
शासक सधैं शासक हुन सक्दैन । शासकले आफ्नो शासनलाई सधैं टिकाइराख्न पनि सक्दैन । शासकको शासन सधैं रहृयो भने ऊ निरंकुश हुन्छ । निरङ्कुशता कुनै पनि शासकीय पद्धतिको अन्त्य पनि हो । आजको विश्व राजनीतिक व्यवस्थामा निरंकुश शासक कहिले पनि शासनमा रहिरहन सक्दैन । उसका कर्मले उसको शासनलाई अन्त्य गराएका हुन्छन् । शासकमा देखिने शासकीय व्यवहार र उसले शासन सञ्चालनमा चलाएका आधारले देशको राजनीतिले गति लिएको हुन्छ । त्यसैले शासन र शासक एक अर्काका पूरक हुन् देशका लागि । आजको विश्व शासन र शासकीय पद्धति विविधताले भरिएको छ । संसारको सबैभन्दा गतिलो व्यवस्था प्रजातान्त्रिक शासकीय पद्धति हो । यो पद्धतिका आधारमा शासन चलाउने देश आज स्वतन्त्रताको वकालत गरिरहेका छन् ।
शासन चलाउने शासक अर्थसिद्धि वा देशको विकासका लागि समर्पित हुँदैन र ठूलाठूला कुरा गरेर जनतालाई मुर्ख बनाउँछ भने त्यो व्यक्ति सम्पूर्ण पृथ्वीको शासक भए पनि छिटो नाशको कारण बनेको हुन्छ । किनभने, शासक व्यक्ति होइन पद्धति हो र देशनिर्माणको अभियन्ता पनि हो ।
महाभारतमा युधिष्ठिरलाई असल शासक बनाउनका लागि भीष्मले अथक प्रयास गरेका छन् । विभिन्न उदाहरण दिएर उनलाई अधर्मबाट शासन नचलाउन आग्रह गरेका छन् भीष्मले । शासनमा सबैभन्दा पहिले इमानदारीपन र धर्मप्रतिको आस्था हुनुपर्ने धारणालाई उनले राखेका छन् शासकको आचारका विषयमा ऋषि वामदेवको वसुमनालाई दिएको उपदेशलाई भीष्मले गतिलो तरिकाले यहाँ उल्लेख गरेका छन् । शासकको पहिलो गुण धर्माचरण हो । धर्मका माध्यमबाट शासन चलाउने हो भनेमात्र शासकीय व्यवस्था र शासक सफल हुने तर्कलाई उनले राखेका छन् ।
धर्मको आचरण
हाम्रा शास्त्रले शासकलाई राज्यको सबैभन्दा उच्च आसनमा राखेका छन् । शासकले गर्ने धर्म र उसले अवलम्बन गरेका आचरणलाई देशका बासिन्दासित जोडेर हेरेका छन् । लोकप्रिय बन्ने नाममा राज्यका अंगलाई स्वार्थका लागि प्रयोग गरियो भने शासक नै पतनको आधार बन्ने तर्कलाई वसुमनालाई वामदेवले उपदेश दिएका छन् । शासनमा पहिलो आधार भनेको नै इमानदारीता हो । शासन चलाउने समयमा इमानदारीता रहेन भने कहिले पनि शासक र उसले चलाएको शासन सफल हुँदैन । शासक सफल हुनुमा उसका कर्मचारी तथा उसले नियुक्त गरेका मन्त्रीको भूमिका रहने सन्दर्भमा भनिएको छ :
असत्पापिष्ठसचिवो बध्यो लोकस्य धर्महा
सहवै परिवारेण क्षिप्रमेवावसीदति ।।
जो दुष्ट शासक पापी मन्त्रीहरूको सहायताले धर्मलाई हानी पुर्याउँछ त्यो शासक र उसले नियुक्त गरेका मन्त्री सबैको बधका योग्य मानिएका छन् । त्यस किसिमका मानिस आफू र परिवारसहित सङ्कटमा पर्ने गर्दछन् । शासनमा बसेको शासक र उसले नियुक्त गरेका मन्त्रीहरू पनि पाप र पुण्यका भागीदार हुने तर्कलाई यहाँ वसुमनाका अघि वामदेवले राखेका छन् । राजनीति देश र जनताका लागि हुनुपर्दछ । राजनीति कहिले पनि व्यक्तिगत स्वार्थका लागि गरिँदैन पनि र गर्नुहुँदैन । आफू र आफ्नो स्वार्थका लागि गरिएको राजनीति र उक्त राजनीतिबाट चलेको शासकीय व्यवहार पतन हुने तर्कलाई उल्लेख गर्दै भनिएको छ ।
अर्थानामननुष्ठाता कामचारी विकत्थनः
अपि सर्वां महीँ लब्ध्वा क्षिप्रमेव विनश्यति ।।
शासन चलाउने शासक अर्थसिद्धि वा देशको विकासका लागि समर्पित हुँदैन र ठूलाठूला कुरा गरेर जनतालाई मुर्ख बनाउँछ भने त्यो व्यक्ति सम्पूर्ण पृथ्वीको शासक भए पनि छिटो नाशको कारण बनेको हुन्छ । शासक व्यक्ति होइन । शासक पद्धति हो । देशनिर्माणको अभियन्ता पनि हो । देशका जनतालाई सुखी र खुशी बनाउने बचा लिएर आएको विचारको पद्धति हो शासक । शासक आफूले पूरा गर्न नसक्ने वाचा गरेर जनतालाई छलमा राखे कहिले पनि अघि बढ्न सक्दैन । शासकको व्यवहार र उसका कर्मले उसलाई जनतासामु लोकप्रिय बनाउने हुनाले कहिले पनि उसले गर्ने सम्बोधन र उसका सबै कर्महरू देशको विकास, उन्नति र प्रगतिका लागि हुनुपर्ने तर्कलाई यहाँ उल्लेख गरियो ।
राजनीति सस्तो लोकप्रियताका लागि पनि हुनुहुँदैन । सस्तो लोकप्रिय राजनीतिले सधैं राजनीतिको रोटी सेक्ने आधार दिँदैन । देशको हित पनि हुँदैन । देशहितका लागि गरिने शासकीय पद्धति र राजनीति नै लोकप्रिय हुने तर्कलाई बताइएको छ । शासक धर्मको आचरणलाई लिएर शासन चलाउने प्रयत्नमा रहनुपर्दछ । धर्मको आचरण नगर्ने र अस्वस्थ तथा लोकप्रिय राजनीति गर्न खोज्ने व्यक्ति शासनमा धेरै समय टिक्न नसक्ने धारणा बाहिर आएको छ ।
नेपालका राजनीतिज्ञ देश र जनतालाई चुनावका समयमा मात्र आफ्ना र आफन्त मानेर राजनीति गर्ने गर्दछन् । चुनाव सकिएपछि जनताको भावना र उनीहरूसित गरिएका बचालाई भुल्ने र आफ्नो स्वार्थलाई हेर्ने गर्दछन् । यसरी गरिने राजनीति र राजनीतिकर्मी छिटो नष्ट हुने तर्कलाई महाभारतले उठाएको छ ।
धर्म नै नीति
राजनीति स्वस्थ हुनुपर्दछ । अस्वस्थ राजनीति र राजनीति गर्ने व्यक्ति कमजोर हुने गरेको हुन्छ । शासकले आफूलाई कहिले पनि पूर्ण मान्नु हुँदैन । शासक सदा अपूर्ण हुन्छ । संसारमा पूर्ण भनेको ईश्वर हो । मानिस आफैंमा अपूर्ण हो । राजनीति गर्ने व्यक्ति त अझ जनताको मतबाट चुनिएको प्रतिनिधि हो । जनप्रतिनिधि भएका कारण ऊ आफैंमा अपूर्ण रहेको हुन्छ । अपूर्णमा पनि उसले पूर्णताको खोज भने गरिरहेको हुनुपर्दछ ।
न पूर्णोद्रस्मीति मन्येत धर्मतः कामतोद्रर्थतः
बुद्धितो मित्रतश्चापि सततं वसुधाधिपः ।।
शासक सम्पूर्ण वस्तुबाट पूर्ण भए पनि आफूलाई अपूर्ण मानेको हुनुपर्दछ । शासक धर्म, अर्थ, काम, बुद्धि मित्रका माध्यमबाट सम्पन्न भए पनि आफूलाई अपूर्ण मानेर तिनको संग्रहमा निरन्तर लागिरहनु अनिवार्य मानिएको हुन्छ । शासक जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधि भएकाले उसको आफ्नो भन्ने कुरा शासनमा रहेको हुँदैन । उसका सबै कर्म र उसले गर्ने सबै काम जनताप्रति समर्पित हुनु अनिवार्य मानिएका छन् । तिनको व्यवस्थापकीय पक्ष मिलाउन नसकेमा शासकको शासनमात्र होइन ऊ आफू पनि समाप्त हुने तर्कलाई वामदेवले वसुमनालाई उपदेशका माध्यमबाट बताएका छन् ।
शासनमा बसेपछि धर्मका माध्यमबाट शासन चलाउनुपर्ने तर्कलाई यहाँ उल्लेख गरिएको छ । शासनमा बस्ने व्यक्तिमा अधर्म र उसले गर्ने सबै कर्ममा अविश्वासले जन्म लियो भने शासकको अस्तित्व नै समाप्त हुने तर्कलाई महाभारतले उठाएको छ । शासकमा धर्मप्रति आस्था र विश्वास हुनु अनिवार्य मान्एिको छ । शासनमा बसेर धर्मप्रति अनास्था, आफ्नो कर्मप्रति अविश्वास, जनतामाथि छलछाम गर्ने प्रवृत्ति देखिएमा समूल राजनीति नष्ट हुने कुरालाई महाभारतमा उल्लेख गरिएको छ ।
नेपालीले लिने शिक्षा अव्यावहारिक भयो भन्छन् शिक्षाविद् । कस्तो शिक्षा दिनेभन्दा उनीहरूसित पनि जवाफ भने छैन । कक्षा १२ को परीक्षाफल प्रकाशित भयो । विद्यार्थी भाषा सेन्टरमा धाउन थाले । विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थीको आगमन हुन सकेन ।
नेपाल सदा स्वतन्त्ररूपमा रहेको मुलुक हो । यो देशको आफ्नै पहिचान र मान्यता आज पनि विश्वले स्वीकार गरेको छ । यो देशको पहिचानलाई विश्वको सामु पहिचान दिने आधार सगरमाथा, बुद्ध, भृकुटी देशको स्वाभिमान र स्वतन्त्रता हो । यसको पहिचानलाई संसारमा आजसम्म सुरक्षित राखिएको छ । देशको पहिचानलाई जीवन्त बनाउन र नेपालीको जीवनलाई सुरक्षित राख्न नेपालीले ठूलो भूमिका निर्वाह गरेका छन् । यो आजको गणतन्त्र त्यसै आएको होइन । यो नेपालीको बलिदान र संघर्षका माध्यमबाट आएको गणतन्त्रलाई भजाएर खाने राजनीति आजका नेताले गरिरहेका छन् । शासकले जहिले पनि राज्यको सुव्यवस्था र जनताको भावनासित खेल्नुहुँदैन ।
नेपालका शासक आजसम्म हामी नेपाली र नेपालको भावनासित जोडिएर पनि झुटको खेतीमा रमाएका छन् । हामीसित गरिने व्यवहारमा समानता देखिएको छैन । नेपालको विकास र उन्नतिका लागि शासकले निर्वाह गरेको भूमिका भन्दा उनीहरूले गर्ने झुटा वचनको चाङले नेपालीको मस्तिष्क भरिएर आएको छ । शासक झुट बोलेको छ । शासक आफन्तको भरणपोषणमा रमेको छ । शासक नेपालको विकासमा भन्दा आफ्नो दुनो सोझ्याउने पक्षमा मरिमेटी लागिपरेको छ । अस्वस्थ राजनीति नेपाल र नेपालीका लागि दुर्भाग्यको विषय बनेको छ । नेपाल र नेपालीको पहिचान आफ्नै किसिमको भए पनि आज देश विदेशी शक्तिको खेल मैदान बन्न पुगेको छ ।
नेपालीले लिने शिक्षा अव्यावहारिक भयो भन्छन् शिक्षाविद् । कस्तो शिक्षा दिनेभन्दा उनीहरूसित पनि जवाफ भने छैन । कक्षा १२ को परीक्षाफल प्रकाशित भयो । विद्यार्थी भाषा सेन्टरमा धाउन थाले । भाषाका कक्षा सञ्चालन गर्ने सेन्टरमा विद्यार्थी संख्या भरिन थाले । विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थीको आगमन हुन सकेन । विद्यार्थी वा युवा कलेज, विश्वविद्यालयमा भन्दा हवाई अड्डामा लामबद्ध भएको देखिन्छ । युवालाई विदेश पठाएर गरिने कुनै पनि विकास नेपाल र नेपालीका लागि योग्य देखियो र ? नेपालको विकासमात्र होइन राजनीतिलाई पनि स्वस्थ रूपमा अघि बढाउन आवश्यक देखिन्छ । यदि राजनीतिमा अस्वस्थता देखियो र युवालाई विदेशी भूमिमा गुलामी गर्न पठाइयो भने नेपालको राजनीति के र कसका लागि ?
शासकले धर्मका माध्यमबाट शासन चलाउन सकेन भने शासकको शासन नै अपदस्थ हुने अवस्था आउनेछ । शासनमा बसेका र रमेकाले देशको अवस्थाका बारेमा सोच्ने बेला आएन र अब ? नेपालका राजनीतिक दलले राजनीतिलाई स्वस्थ बनाउन सकेनन् । राजनीतिकर्मी अस्वस्थ राजनीतिमा रमाइरहेका छन् । आफ्नो लागि मात्र राजनीतिलाई माथि जाने भर्याङ बनाए । देशको हित र विकासलाई आधार बनाउन सकेनन् । विकास नभएको पनि होइन । विकासभन्दा पनि भ्रष्टाचारका काण्डले आजको समाचार तथा सामाजिक सञ्जाल रंगिन थाले । बेलामा सचेत बनौं । देशका लागि राजनीति गरौं । व्यक्तिगत राजनीति छोडौं । यदि यसो गर्न सकिएन भने सत्ताबाट अपदस्थ र जनताबाट बहिष्कृत भइनेछ । होस् गरौं !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच