
स्थापनाकालमा नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) एक सबल संस्था हो । मानव संशाधन, अचल पुँजी र सरकारबाट प्राप्त हुने बजेट आदि सबै दृष्टिले संस्कृत विश्वविद्यालय विगतमा सक्षम संस्थाका रूपमा रहेको थियो । विश्वविद्यालयप्रतिको शासकहरू र समाज दुवैका सकारात्मक दृष्टिकोणका कारणले नेसंविलाई एक अपेक्षित, आवश्यकीय र अनिवार्य संस्थाका रूपमा हेरिन्थ्यो । नेपाली समाजको संरचना, नेपालको इतिहास, पूर्वीय संस्कृति आदिको उत्थानका लागि पौरस्त्य वाङ्मयको अध्ययन/अध्यापनका लागि खुलेको नेसंवि अपरिहार्य नै मानिएको थियो तर संस्था सञ्चालनमा समय-समयमा हुनेगरेको बेथितिले यसलाई ज्यादै कमजोर बनाएको छ । मूलतः नेसंविमा नियुक्त भएर आएका पदाधिकारीहरूका गलत क्रियाकलापले यसको महत्तामाथि नै बारम्बार प्रश्न उठ्न थालेको छ ।
पछिल्लो समयमा राजनीतिक दलहरूले जातिवादका नारा उछाल्दै संस्कृतका विरुद्धमा कार्यकर्ता उचाली जनतामा भ्रम छर्ने काम हुन थाले । सत्तामा पुगेकाहरूले संस्कृतको महत्वलाई नजरअन्दाज गर्दै नेसंविको उपेक्षा गर्न थाले । जनताले नेसंविलाई दिएको जग्गामा आफ्ना कार्यकर्ताहरू उचालेर दलको झण्डा बोक्नेहरूको बस्ती बसाए । विश्वविद्यालयको पुस्तकालय जलाएर महत्वपूर्ण ग्रन्थहरूको अस्तित्व समाप्त पार्ने खेलहरू भए । अन्यत्र कतै नियुक्ति नपाएकालाई नेसंविमा पदाधिकारी बनाएर पठाउने नीति सत्ताधारीहरूले लिँदै गए । कहिले आँखै नदेख्ने वृद्ध उपकुलपति आए । कहिले तोक लगाउनुलाई नै आफ्नो अधिकार सम्झने उपकुलपति आए । कहिले पार्टीको खाँटी कार्यकर्ता उपकुलपति बनेर आए । फलतः नेसंविमा धमिरा लाग्दै गएको छ ।
विश्वविद्यालयको पदाधिकारी भन्नाले धेरै पदहरूलाई नियममा समेटिएको भए तापनि आमसमुदायले झट्ट बुझ्ने भनेको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव (रजिष्ट्रार) लाई नै हो । विश्वविद्यालयले अग्रगमन लिने कि पश्चगमनको मार्गमा सधैं तलतिर बग्ने भन्ने यिनै तीनजना पदाधिकारीहरूको योजना, कार्यक्रम, योजना कार्यान्वयन, सोच र क्रियाकलापले निर्धारण गर्दछ ।
विश्वविद्यालय न कसैको तुष्टि पूरा गर्ने संस्था हो न कसैको द्वेष साँध्ने निकाय हो । विश्वविद्यालय त अध्ययन अनुसन्धानको विशिष्टीकृत थलो हो । विश्वविद्यालय न कसैलाई जबरजस्ती जागिर दिने संस्था हो न कसैको मनमा लहड जाग्यो भने पञ्चायतकालमा जस्तो हुकुमी शैलीमा प्रहरी जवानबाट हवल्दार बनाउने निकाय नै हो । पौरस्त्य वाङ्मयका ग्रन्थहरू फुकाएर त्यसको अध्ययन, अध्यापन, अनुसन्धान, अनुवाद, सम्पादन आदि गर्नुपर्ने थलो संस्कृत विश्वविद्यालय भने यहाँ नियुक्त भएर आउने पदाधिकारीहरूको चपेटामा पर्दै उद्देश्यबाट विमुख बन्दै गएको छ । यो विश्वविद्यालयलाई जीवन खोज्नुपर्ने अवस्थामा पुर्याइएको छ । प्राणवायु नदिई नहुने भएको छ ।
नेपालका प्रायः घरघरमा घन्किने वेदका ऋचाहरूको आवाजले संस्कृत अध्ययनको महत्व नेपालबाट घटेको छैन भन्ने प्रमाण दिइरहेको छ । प्रत्येक घरमा साँझ-बिहान हुनेगरेका नियमित पूजापाठका कार्यक्रमले हाम्रा पारम्परिक अभ्यासहरूको महत्तालाई घट्न दिएका छैनन् । वैदिक परम्परा अनुरूपका कार्यहरू यथोचित समयमा मुलुकका विभिन्न भागहरूमा सञ्चालन भइरहनाले पौरस्त्य संस्कृतिको वातावरणमा अभिवृद्धि गरिरहेका छन् । हरेक मन्दिरमा लाग्ने घुइँचोले नेपालीहरूको वेदसम्मत मार्गदर्शनप्रतिको आस्था डग्मगाएको छैन भन्ने प्रमाण दिइरहेका छन् । अर्थ संकलनका लागि समाजले लगाउने सप्ताह आदिको सफलताले धर्मकर्मप्रतिको नेपालीको विश्वास प्रदर्शन गरेकै छ तर यी सबै आस्थामा अभिवृद्धिका लागि ज्ञानप्रवाह गर्ने संस्था नेसंवि भने दिनानुदिन अक्षम पदाधिकारीहरूका कारण ओरालो लाग्न बाध्य भएको छ ।
विश्वविद्यालयको पदाधिकारी भन्नाले धेरै पदहरूलाई नियममा समेटिएको भए तापनि आमसमुदायले झट्ट बुझ्ने भनेको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव (रजिष्ट्रार) लाई नै हो । विश्वविद्यालयले अग्रगमन लिने कि पश्चगमनको मार्गमा सधैं तलतिर बग्ने भन्ने यिनै तीनजना पदाधिकारीहरूको योजना, कार्यक्रम, योजना कार्यान्वयन, सोच र क्रियाकलापले निर्धारण गर्दछ । योग्यता, क्षमता, दक्षता, वरिष्ठता आदिका आधारमा नियुक्त पदाधिकारी भए त्यसै बमोजिम विश्वविद्यालयले गति लिन्छ भने नातावाद, क्रिपावाद, चाकरी आदिका भरमा पदाधिकारी आए भने विश्वविद्यालयलाई दैवले पनि जोगाउन हम्मेहम्मे हुन्छ । नेसंविको विडम्बना नै यस्तै हुँदै आएको छ कि स्थापनाकालदेखि अहिलेसम्म हेर्दा एकादुई बाहेकका सबै पदाधिकारीहरू कुनै न कुनै बेथिति भित्र्याएर जाने नै परेका छन् ।
नेसंविको पदाधिकारी हुन संस्कृतको न्यूनतम मर्म जानेकै हुनुपर्दछ । ठूलो विश्वविद्यालयको प्राध्यापक पठाएपछि सानो विश्वविद्यालय चलाइहाल्छ भन्ने गलत भ्रम उपकुलपति नियुक्ति गर्नेहरूले पालेर बस्नाले पनि संस्कृत विश्वविद्यालय धराशायी हुने क्रममा छ । जसरी कारको लाइसेन्स पाउनेले बस चलाउन छुट्टै परीक्षा दिनुपर्दछ, त्यस्तै हो त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले नेसंविको नेतृत्व गरी सुसञ्चालन गर्नु । स्थापनाकालदेखि यताका कुरा गर्दा नेसंविले संस्कृत विश्वविद्यालयमा सेवारतभन्दा आयातीत उपकुलपतिहरूको भार बेहोर्नु परेको छ । नेसंविले अपेक्षित गति लिन नसक्नुमा एक प्रमुख कारणका रूपमा लिन सकिन्छ । अब निकट भविष्यमै विश्वविद्यालयका पदाधिकारीहरूको पद रिक्त हुने भएकाले नियुक्ति दिने अख्तियारवालाले गम्भीर हुँदै नेसंविमा सेवारतहरू मध्येबाटै उपकुलपति चयन गर्नु अनिवार्य जस्तै भएको छ ।
वर्तमान उपकुलपति त्रिविबाट ल्याइएका हुन् । कवि पृष्ठभूमिका शिक्षाध्यक्ष नेसंविकै भए पनि साहित्यमै रमाए । संस्कृतकै भए पनि कुलसचिव केमा रमाए केमा कसैले भन्नै नसक्ने भयो । जेजस्तो पृष्ठभूमि भए पनि दुई-तीनवटा राम्रा काम भएका कुरा पनि उल्लेख गर्नैपर्दछ । पाँच-छ वर्षदेखि पदोन्नतिका विज्ञापन नभएर आजित भएका प्राध्यापक र कर्मचारीहरूलाई त्यसका लागि अवसर दिए । बाह्र वर्षदेखि नभएको दीक्षान्त समारोह सम्पन्न गरे । वर्षौंदेखि रोकिएको दीर्घसेवा पदक पनि वितरण गरे तर पदाधिकारी बीचकै जुँघाको लडाइँमा नेसंविलाई भने ध्वस्त बनाउने काम गरे । तँभन्दा म ठूलो भन्ने झगडामै संस्कृत क्षेत्रलाई तहसनहस बनाए । यस्तो अवस्था सिर्जना गरे कि म नेसंविमा पढाउँछुभन्दा पनि लाज लाग्ने स्थिति बनाए ।
उपकुलपतिले कुलसचिवलाई आर्थिक अनियमितताको आरोप लगाएका छन् । डेढ दुई वर्षअघि पनि उपकुलपतिका निजी सचिवले कुलसचिवलाई यस्तै आरोप लगाएर विश्वविद्यालयबाट बाहिरिएका थिए । यस्तो अवस्थामा कुलसचिवलाई जसरी पनि दोषी देखाउनै पर्नेगरी नभई सत्यतथ्य उजागर गर्ने र गर्नसक्ने छानविन समिति अनिवार्य नै बनेको छ । अर्कोतिर उपकुलपतिले विश्वविद्यालयसँग आजसम्म कुनै साइनो नगाँसिएकाहरूलाई नातागोता परेका आधारमा बाह्र पन्ध्रजनालाई करारको ठाडो नियुक्ति दिएको हल्ला चलिरहेको छ तर साह्रै निन्दनीय कार्य भएकाले सार्वजनिक हुनसकेको छैन । उपकुलपतिकै लहडमा कारण देखाई उपयुक्त देखिन सक्ने र कुनै पनि हालतमा आवश्यक भनी पुष्टि गर्न नसकिने दुवैखाले गरी पन्ध्र-सोह्रजना कर्मचारीलाई कायममुकायम बढुवा दिइएको भन्ने पनि चर्चा चुलिएको छ । अहिले पदाधिकारीहरू यस्तै आरोप प्रत्यारोपमा उत्रिएका छन् तर विश्वविद्यालयका समस्या भने अर्कैतिर छन् ।
उपकुलपतिले आफ्नो कार्यकालभरिका लागि एकजना निजी सचिव र एकजना भान्से वा सहयोगी राख्न पाउने सुविधा विश्वविद्यालयले दिएको छ । अपवादबाहेकका आजसम्मका सबै उपकुलपतिले यो सुविधा उपभोग गरे तर तीनजना बाहेककाले यसरी राखिएका निजी कर्मचारीलाई विश्वविद्यालयका निम्ति बोझ बनाएर जान सकेनन् वा प्रयत्न गरेनन् । वर्तमान उपकुलपति अघिका दुई पटकका उपकुलपतिले एकपटक आफ्ना निजी सचिवलाई करार दिलाएका थिए भने एकपटक दिलाएको करार पनि रद्द भएको थियो ।
यसपटकको धृष्टता के हुन्छ हेर्न बाँकी नै छ । विश्वविद्यालयमा वर्षौंदेखि आंशिक शिक्षकका रूपमा कार्यरतहरूको समस्यामा आँखा चिम्लने तर अन्धाधुन्ध पारामा करार बाँड्ने प्रवृत्तिको कसैले स्वागत गर्न सक्दैन । उपकुलपतिका लुगा धुने, बुट पालिस गर्नेहरूलाई जागिर ख्वाउने थलो विश्वविद्यालय कदापि बन्न हुँदैन भन्नेमा सबै सचेत हुन जरुरी छ । संयोग भनौं कि के यसरी जागिर दिने अहिलेसम्म एउटै विचार बोक्नेहरू पर्नुले पनि दुःख लागेको छ ।
विश्वविद्यालयमा हुनुपर्ने काम नभएको धेरै भयो । विद्यावारिधिका लागि भर्ना नखुलेको तीन वर्ष हुन लागिसकेको छ । फागुनमा सम्पन्न भइसक्नुपर्ने नियमित परीक्षाको अत्तोपत्तो छैन । परीक्षा फारम भर्नुपर्ने म्याद गुज्रेका कार्यक्रमहरू पनि छन् । विश्वविद्यालयले प्रकाशन ठप्प पारेको दशकौं भएको छ ।
उपकुलपतिको पदावधि अझै डेढ महिना बाँकी छ । शिक्षाध्यक्ष र कुलसचिवको त अझ धेरै छ । विश्वविद्यालयमा हुनुपर्ने काम नभएको धेरै भयो । विद्यावारिधिका लागि भर्ना नखुलेको तीन वर्ष हुन लागिसकेको छ । फागुनमा सम्पन्न भइसक्नुपर्ने नियमित परीक्षाको अत्तोपत्तो छैन । परीक्षा फारम भर्नुपर्ने म्याद गुज्रेका कार्यक्रमहरू पनि छन् । विश्वविद्यालयले प्रकाशन ठप्प पारेको दशकौं भएको छ । बाँकी अवधिमा पनि केही न केही गर्न सकिन्छ । पदाधिकारीका यही झगडाका कारण विश्वविद्यालयको मूलढोकामा ताला झुण्डिएको महिनौं भइसकेको छ । यो परिस्थितिमा एकभन्दा अर्को बलियो भएको देखाउन राजधानीमा बसेर सम्बन्धित नेताहरूका दैलादैलामा दौडने कि परिस्थिति समाल्ने भन्ने स्वयं पदाधिकारीहरूकै विवेकमा भर पर्दछ । अन्यले हेर्दा या त विश्वविद्यालयलाई सुसञ्चालन गर्न सक्नुपर्दछ या बाटो खुला गर्नु बुद्धिमानी ठहर्दछ ।
वर्तमान कुलपति संस्कृतका बारेमा धेरथोर जानकारी राख्ने हुनुहुन्छ । अघिल्ला समयमा जे जस्ता क्रियाकलाप गरेका भए पनि पछिल्ला भाषणहरू नेपालको धर्म, संस्कृति, परम्परा आदिको संरक्षण र सम्बद्र्धनमा केन्द्रित हुने गरेका छन् । यस्ता कुलपति भएका बेलामा आफ्ना दल निकटका भएका कारण गल्तीहरूलाई ढाकछोप गर्ने प्रयास गर्नुभन्दा विश्वविद्यालयका हितमा निर्णय दिँदा उपयुक्त हुने देखिन्छ । केही महिनापछि विश्वविद्यालयका तीनवटै पदाधिकारीहरूका पद रिक्त हुँदै छन् र अब दलीय स्वार्थभन्दा माथि उठेर तिनमा नेसंविभित्रकै योग्य र वरिष्ठ व्यक्ति चयन गर्नु हितकर हुन्छ ।
त्रिविबाटै ल्याइएको भए तापनि प्रा.डा.कुलप्रसाद कोइराला उपकुलपति हुँदा नराम्रा काम भएनन् । बरू विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूका सञ्चयकोषलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि केहीको व्यापक विरोध हुँदाहुँदै पनि विश्वविद्यालय आफैंले सञ्चालन गर्दै आएको कोषबाट कर्मचारी सञ्चयकोषमा स्थानान्तरण गर्ने काम भयो । कोइराला संस्कृतका मर्मज्ञ थिए, त्यसैले राम्रो गर्न खोज्दा खोज्दै अवरोध गरिए पनि विश्वविद्यालयको अहित गरेनन् । बरू उनलाई असफल बनाउन विश्वविद्यालयभित्रकै केही अवसरवादीहरूले कुलसचिवलाई उनका विरुद्धमा परिचालन गरे । कुलसचिवमार्फत आफूले सुविधा लिन खोज्ने र अरूले गरेको राम्रो देख्न नसक्नेहरूका कारण सबैको अहित हुनपुग्यो । कोइरालाले ठिकै गरे भनेर अब पनि बाहिरकै व्यक्ति उपकुलपति खोजियो भने त्यो नेसंविका लागि दुर्भाग्य नै हुनेछ ।
विश्वविद्यालय स्वायत्त निकाय हो । यो उपकुलपति मातहत नै सञ्चालन हुनुपर्दछ । विश्वविद्यालयभित्रको समस्यामा कुलपति गुहार्नु भनेको विश्वविद्यालयले प्राप्त गरेको प्राज्ञिक स्वतन्त्रतामाथि हस्तक्षेप निम्त्याउनु हो । त्यसैले प्राध्यापक जस्ता गरिमामय उपाधिबाट विभूषित पदाधिकारीहरूले तैँ चोर र मै चोर गरेर काल कटाउनुभन्दा विश्वविद्यालयको मर्यादालाई ख्यालमा राख्दै उचित निर्णय स्वयं लिन सक्नुपर्दछ । घरभित्र बारम्बार कलह भइरहेमा बाहृय हस्तक्षेप त स्वतः भइहाल्छ नै । यतिबेला कुलपति बोलवाला हुन हुँदैन भनेर कसैले बोल्न सक्दैन ।
हामी एकआपसमै मिल्न सकेनौँ । त्यसैले ‘द्वयोर्विवादे तृतीयस्य लाभः’ त आश्चर्यको कुरा भएन । विश्वविद्यालय ओरालो लागेकामा बढ्ता चिन्ता गर्नुभन्दा हामी आफू कसरी उकालो लाग्ने कुरामा बढ्ता केन्द्रित भयौँ । कुनै राजनीतिक दलको पछाडि नलाग्ने र विश्वविद्यालयको वास्तविक चिन्ता गर्ने सेवकहरू विश्वविद्यालयभित्र कति होलान् ? भन्ने बारेमा हामी कसैको चासो रहेन । विश्वविद्यालय ओरालो लाग्नुमा तीनजना पदाधिकारीमात्रै दोषी हुन सक्तैनन्, आफ्नो स्वार्थसिद्ध गर्न सदैव लालायित भइरहने हामी सबैजसो शिक्षक र कर्मचारी पनि उत्तिकै दोषी छौँ । हामी राम्रा र योग्य उम्मेदवारभन्दा हाम्रा र आफ्ना दलका व्यक्तिविशेषलाई सेवाप्रवेश गराउन र बढुवा गराउने कसरतमा बढ्ता ध्यान दिइरह्यौँ । विश्वविद्यालय किन दिनानुदिन ओरालो लाग्दैछ र यसका लागि हामीले केकस्ता उपायहरू अपनाएर उकालो लगाउन सक्नेछौँ भन्ने कुरामा अझै पनि संवेदनशील भएर अग्रसर नहुने हो अनि भूतपूर्व कुरामै रमाएर वर्तमान र भविष्यको समेत चिन्ता नगर्ने हो र एकअर्कालाई दोषारोपण गरिरहने हो भने विश्वविद्यालयसँगै हाम्रो अस्तित्व पनि गम्भीर सङ्कटमा परेको दिन देख्न अब धेरै समय प्रतीक्षा गरिरहनु नपर्ला ।
मननीय विचार सम्बद्धमा चेतना जागृत होस्