खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित अन्नपूर्ण माविमा अनियमित भएको पाँच लाख बजेट साता दिनभित्र विद्यालयको खातामा दाखिला गर्न निर्देशन दिईएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट स्वीकृत भएको विद्यालय इ–शिक्षा अन्तर्गत स्मार्ट बोर्ड, टिभी, इन्टरनेट तथा पावर ब्याकअप जडानलाई आएको उक्त अनुदान रकम सार्वजनिक खरीद ऐन र नियमावली विपरित भएकाले हप्ता दिनभित्र फर्काउन नगर शिक्षा समितिले विद्यालयलाई मंगलबार निर्देशन दिएको हो ।
स्वास्थ्य कार्यालय खोटाङ र विद्यालयबीच २०७७ फागुन ५ गते सम्झौता भई सामान खरीद प्रक्रिया बढाईएको थियो । तर, सामान खरीद नगरी बिल भपाईका आधारमा पेश्की फछार्योट गरेको भन्दै हालको विद्यालय व्यवस्थापन समितिले नगरपालिकामा दिएको निवेदनको आधारमा, २०८० चैत २३ गते कार्यपालिका सदस्य मिना कार्कीको संयोजकत्वमा गठन गरिएको ६ सदस्यले छानविन गरी बुझाएको अन्तिम प्रतिवेदनका आधारमा उक्त पाँच लाख बजेट फिर्ता गर्न लगाईएको हो ।
तत्कालिन प्रधानाध्यापक रेखादेबी बस्नेतले उक्त सामान खरीद गर्न सोही विद्यालयमा कार्यरत शिक्षक गोपाल राउललाई विद्यालयको खातामा रहेको पाँच लाखको चेक दिएकी थिईन्। सम्झौतामा शिक्षक राउलकै हस्ताक्षर छ । उक्त बजेटले कुनाल स्टोर इटहरीबाट पछि सामान ल्याउने भन्दै बिल माग गरी फरफारक गरिएको थियो ।
तत्कालिन प्रअ बस्नेतको समयमा सामान नआई पछि दिक्तेलस्थित गोपाल आचार्यको पसलबाट ती सामानहरु विद्यालयको प्राङगणसम्म स्थानीय पदम बहादुर देउजाको अटोेले पुर्याएको थियो । ताकि कोटेशन कुनाल, सोनी र जिबि कम्पनीको परेको थियो।
पु-याएको ती सामानहरु वर्तमान विव्यास अध्यक्ष रोशनराज राईले रुजु गर्दा ४.१२८ जिबिको हुनपर्ने स्मार्ट बोर्ड ४.३२ जिबिको पाईएकोे र टिपेक्स लगाईएको तथा सम्झौता विपरीतका सामान भएपछि उक्त सामान विद्यालयले जिम्मा नलिइकन त्यतिकै राखिएको वर्तमान प्रअ पेशल राईले बताउनुभएको प्रतिवेदनमा उल्लेख छ ।
यदी तोकिएको समयभित्र विद्यालयको खातामा रकम जम्मा नगरेमा कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा सम्पूर्ण कागजातसहित लेखि पठाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा संयोजक तीर्थराज भट्टराईले बताउनुभयो ।







