ता भएका घरेलु तथा साना उद्योग नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले हिमालय टाइम्सलाई बताउनुभयो ।
पौडेलका अनुसार उद्योगतर्फ सबैभन्दा बढी कृषि तथा पशुपालन फर्म दर्ता भएका छन् भने वाणिज्यतर्फ किराना तथा खाद्यान्न पसल धेरै दर्ता भएका छन् । गत आर्थिक वर्ष नवलपरासीमा चार सय ८४ नयाँ उद्योग दर्ता हुँदा करिब २५ करोड ५० लाख बराबरको नयाँ लगानी भएको छ भने वाणिज्यतर्फ चार सय ५३ नयाँ फर्म दर्ता हँुदा करिब २६ करोड ५० लाखको नयाँ लगानी भएको छ । नवलपरासीमा उद्योग र वाणिज्य फर्म गरी जम्मा ५२ करोडको नयाँ लगानी भित्रिएकोे घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जनाएको छ । तर, व्यवसाय दर्ता गर्ने व्यवसायी गत वर्षभन्दा यस वर्ष कम देखिएका छन् । पौडेल भन्नुहुन्छ, ‘नवलपरासीको घरेलु तथा साना उद्योग कार्यालयमा गत वर्ष एक हजार २९ व्यवसाय नयाँ दर्ता भएका थिए । हाल करिब नौ प्रतिशतले नयाँ दर्तामा कमी आएको छ । व्यवसाय दर्ता कम हँुदा राजस्वसमेत घटेको छ ।’
पाँच लाखसम्म पुँजीका व्यवसाय स्थानीय पालिकामा नै दर्ता हुन्छन् भने पाँच लाखमाथिका पुँजी रहने उद्योग तथा वाणिज्य फर्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने प्रावधान छ । नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।







Breaking news with related posts