काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आइतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ । त्यसैगरी हवाई दुर्घटना न्यूनीकरण, दुर्ईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि ध्यानाकर्षण गराएको छ । सिएनआई उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकाले सो क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन आग्रह गर्नुभयो ।
समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गर्नुभयो । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राती १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्नुपर्ने उहाँको आग्रह थियो । सिंहले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकट मूल्य धेरै भएकाले लक्ष्यअनुरूप पर्यटक भित्र्याउन गाह्रो हुने बताउनुभयो । उहाँले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर पुनरावलोकन गरिनुपर्नेमा जोड दिनुभयो ।
समिति सदस्य अशोक पोखरेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताउनुभयो । जसका लागि नेपालबाट युरोप आवतजावतका लागि सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई बोर्डको उद्देश्यअनुरूप अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रका समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अघि बढ्ने बताउनुभयो । २०८३ भदौसम्ममा पोखरा र भैरहवा विमानस्थलका समस्या समाधान हुने गरी काम गरिरहेको भन्दै पर्यटन ऐन पनि तयारी अवस्थामा रहेकाले चाँडै आउने बताउनुभयो । नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अघि बढ्ने उहाँको भनाइ थियो । सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्य हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतको उपस्थिति रहेको थियो ।







Breaking news with related posts