‘खाली खाली भएछु म’ कलानिधि दाहालद्वारा लेखिएको कविताको पुस्तक हो । मूल रूपमा कवि भएका नाताले उहाँद्वारा कविताहरू नै बढी लेखिएका छन् । गद्य तथा पद्य दुवैमा उत्तिकै सशक्त मानिनु हुने कलानिधि दाहाल निबन्ध तथा आख्यानहरूतर्फ पनि आकर्षित हुनुहुन्छ । पछिल्लो चरणमा उहाँ गजल, मुक्तक तथा बाछिटातर्फ पनि आकर्षित हुनुभएको पाइन्छ । यो पुस्तकलाई कतै महाकाव्य कतै खण्डकाव्य र कतै कवितासङ्ग्रह भनिएको भए पनि वास्तवमा यो कवितासङ्ग्रह नै हो । असावधानीका कारण कतै कतै त्यसो भनिएको हुनसक्छ । कवि कलानिधि दाहालले एक दर्जन जति पुस्तक लेखिसक्नुभएको छ ।
भूमिकाखण्ड र पाठ्यखण्डसमेत गरी जम्मा २६८ पृष्ठको यो पुस्तक डिएमआई आकारमा छ भने यसको मूल्य ५०१ रुपैयाँ राखिएको छ । ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि. प्रकाशक रहेको यो पुस्तकको यो पहिलो संस्करण हो जुन २०८१ सालमा अथवा हालैमात्र प्रकाशित भएको छ । नेपालमा मुद्रित भनिएको यो पुस्तकको लेआउट ओरियन्टल डेस्कबाट गरिएको छ भने सर्वाधिकार लेखकमा रहेको छ ।
कलानिधि दाहालका यस सङ्ग्रहमा समेटिएका कविताहरूमा व्यङ्ग्य विद्रोह, चुनौती, जागरण, सामाजिक सचेतता, जीवनको निस्सारता, निराशा, आडम्बर र यसका साथै आशावादी सोचसमेत रहेको पाइन्छ । कविताका शिल्पी कवि दाहाललाई कृतिका लागि हार्दिक बधाई तथा शुभकामना ।
पुस्तकको छपाइ स्तरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकमा तौलयुक्त कागजको प्रयोग गरिएको छ । प्रमुख वितरक शब्दार्थ प्रकाशन चाबहिल तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल रहेको यस पुस्तकको आवरण टाइम्स क्रियसनद्वारा तयार पारिएको छ ।
कालो पृष्ठभूमिका बीचमा सूर्य, चन्द्र वा पृथ्वीजस्तो लाग्ने गोलो उज्यालो वस्तु र मधुरोमा मानिस उभिएको देखाइएको छ । यसले पुस्तकको शीर्षकसँग सामन्जस्य राखेको अर्थबोध गराउँछ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ भने तल साना अक्षरमा कवि दाहालको नाम दिइएको छ । पृष्ठ आवरणमा फोटोसहित कविको नाम, जन्ममिति र जन्मस्थान दिइएको छ जसअनुसार उहाँ २०१६ साल फागुन ८ गते ओखलढुङ्गाको बिगुटारमा जन्मिनुभएको उल्लेख भएको छ । यही पृष्ठमा उहाँका प्रकाशित भएका पुस्तकहरूको सूची पनि दिइएको छ । यही पृष्ठको तल लोगोसहित प्रकाशक संस्थाको नाम उल्लेख गरिएको छ ।
पुस्तकको भूमिका खण्डमा सुरुमा ‘सम्पूर्ण नेपाली साहित्यकारप्रति समर्पित विशेषतः छन्द कविहरूमा’ भनिएको छ । त्यपछि प्रा.डा. गोविन्दराज भट्टराईको ‘शुभकामना’, प्राडा.देवी नेपालको ‘अनुष्टुप शिल्पी दाहालको आत्मबोधबाट ब्रहृमाण्डबोधको अभिव्यञ्जना’, शीर्षकको लामो विचार रहेको छ भने त्यसपछि प्राडा.अर्जुनदेव भट्टको ‘दर्पणअगाडि कलानिधि दाहाल’ विष्णुप्रसाद पन्तको ‘खाली खाली भएछु म’ लाई ‘शुभकामना’, हरिभक्त सिग्देल ‘महेश’ को ‘खाली खाली भएछु मलाई हार्दिक शुभकामना’, प्रा.पुरुषोत्तम दाहालको ‘रिक्त रिक्त कलानिधिका भरिला कविता’ शीर्षकको लामो विचार, युवराज मैनालीको ‘कलाका निधि कलानिधि’ गोपी मैनालीको काव्यिक यात्रा उत्साहमा बढोस्’, र अन्तिममा कवि दाहालको ‘केही आफ्नै कुरा’ रहेका छन् । धेरै जनाका लामा लामा यी विचारहरूले पुस्तकको ६० पृष्ठ ढाकेको पाइन्छ ।
कालानिधि दाहालको यस कृतिलाई कवितासङ्ग्रह भनिएको छ । त्यस अर्थमा यसमा विषयसूची दिइएको भए उचित हुनेथियो तर विषय सूची राखिएको छैन । यस सङ्ग्रहमा लामाछोटा ६० वटा कविताहरू सङ्गृहीत गरिएका छन् । छोटामा चार श्लोकदेखि लामामा ३८० श्लोकका कविताहरू समेत यस सङ्ग्रहमा समेटिएका छन् । यसबाट के देखिन्छ भने उहाँका यस सङ्ग्रहका केही कविताहरू खण्डकाव्य स्तरका छन् । यसमा भएका लामा चार-पाँचवटा कवितालाई खण्डकाव्यका रूपमा छुट्टै प्रकाशन गरेर बाँकी मध्यम तथा लघु स्तरका कविताहरूलाई मात्र यसमा समेटेर कवितासङ्ग्रहका रूपमा प्रकाशन गरेको भए उचित हुन्थ्यो भन्न सकिन्छ ।
शीर्षकहरू एक शब्ददेखि तीन चार शब्दका छन् । कविताको फैलावटमा भने असमानता छ भनेर माथि नै भनिसकिएको छ । कलानिधि दाहालका यस सङ्ग्रहमा समेटिएका कविताहरूमा व्यङ्ग्य विद्रोह, चुनौती, जागरण, सामाजिक सचेतता, जीवनको निस्सारता, निराशा, आडम्बर र यसका साथै आशावादी सोचसमेत रहेको पाइन्छ । कविताका शिल्पी कवि दाहाललाई कृतिका लागि हार्दिक बधाई तथा शुभकामना । यसका साथै कृतिको सफलताको कामना तथा अन्यान्य कृतिका लागि अग्रीम शुभकामना ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता