
एक दर्जनभन्दा बढी विविध विधाका कृति पाठकमाझ पस्किनुभएका स्रष्टा प्राडा अर्जुनदेव भट्टको नूतन कृति ‘युद्धविनाको युद्ध’ पाठकमाझ आएको छ । भुँडीपुराण प्रकाशनले पाठकमाझ ल्याएको प्राडा.भट्टको यो तेह्रौं कृति हो । उहाँका यसअघि बैतडीका केही स्थानीय शब्द (भाग-१) भीमदत्त भट्ट-सह-सम्पादन, २०१७, प्राकृतिक परिवार नियोजन (अगुवा पुस्तक), २०४७, एड्स प्रतिरक्षा प्रणाली विनशक रोग २०४७, यौन प्रसारित रोगहरू २०४८, मुटुको धड्कन (खण्डकाव्य), २०७७, अविस्मरणीय पलहरू (कविता) २०७७, समययात्रा (जलेश्वर-जनकपुर अस्पतालको सम्झना) २०७८, मेरी आमा : दृढ प्रतिज्ञा नारी (स्मरण), २०७८, डाक्टरको द्विविधा २०७९, मूत्र र जननेन्द्रिय प्रणाली, (रोग, निदान तथा उपचार) २०७९, रूपान्तरण (उपन्यास) २०८०, कल्पनाको क्षितिज (कथासङ्ग्रह) २०८० जस्ता कृति प्रकाशित छन् ।
विविध विधामा कलम चलाउनुभएका प्राडा.भट्टको यो दोस्रो औपन्यासिक कृति हो । ‘ती महामानवहरूमा जो आफ्नो अभावग्रस्त पीडित जीवन फेर्न उद्यत हुँदै गरेको चेतना, शिक्षा, सीपयुक्त कठोर कार्य र विवेकपूर्ण सङ्घर्षमय जीवन बिताउन उत्रेका छन् ।’ भन्दै प्राडा भट्टले यो कृति समर्पण गर्नुभएको छ । १५५ पृष्ठको कृतिलाई ‘चिरकालीन स्मृति’, ‘चेतना, सी र रोजगार’, ‘औंसी युग’, ‘परिवर्तनको ज्वाला’ र जित्नैपर्ने युद्ध’ जस्ता पाँच शीर्षकमा प्रस्तुत गरिएको छ । यसको मूल्य २९० रुपैयाँ राखिएको छ । ‘युद्धविनाको युद्ध उपन्यासमा डा. अर्जुनदेव भट्ट’ शीर्षकमा डा.पुष्करराज भट्टले भूमिका लेख्नुभएको छ भने ‘दुई शब्द’ शीर्षकमा प्राडा.अर्जुनदेवले आफ्ना भनाइ राख्नुभएको छ ।
बहुविधामा आफूलाई उच्च स्थानमा थोरै मान्छेले मात्र राखेका हुन्छन् । प्राडा.भट्ट ती थोरै मान्छेमध्ये पर्नुहुन्छ जसले आफूलाई बहुविधामा उच्च स्थानमा राख्नुभएको छ । युरोलोजीको क्षेत्रमा विशिष्टता हासिल गर्नुभएका, प्रख्याती कमाउनुभएका प्राडा.भट्ट साहित्य क्षेत्रमा पनि उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ । प्रतिष्ठित चिकित्सकका सँगसँगै नेपाली वाङ्मयमा पनि उहाँको गौरवपूर्ण योगदान रहँदै आएको छ । उहाँले नेपाली वाङ्मयलाई आफ्ना कालजयी कृति दिनुभएको छ । आफ्नो मुख्य पेशा स्थास्थ्य क्षेत्रको समय निकालेर उहाँले नेपाली साहित्यका विभिन्न विधामा कृति प्रकाशन गर्नुभएको छ । आफ्नो मूल पेशाले पनि होला मानव स्वास्थ्यसम्बन्धी अलिक बढी कलम चलाउनुभएका प्राडा. भट्टले यस उपन्यासमा हाम्रो देशको सुदूरपश्चिम क्षेत्रमा रहेको देउकी प्रथालाई मूल विषय बनाउनुभएको छ ।
यो उपन्यास ‘युद्धविनाको युद्ध सुदूरपश्चिममा रहेको देउकी प्रथामा आधारित छ । यसभित्र उहाँले एउटी अबोध बालिकालाई देउकी कसरी बनाइन्छ र कसरी उसको शोषण गरिन्छ भन्ने विषयलाई बढो गम्भीर ढङ्गले पस्किनुभएको छ । धर्मको नाममा रहेको एक विकृतिलाई उहाँले यस उपन्यासमार्फत उजागर गर्नुभएको छ । आफ्नै सन्तानलाई मन्दिरमा चढाउने र संवेदनाहीन समाजको चित्रण यसमा गरिएको छ । मन्दिरमा चढाएको घरकी माइली छोरीले झेल्नुपर्ने विविध पीडा, कष्ट, सामाजिक अपहेलना एवम् शोषण र उसले समाजमा गरेको सङ्घर्षलाई यस कृतिमार्फत प्राडा.भट्टले उजागर गर्नुभएको छ ।
कृतिमा हाम्रो समाज, जनजीवन, भोगाइ, अभाव र संघर्षलाई बडो कलात्मक रूपमा प्रस्तुत गरिएको छ । इतिहासको एक कालखण्डमा विद्यमान रहेको देउकी प्रथामा आधारित यस उपन्यासमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।
‘यसमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ । धर्म कमाउने नाममा आफ्नी माइली छोरीलाई मन्दिरमा चढाउने र त्यसपछि उसको जीवनप्रति कुनै किसिमको संवेदना नराख्ने संवेदनहीन आमाबाबुका कारण ती बालिकाले जीवनभर सामाजिक अपहेलना एवं शोषणको सामना गरिरहनु पर्दछ भन्ने कुरालाई देखाइएको छ । यसर्थ यो एक नौलो विषयवस्तु बोकेको उपन्यास हो भन्ने मेरो ठहर छ’, भूमिकामा डा.पुष्कराज भट्ट उल्लेख गर्नुभएको छ ।
समाजमा चेतना प्राप्तिका लागि मानिसलाई जागृत बनाउनु, अधिकार प्राप्त गर्न सङ्घर्षमा उतार्नु र न्याय, समानता एवम् स्वतन्त्रताका लागि लागिपर्न प्रेरित गर्न उपन्यासका पात्र डिल्ली, समुन्द्रा, पहलवान, डम्बरा लगायतलाई प्राडा अर्जुनदेवले प्रस्तुत गर्नुभएको छ । यी पात्रले चालेको अभियानलाई साथसहयोग दिने काममा डिल्लीकी आमाको भूमिका पनि महत्वपूर्ण छ ।
‘पात्रहरू पूर्वजहरूको ज्यादतीको बदख्याइँ गरेरमात्र बस्दा उनीहरूको जीवनमा फरक पर्ने छैन भन्ने विचारमा यकिन राख्दछन् । कर्म, सीप, चेतनाको वृद्धि र निरन्तरको सङ्घर्षले मात्र प्रत्येकले आफ्नो जीवन बदल्न सक्छ भन्नेमा ती दृढ छन् । यही इरादा राखेर ती निरन्तर कर्ममा जुटेका छन् । धार्मिक अन्धविश्वासमा बाँचेको पितृसत्तात्मक समाजमा नारी, दलित तथा सबै आर्थिक रूपमा दुर्बल मानिसहरू आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने मौका खोजिरहेछन् । ती देख्दामात्र जिउँदा तर सबै प्रकारका अभाव, अपमान, पीडा र बन्देजले भित्रभित्रै मरिरहेका छन् । उनीहरूको शरीरमात्र आफ्नो तर सबै लुटिएको कतै कहीँ केही बाँकी राखिएको छैन’, प्राडा.अर्जुनदेवले ‘दुई शब्द’ मा लेख्नुभएको छ ।
कृतिको अन्तिम कभर पृष्ठमा ‘आत्महत्या गर्नु समस्या र चुनौतीदेखि डरेर भाग्ने सबैभन्दा निकृष्ट, निराशा प्रकट गर्ने उपाय हो । त्यो समाधान हँदै होइन । मानिसको जीवनमा थुप्रै चुनौती र अवरोध छन् तर यो देशमा काम नपाइने होइन’, लेखिएको छ । कृतिमा नेपालको इतिहास देउकीसँगै समाजका सबै अभावग्रस्त पीडितलाई समेटिएको छ । उपन्यासमा भिन्न भिन्न विचार एवम् प्रवृत्तिका बीचको सङ्घर्ष र पहिल्याउने बाटो आएको छ । कृतिमा हाम्रो समाज, जनजीवन, भोगाइ, अभाव र संघर्षलाई बडो कलात्मक रूपमा प्रस्तुत गरिएको छ । पुस्तक पढ्न बसेपछि यसले पाठकलाई बाँधेर राख्दछ । इतिहासको एक कालखण्डमा विद्यमान रहेको देउकी प्रथामा आधारित यस उपन्यासमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।
धर्म कमाउने नाममा आफ्नी माइली छोरीलाई मन्दिरमा चढाउने र त्यसपछि उसको जीवनप्रति कुनै किसिमको संवेदना नराख्ने संवेदनहीन आमाबाबाबुका कारण ती बालिकाले जीवनभर सामाजिक अपहेलना एवं शोषणको सामना गरिरहनुपर्दछ भन्ने कुरालाई यसमा दर्साइएको छ । विविध विधामा आफ्नो कलम चलाइरहनुभएका प्राडा.अर्जुनदेव भट्टका अन्य रचनाहरूको रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच