कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिनुभएको छ । शुक्रवार प्रदेश सभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको हो ।
मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत नपाउने देखेपछि १०५ दिनमा राजीनामा दिनुभएको हो । गत वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बन्नुभएको थियो । नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै टिप्पणी गर्ने नेकपा एमालेले नै बजेट पारित गर्न सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले प्रदेशमा बजेट शून्यताको अवस्था आउनुमा प्रदेश सभाका सबै दल जिम्मेवार रहेको बताउनु भयो ।
प्रदेश प्रमुखका कारण कही नभएको जात्रा देखिएको मुख्यमन्त्री सोडारीले टिप्पणी गनुभयो । ‘सरकारले प्रदेश सभा अन्त्य गरेको पाँच दिनपछि मात्रै प्रदेश प्रमुखले स्वीकृत गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘सभा अन्त्य भएको पत्र सँगसँगै अर्को चिठी आयो विशेष अधिवेशनको, यो पटक संसारमै नभएको जात्रा देखियो।’
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार प्रति जनताको विश्वास बढाउन प्रयास गर्ने बताउनुभयो ।






