काठमाडौं । शान्ता उपन्यासमाथि रिलायन्स एजुकेसन नेट वर्कअन्तर्गतको बालुवाखानीस्थित कोएडका विद्यार्थीहरूले समीक्षात्मक विमर्श कार्यक्रम सम्पन्न गरेका छन् । प्रा.पुरुषोत्तम दाहालद्वारा लिखित शान्ता उपन्यास कलेजो दानको मार्मिक, वस्तुगत र भावनामूलक कथामा आधारित छ । उपन्यास काल्पनिक नभएर यथार्थपरक भएको हुनाले विद्यार्थीहरूमाझ निकै लोकप्रिय हुन पुगेको छ ।
कोएडको सभाकक्षमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीमध्ये तीनजनाले पुस्तकको मूल्यांकन, समीक्षा र प्रभावका विषयमा गहिरो प्रस्तुति दिएका थिए । कक्षा नौका तीनजना छात्राहरू : इशिका घिमिरे, पद्धति बुढाथोकी र अनिशा खपांगी मगरले शान्ता उपन्यासको सम्पूर्ण कथा सार, यसको असर र सन्देशबारे सुन्दर व्याख्या गरेका थिए । उनीहरूले कृतिले महिला सशक्तीकरणको विषय उठान गर्नुकासाथै महिला मनोविज्ञान, अंगदाताको मनोविज्ञान, परिवारको मनोविज्ञान, पारिवारिक मनोविज्ञान र सामाजिक मनोविज्ञानसहित सत्ताको मनस्थितिको पनि मिहीन विश्लेषण गरेका थिए ।
शान्ता उपन्यासको अंग्रेजी संस्करण अध्ययन गरी विद्यार्थीहरूले गरेको समीक्षा उत्कृष्ट रहेको शिक्षक र श्रोताहरूको धारणा थियो । कार्यक्रममा कलेजो दान गर्ने प्रथम नेपाली महिला शान्ता दाहालले हजारौं बिरामीको अप्रेसन गरी उनीहरूलाई पुनर्जीवन दिने डाक्टरलाई आफूले पुनर्जीवन दिन कलेजो दान गर्नु मानवीय विषय भएको र यसले आफूलाई अनेक कष्ट झेल्नु परे पनि आनन्दप्राप्त भएको विचार प्रकट गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य दशरथ ज्ञवालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोर्ड सदस्य राजुकुमार शिवाकोटी, रिलायन्स इन्टरनेसलका सहप्राचार्य दामोदर निरौला तथा कोएडका सहप्राचार्य हरि आचार्यले पठन संस्कृतिका लागि विद्यार्थीहरूलाई प्रत्येक महिना नयाँ कृतिहरू पढ्न प्रेरित गरिरहेको विचार प्रकट गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा शान्ता उपन्यासका लेखक दाहालले दानको मर्म वा समाज सेवाको मर्म भौतिक नभएर आध्यात्मिक हुनुपर्ने र त्यो दान अंगदान पनि हुने बताउनु हुँदै शान्ता उपन्यासको नेपाली संस्करण तेस्रो प्रकाशित भएको र अंग्रेजीको दोस्रो संस्करण पनि चाँडै सार्वजनिक हुने जानकारी दिनुभएको थियो ।
दाहालका अनुसार : शान्ता उपन्यास कृतिको बिक्रीबाट क्यान्सर पीडित विपन्न महिलाहरूदेखि मृगौला वा अन्य त्यस्तै विपन्न बिरामीलाई सहयोग गर्ने काम भइरहेको छ । यसअघि रिलायन्स एजुकेसन नेट वर्कअन्तर्गतको रिलायन्स इन्टरनेसल स्कुल मिलनचोकका साथै कपन फैकास्थित त्रिज्योति माविले पनि शान्ता उपन्यासमाथि यस्तै विमर्श कार्यक्रमको आयोजना गरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता