भोजपुर । अविरल बर्षासँगैको बाढीले भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा दुई घर बगाएको छ । मंगलवार राती आएको बाढीले षडानन्द नगरपालिका वडा नम्वर २ मा दुई घर बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
षडानन्द नगरपालिकाका चित्र बहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । चित्रको श्रीमती ६५ बर्षिया चन्द कुमारी दर्जीलाई समेत बगाएको अवस्थामा स्थानीयले दुई सय मिटर तलबाट उद्धार गरेका थिए । यस्तै ढुङगा माटोले बनेको फुसको छानो भएको एक तले घर र फुसको छानो भएको गोठ समेत बगाउँदा छ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घर भित्र रहेको सामाग्री सहित गोठमा रहेको हल गोरु, बाख्रा, कुखुरा पनि बगाएको छ । घर बगाएपछि छ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा स्थानान्तरण गरिएको छ ।
सोही स्थानमा बस्नेत निर्मलाको पनि ढुङगा माटोले बनेको फुसको छानो भएको एक तले घर, नगद ५० हजार, चार तोला सुन, छ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । राईको बाढीका कारण १० लाख बरावरको क्षति भएको छ । बाढीले सुँगुर, कुखुरा समेत बगाएको छ ।
राई सहितको पाँच जनाको परिवारलाई अहिले स्थानीय राम राईको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी कुदादाउलेबाट प्रहरी सहायक निरीक्षक टिकाध्वज राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts