धनगढी । अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित क्रिश्चियन धर्म प्रचार गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले भवन भत्काएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मे इन र नेपाल लाइफ वल्र्ड मिसनको दर्ता खारेज गरी अवैध रूपमा बनाइएका संरचनामा मंगलबार डोजर लगाएर भत्काइएको हो ।
धनगढी उपमहानगरपालिका-७ को मनेहरामा लेट मेइन प्रालि नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा भाडामा लिएर भवन बनाएको थियो । वरिपरिका स्थानीयलाई छालाको अस्पताल बनाइरहेको भन्दै झुक्याइएको थियो भने वडा नम्बर ७ को वडा कार्यालयबाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो । तर, उक्त इजाजतभन्दा फरक व्यवसाय भएको भन्दै उपमहानगरले लेट मेइन प्रालिले लिएको अनुमति खारेज गर्दै मंगलबार डोजर चलाएको हो । उपमहानगरका तीनवटा डोजर र नगर प्रहरीले उक्त भवन भत्काएको छ ।
त्यस भवनमा केही दिनयता चर्च सञ्चालनमा थियो । अस्पताल बनाउने भन्दै झुक्याएर चर्चमा संगति हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराइएको भन्दै स्थानीयले कडा विरोध जनाउँदै उपमहानगरपालिका समक्ष कारबाहीको माग गरेका थिए । गरिब बालबालिकालाई पैसाको प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन लगाएको उनीहरूको आरोप छ । समाजमा धार्मिक द्वन्द्व फैलाउने षड्यन्त्र गर्ने षड्यन्त्रकारीलाई कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ । गत असार १५ गतेदेखि सञ्चालनमा ल्याएको चर्चले युवा तथा बालबालिकाहरूलाई आर्थिक प्रलोभन देखाई क्रिश्चियन धर्मप्रति आकर्षित गर्दै आएको स्थानीयको भनाइ छ ।
यसअघि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टाभित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधिभित्र उसले जवाफ नफर्काएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले विभिन्न मिडियामा आएको समाचार तथा स्थानीयको समेत गुनासो आएकाले संस्था दर्ता भए÷नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौताबमोजिम कार्यक्रम भए/नभएको लगायतका प्रमाण माग गरेको थियो । चर्चका तीनजना सञ्चालकसमेत पक्राउ परिसकेका छन् ।
यस विषयमा केही दिनअघि संघीय संसद्मा पनि कुरा उठेको थियो । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाउनुभएको थियो । सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिदसमेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताउनुभएको थियो । उहाँले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताउनुभएको थियो । साथै उहाँले स्थानीय तहमा गएर झुटो विवरण पेस गरी धार्मिक मन्दिर, चर्च र गुम्बाहरू बनाउन नपाइने धारणा राख्नुभएको थियो ।






