काठमाडौं । सरकारले सोमबार गरेको विभिन्न १८ देशका राजदूत नियुक्ति सिफारिशप्रति सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । माओवादी र एकीकृत समाजवादीनिकट रहेका सबै राजदूत पनि फिर्ता भएका छन् । चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठ र श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र माओवादी कोटाबाट जानुभएको थियो । रुसका लागि राजदूत मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाश पोखरेललाई पनि सरकारले फिर्ता बोलाएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिइएको छ । अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्र घिमिरे र दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहाम्फे लगायतको नाम सिफारिश भएको छ । जर्मनीका लागि शैल रूपाखेती, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, साउदी अरबका लागि नरेशविक्रम ढकाल, अष्ट्रेलियाका लागि कान्ता रिजाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र स्पेनका लागि सनिल नेपालको नाम सिफारिश भएको छ । सरकारले मलेसियाका लागि नेत्र तिमिल्सिना, श्रीलंकामा रामकृष्ण भट्टराईलाई राजदूतमा सिफारिश गरेको छ ।
सरकारले गरेको राजदूत सिफारिश समावेशी नभएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियारले आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पारियारले मन्त्रिपरिषद्ले १८ राजदूत सिफारिश गर्दा संविधानको व्यवस्थाबमोजिम नभएको भन्दै प्रश्न उठाउनुभएको हो । सरकारले संविधानको धारा २८२ र २८३ सरकारले पालना नगरेको जिकिर गर्दै सांसद परियारले भन्नुभयो, ‘हिजो मात्र नेपाल सरकारले मन्त्रिपरषद्बाट एउटा निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन ? म सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’ संविधानको धारा २८२ मा समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने व्यवस्था छ । त्यस्तै, संविधानको धारा २८३ मा संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्तबमोजिम गरिने उल्लेख छ । सांसद अशोककुमार चौधरीले पनि राजदूत र प्रदेश प्रमुख नियुक्ति समावेशी सिद्धान्तका आधारमा नभएको टिप्पणी गर्नुभयो । सरकारले नै संविधान मिच्ने काम गरेको आरोप लगाउँदै रास्वपाका सांसद अशोककुमार चौधरीले भन्नुभयो, ‘यो सरकार साँच्चै संविधानविरोधी हुन पुगेको छ । यसको सुरुवात मन्त्रिपरिषद गठनदेखि भएको थियो । सरकारले गरेको पछिल्लो निर्णयअनुसार १८ देशमा राजदूत सिफारिश गर्दा । एउटा पनि थारू, मधेशी, दलित, मुस्लिम, सीमान्तकृत र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’
उपसभामुख जोडिएको प्रकरणमा सभामुखको जवाफ माग
सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर जोडिएको प्रकरणमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्यौपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ माग गर्दै भन्नुभयो, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, पाँचजना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिश गर्नेदेखि पाँचजना बालिका लगेको कुरा पनि आएको छ । यो कुराबारे मानव तस्करीको गम्भीर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ । तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानविन गर्न पाउने हक छ कि छैन । यो विषयमा सभामुखको ध्यानाकर्षण गराउँछु ।’
लेखा समिति सभापतिले पदको दुरुपयोग गरेको आरोप
विपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदको दुरुपयोग गरेको आरोप लगाएको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत्को बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गर्दै पदको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो । नेकपा एमालेका सांसदसमेत रहनुभएका सांसद पोखरेलले व्यापारीलाई भेटेको विषयमा छानविन गर्न माग गर्दै सापकोटाले भन्नुभयो, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौतासमेत नतिरेका एकजना व्यापारिको बीचमा रहस्यमय भेट भएको सूचना आएको छ, पदीय दुरुपयोगको गम्भीरतापूर्वक छानविनका लागि माग गर्छु ।’
माओवादीलक्षित बास्कोटाको टिप्पणी : ‘पीडा मात्रै बोकेर नहिँडौँ’
सत्तारूढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ । संसद्मा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरूको अभिव्यक्ति आउन थालेपछि बास्कोटाले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मुलुकलाई निकास दिन दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताउनुभएको हो । साना दलहरूले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढ्नुपर्ने उल्लेख गर्दै बास्कोटाले भन्नुभयो, ‘दुईवटा ठूला दल मिलेका छन् । ती राजनीतिक रूपमा मिल्दैनन्, सैद्धान्तिक रूपमा मिल्दैनन् । कार्यक्रमको रूपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोलि पनि मिल्छन् । यति कुरा हो-मुलुकका आवश्यकताअनुसार कसैका विरुद्ध यो होइन । आ-आफ्नो सामथ्र्यमा चलौँ । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौँ ।’
चिनियाँ राजदूतको अभिव्यक्तिप्रति संसद्मा विरोध
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ । २८ असारमा चितवनको सिमलतालबाट त्रिशूलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा विवादास्पद स्टाटस लेख्नुभएको थियो । मंगलबार कांग्रेस सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा छिमेकी मित्रराष्ट्रका राजदूतले कूटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको टिप्पणी गर्दै भन्नुभयो, ‘सर्च गर्ने टोलीलाई गुडलक अल द सर्च टिम भनेर एक्समा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । अप्ठेरो परेका बेला हाँसी मजाकमा नउडाऔँ भनेर अनुरोध गर्न चाहन्छु ।’ लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतको नाम नलिई कूटनीतिक मर्यादा विपरीतको काम भएको आरोप लगाउँदै भन्नुभयो, ‘दुर्घटनामा हराएका सबैजनाको गाउँ शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन् । यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादाविपरीत हो । नेपालको नेतृत्वमा भइरहेको खोजी कार्यको मजाक उडाउने काम निन्दनीय छ ।’
एमालेप्रति स्वर्णिमको टिप्पणी : ‘मध्यरातमा खुफिया एजेन्सी प्रमुखलाई बोलाउने छैनौँ’
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो अभिव्यक्तिलाई लिएर संसद्मा झुट बोलिएको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जेम्स मनरोको विदेश नीतिबारे विगतमा आफूले बोलेको विषयलाई सत्तापक्षका सांसदले बंग्याएर प्रस्तुत गरेको सांसद वाग्लेको दाबी छ । वाग्लेले विगतमा दिएको अभिव्यक्तिलाई लिएर एमालेका सांसद रघुजी पन्तले संसद्मा अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिप्रति सांसद वाग्लेले भन्नुभयो, ‘विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझे पनि बुझ पचाउने र हाकाहाकी झुट बोल्ने ? कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पु¥याउनुभयो । हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरूका प्रमुखलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदीनालाका सन्धि देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु छैन ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता