काठमाडौं । प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि बढ्दै गएका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न किसिमका आपराधिक र हिंसात्मक घटना बढ्दै गएका हुन् । उसो त अहिलेको विश्वलाई सामाजिक सञ्जालले जोडेको छ । सञ्चारमा अभूतपूर्व विकास भएको छ । फेसबुक, ट्वीटर, इन्ष्टा लगायतका सामाजिक सञ्जाल बिनाको संसार कल्पना गर्न नसकिने भएको छ । मानिसको जीवनको अभिन्न अंग बनेका सामाजिक सञ्जालले संसार जोडेका छन् । जनतामा सूचनाको पहुँच बढाएका छन् । निश्चय पनि प्रविधिले संसारलाई साँघुरो बनाइदिएको छ ।
कामलाई सजिलो बनाएको छ अनि मान्छेलाई सचेत बनाउन अहम् भूमिका खेलको छ । प्रविधिको सही उपयोगबाट मानिसहरूको क्षमता अभिवृद्धि भएको छ । तर, मानिसको सहजताको लागि निर्मित प्रविधिको दुरुपयोग पनि उत्तिकै बढ्दो छ । बढ्दो दुरुपयोगले निम्त्याएका घटनाहरु डरलाग्दा देखिएका छन् ।
यसको शिकार सर्वसाधरणदेखि ठूला-ठूला ओहोदामा पुगेका व्यक्तिहरू पनि भएका छन् । यसैबीच काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका सामाजिक सञ्जालका अनधिकृत खाता तथा पेज हटाई त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गर्नुभएको छ । यसअघि पनि त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उहाँले पुनः ताकेता गर्नुभएको छ ।
२०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि प्रयोगमै रहेको उहाँको गुनासो छ । ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्ने सम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनु हुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनु हुन पुनः अनुरोध गर्दछु,’ डंगोलका तर्फबाट उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ ।
उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउनेजस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिनुभयो । ‘अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिलाको चरित्रहत्या गर्नेजस्ता कार्यहरू बढ्दै गएका छन्,’ उहाँले भन्नुभयो, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुरुपयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आममहिला दिदीबहिनीहरूले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता गविविधि नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरूमा पनि भन्दै आएकी छु ।’
उहाँले स्वयं आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको भन्दै ब्युरोलाई अवाञ्छित गतिविधिहरूलाई निगरानी गर्न, रोक लगाउन र कानुनबमोजिम हदैसम्मको कारबाही गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts