ओखलढुंगा । ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवीको मन्दिरमा पहिरोका कारण ठुलो क्षति भएको छ । केहि दिनदेखि भएको अविरल वर्षाका कारण देवीस्थानदेखि माथिबाट झरेको पहिरोले क्षति पु-याएको हो ।
परापूर्वकालदेखि साक्षात देवीको रुपमा पूजार्चना गर्दै आएको उक्त मन्दिरमा पहिलोपटक पहिरोले क्षति पु-याएको छ । मंगलबार राति भएको अविरल वर्षाका कारण माथिबाट पहिरो झरेर मुख्य देविको मन्दिरमा क्षति पुगेको छ ।
श्रीचम्पादेवीको मन्दिर वरिपरी पटक पटक क्षति हुनु र यो वर्ष देवीको मन्दिरमै क्षति पुग्ने गरी पहिरो खस्नुले देवी रिसाएको हुनसक्ने स्थानियबासीको भनाई छ । परापूर्वकाल देखि पुजार्चना, दर्शन गर्दै आएका श्रीचम्पादेविको मन्दिरमा कुनै प्राकृतिक प्रकोपले क्षति पु-याएको थिएन ।
देवीको शिलालाई ढाक्ने र छोपने गरी केहि वर्ष अगाडी मन्दिर बनाएपछि त्यहा मन्दिर आसपास केहि न केहि क्षति हुने गरेको स्थानियले बताएका छन् । खुल्ला रुपमा उतपन्न भएकी देवीलाइ छानो सहितको मन्दिर बनाउन नहुने तर्क समेत गरेका छन् । पहिरोका कारण मन्दिरमा ठुलो क्षति भएकाले माटो ढुंगा पन्छाउने काम गरिसकिएको र वर्षा सकिने बितिक्कै मर्मत संभार गरिने चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष सुजन पौडेलले बताउनु भयो ।






