संसारको जुनसुकै देश, भाषा र भेषभूषाको मान्छे भए पनि ऊसँग एउटा मन हुन्छ र मनमा भावना हुन्छ । त्यही मनको भावनाको प्रस्फुटन भएपछि मान्छे एक्लै पनि गुनगुनाउन र सुसेल्न थाल्छ । यही गुनगुनाइ र सुसेली नै गीतको भाका हो । त्यो भाकामा शब्द भरेपछि त्यो गीत बन्छ । हो, संसारका सबै मान्छेले मनको भाकामा शब्द भर्न सक्दैनन् तर मनको भाकामा शब्द नभर्दैमा त्यो गीत नहुने चाहिँ होइन । शब्दसहितको आवाज गीत हो भने शब्दविहीन आवाज पनि गीत नै हो । शब्दविहीन आवाज कालान्तरमा विस्मृतिमा हराएर जान्छन् भने शब्दसहितको आवाज जीवन्त रहन्छ ।
मनको भावना प्रष्फुटन भएर गुनगुनाइएका वा शब्दमा लिपिबद्ध गरिएका गीतहरूलाई सङ्गीतबद्ध गर्दा त्यो गीत अझै जीवन्त बन्छ । प्रेमिल भावना र हृदयस्पर्शी शब्दहरूको मालामा उनिएका गीतहरूलाई उस्तै कर्णप्रिय सङ्गीतले सजाइएपछि ती गीतहरू कालजयी नै हुन्छन् । संसारका धेरै भाषामा यस्ता कालजयी गीतहरू सिर्जना भएका छन् ।
गीत प्राय गाउनका लागि लेखिन्छन् तर सबै गीत गाउनकै लागि लेखिँदैनन् । पढ्नका लागि लेखिएका गीत पनि गीत नै हुन् । कति गीत नलेखिएका पनि छन् । लेखिएका गीत सबै गीत नै हुन् भन्ने पनि छैन । नलेखिएका कति गीतहरू लोकप्रिय भएका छन् । गाइएका तर नलेखिएका कति लोकप्रिय गीतहरू विस्मृतिमा हराएका छन् । लेखिएका र गाइएका धेरै गीतहरू पनि गुमनाम छन््, ओझेल परेका छन् । लेखिएका गीतहरूले लयको तरेलीमा तरङ्गिने अवसर पायो भने चाहिँ आमस्रोताको मनलाई श्रवणको आनन्द प्रदान गर्न सक्षम हुन्छन् ।
भक्तपुरे गीतकारहरूको सामूहिक गीतसङ्ग्रह ‘लयको तरेलीमा’ मा भक्तपुरमा रहे–बसेका २१ जना स्थापित तथा नवोदित गीतकारहरूका १०५ वटा गीत सङ्गृहीत छन् । सामूहिक गीतसङ्ग्रहमा प्रत्येक गीतकारका पाँच–पाँचवटा गीत समावेश गरिएका छन् ।
नेपाली साहित्यमा गीत विधा निकै लोकप्रिय छ । गाइएको गीत होस् अथवा नगाइएको, मान्छेको मनको भावनासँग मिल्ने अथवा मान्छेको मनलाई मिठोसँग स्पर्श गर्ने गीतहरूले स्रोता अथवा पाठकको मनमा स्थान बनाएकै छन् । यसैगरी स्रोता र पाठकको मनमा स्थान बनाउन सफल गीत सिर्जना गर्दै आएका भक्तपुरका केही गीतकारहरूको सामूहिक गीतसङ्ग्रह ‘लयको तरेलीमा’ हालै प्रकाशित भएको छ । यो गीतसङ्ग्रहलाई सिर्जना अभियान समाज भक्तपुरले प्रकाशित गरेको छ भने यसका सम्पादकमा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी रहेका छन् ।
भक्तपुरे गीतकारहरूको सामूहिक गीतसङ्ग्रह ‘लयको तरेलीमा’ मा भक्तपुरमा रहे–बसेका २१ जना स्थापित तथा नवोदित गीतकारहरूका १०५ वटा गीत सङ्गृहीत छन् । सामूहिक गीतसङ्ग्रहमा प्रत्येक गीतकारका पाँच–पाँचवटा गीत समावेश गरिएका छन् । विगत लामो समयदेखि साहित्यको अन्य विधासँगसँगै गीत सिर्जनालाई निरन्तरता दिइरहेका ध्रुव मधिकर्मी, सुवासचन्द्र ढुङ्गेल, शेखर ढुङ्गेल, त्रिविक्रम पाण्डे, रत्न प्रजापतिदेखि भर्खरै गीत सिर्जनामा लागिपरेका हरिकृष्ण बखुन्छेँ, सुचिता कर्माचार्य, प्रमोद भट्टराई प्रतीक, सुरेन्द्रलाल भुजू, शमशेरबहादुर न्हुच्छेप्रधान, रञ्जना न्यौपानेलगायत गीतहरूले ‘लयको तरेली’ मा तरङ्गिने अवसर पाएका छन् । विगतमा साहित्य सिर्जनामा लागे पनि बीचको केही समय साहित्य संसारबाट टाढा बसेर अहिले फेरि सिर्जनामै फर्केका र अन्य केही नवोदित स्रष्टाहरू शिव मुनंकर्मी, ध्रुवनारायण जोन्छेँ, विश्व कायस्थ, राजेन्द्र चित्रकार, नरेन्द्रप्रसाद जोशी, रघुराम न्यौपाने, तुलसीराम घेमोसु, इन्दिरा चापागाईं, रञ्जना न्यौपाने आदिका गीतहरू पनि सङ्ग्रहमा समाविष्ट छन् ।
‘लयको तरेलीमा’ सामूहिक गीतसङ्ग्रहका अधिकांश गीतहरू मानवीय प्रेम र अनुरागकै विषयमा लेखिएका छन् । केही गीतहरू देशप्रेमको भावनाले ओतप्रोत भएर पनि लेखिएका छन् । केही गीत जीवनका बारेमा पनि लेखिएका छन् । प्रकृतिका बारेमा पनि लेखिएका छन् । मान्छे बाँचेको समयका बारेमा पनि लेखिएका छन् । सामूहिक गीतसङ्ग्रहका गीतकारहरूले आफ्ना भावना, भोगाइ र अनुभवलाई गीतका शब्दमार्फत् अभिव्यक्त गरेका छन् ।
गीतको संरचनालाई सोचेर होइन, मनको भावनालाई पक्रेर गीत लेखेका छन् ‘लयको तरेलीमा’ सङ्गृहीत अधिकांश गीतकारहरूले । त्यसैले स्थापित गीतकारहरूको गीतमा संरचनाको दृष्टिकोणले सुन्दरता र लयात्मकताको संयोग भए पनि नवोदित गीतकारहरूको गीतमा भने संरचनाको सङ्गति नहुँदानहुँदै पनि भावनाको व्याप्ति भने पर्याप्त पाउन सकिन्छ ।
यस क्रममा गीतकारहरूले जीवनको वर्णन गरेर गीत लेखेका छन् । प्रेमको वर्णन गरेर गीत लेखेका छन् । प्रियसीको प्रेम र उनको सुन्दरताको वर्णन गरेर गीत लेखेका छन् । गीतमा प्रेमभाव प्रकट गरेका छन् । प्रेममिलनको खुशी व्यक्त गरेका छन् । अनि विछोडको विरह र वेदना पनि पोखेका छन् । कतै प्रियसीसँग प्रेमको याचना गरेका छन् त कतै आफैँलाई समर्पण गरेका छन् । कतै निष्ठुरी प्रियसीसँग गुनासो पनि पोखेका छन् । प्रेमको आनन्द मात्रै होइन, प्रेमको पीडा पनि पोखेका छन् । समष्टिमा भन्नुपर्दा गीतकारहरूले आफ्नो मनको भावना पोखेका छन् ।
जीवन जिउने क्रममा मान्छेको मनोभावना र जिन्दगीको रङ सधैँ एक नासको हुँदैन । फरक समय, फरक परिवेश र फरक परिस्थितिमा मान्छेको विचार, मनोभाव र संवेगमा पनि फरक तरङ्ग उत्पन्न हुन्छन् । यिनै फरक समय, फरक परिवेश र फरक परिस्थितिमा उत्पन्न भएका आफ्ना फरक–फरक मनोभाव र संवेगका तरङ्गहरूलाई गीतकारहरूले आफ्ना गीतमार्फत् अभिव्यक्त गरेका छन् । त्यसैले फरक–फरक गीतहरूमा फरक–फरक स्वाद पाउन सकिन्छ । गीतकारको मनोभाव र संवेगअनुकूलका गीतहरूमा प्रेममिलनको खुशी, सुख, आल्हाद, आशा र उत्साहको भाव व्यक्त भएको पाइन्छ भने मनोभाव र संवेग प्रतिकूल समयमा लेखिएका गीतहरूमा चाहिँ प्रेमको पीडा, विछोडको व्यथा र वेदना, असन्तुष्टि, निराशा, गुनासो र आफ्नो प्रियतम अथवा प्रियसीप्रति दोष र आरोपको भाव पनि व्यक्त भएको पाइन्छ ।
गीत स्वाभाविकरूपमा प्रेमभावले ओतप्रोत हुन्छन् । अनि गीतमा प्रियतम र प्रियसीका कुरा हुन्छन् । प्रेम, मिलन र वियोगका कुरा हुन्छन् । प्रेमिल मनका सुकोमल भावनाहरू गीतमा अभिव्यक्त हुने हुँदा गीत पनि प्रेमिल नै हुन्छन् । यस्तो गीतको पठन र श्रवणले मनलाई आनन्द दिन्छ । पाठकको मनमा स्पर्श गर्ने केही गीतका स्थायी अंश यस्ता छन्ः
माटो नै हो जिन्दगानी माटो यो जवानी
बाँचुन्चेल धूलो खेल्यो म¥यो भो खरानी । (हरि थापा)
पीडा भने धेरै तर मुटु रै’छ सानो
एकपछि अर्को चोट छाती हो कि अचानो । (ध्रुव मधिकर्मी)
मेरो मान्छे त्यो अरूकै हृदयमा बास बस्दा
नसोधन कति दुख्छ छातीबाट मुटु खस्दा । (सुवासचन्द्र ढुङ्गेल)
जिन्दगीको यात्रा सधैँ मधुमास हुँदैन
कहिले घाम कहिले पानी एकैनास हुँदैन । (राजेशमान केसी)
बोलुँ भने शब्द छैन लेखुँ भने भाव छैन
भित्रभित्रै दुखिरै’छ बाहिर भने घाउ छैन । (त्रिविक्रम पाण्डे)
हाम्रो माया दुनियाँले देख्नुपर्छ र ?
सुन जोख्ने तराजुले जोख्नुपर्छ र ?
एकअर्काको इशाराले बुझ्ने भएपछि
फेरि दुनियाँले सुन्ने गरी बोल्नुपर्छ र ? (हरिकृष्ण बखुन्छेँ)
गीतको संरचनालाई सोचेर होइन, मनको भावनालाई पक्रेर गीत लेखेका छन् ‘लयको तरेलीमा’ सङ्गृहीत अधिकांश गीतकारहरूले । त्यसैले स्थापित गीतकारहरूको गीतमा संरचनाको दृष्टिकोणले सुन्दरता र लयात्मकताको संयोग भए पनि नवोदित गीतकारहरूको गीतमा भने संरचनाको सङ्गति नहुँदानहुँदै पनि भावनाको व्याप्ति भने पर्याप्त पाउन सकिन्छ । भावनाको व्याप्तिलाई नै नवोदित गीतकारको गीतिकारिताको विशेषताको रूपमा स्वीकार्न सकिन्छ । भावनाको भेलमा बग्दैबग्दै लेखिएका गीतहरूमा भावनाको गहिराई छ, जहाँ डुबुल्की मार्नुको आनन्द प्राप्त हुन्छ । सुकोमल भावनाले सजिएका गीतहरूले हृदयलाई मिठोसँग स्पर्श गर्छन्, त्यसले पठन वा श्रवणको छुट्टै आनन्द दिन्छ । ‘लयको तरेलीमा’ मा सङ्गृहीत धेरैवटा गीतहरूले यस्तो आनन्द प्रदान गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच