केशवप्रसाद चौलागाई
ततोद्रगमद्विरूपाक्षो हनुतिर्थे घटोद्भव ।
तत्र सस्नौ तृतीयायां शुक्लायां माधवस्य तु ।।
‘हिमवत खण्डको नेपाल महात्म्यमा वर्णित हनुतीर्थ क्षेत्रमा हरेको पैनाचल हनु लिंगेश्वर महादेव स्वयंमा महत्वपूर्ण तीर्थ रहेको प्रष्ट हुन्छ । विरूपाक्षको पाप मोचनका लागि नेमुनीको निर्देशनमा भएको तीर्थ यात्राको क्रममा यस स्थानमा पनि बसेर तपस्या गरी पाप मोचन गरेका थाहा हुन्छ । माथि वर्णन गरिएको श्लोकको कथा यस प्रकार रहेको छ । कुमार स्वामीले भन्नुभयो हे अगस्त मुनि त्यसपछि विरूपाक्ष हनुमत् तीर्थमा गए । उनले त्यहाँ वैशाख शुक्ल तृतीयाका दिन स्नान गरे । राति विरूपाक्षले त्यस तीर्थको महात्मा नेमुनिसित सोधे ।
ऋषिहरूले हनुमानलाई धन्यवाद दिए र उनको उचित नामको विचार गरी उनलाई भने, ‘हे कपीश्वर । आजदेखि तिम्रो नाम हुनुमान रहृयो ।’ हे वानर ! आकाशबाट तिम्रो भाँचिएको हनु (चिउँडो) यहाँ खस्यो, त्यसैले यस तीर्थको नाम आजदेखि वरदायक हनु तीर्थ भयो ।
नेमुनिले पनि तुरुन्तै त्यस तीर्थको महात्म्य विरूपाक्षलाई बताए । नेमुनिले बताए अनुसार पहिले अञ्जनाको प्रार्थना अनुसार पैदा भएको वायुपुत्र हनुमानले आकाशमा हिँडिरहेका सूर्यलाई देखेर ज्यादै उत्कण्ठित हुँदै आमालाई सूर्यलाई ल्याइदिन जिद्धि गरे । भेट्नै नसकिने त्यो सूर्यलाई कसरी दिन सक्छु ? यदि तिमी आफैं ल्याउन सक्छौ भने आकाशबाट ल्याऊ भनिन् आमाले । आमाको कुरा सुनेर हनुमान आमाको काखबाट उफ्रिएर आकाशतिर लागे । हात फैलाउँदै उडेर सूर्यको नजिकमा पुग्दा सूर्यको रथको हरिसमा ठोकिन पुगे र तल झेर । सूर्यको हरिसमा उनको चिउँडो ठोक्किन पुग्दा उनको चिउँडो भाँच्चिन पुग्यो र पृथ्वीमा पछारिए । जब पवनपुत्र ठक्करको पीडाले व्यथित अवस्थामा थिए त्यही छोटो समयमा पनि सूर्य आकाशमा हजार योजन पर पुगिसकेका थिए ।
वायुपुत्र हनुमान त्यसै तीर्थमा खसे । त्यहाँ दुई नदीको संगम भएको तीर्थमा स्नान गरिसकेपछि वायुपुत्रले भगवान शिवको ध्यान गर्दै शिवजीको पूजा गरिरहेका कोही त्यसै बसिरहेका, देवता, सिद्ध र मुनिहरूको दर्शन गरे । त्यहाँ विराजमान मुनिहरूमध्ये मुख्य बनेका वशिष्ठ, अत्रि, मरीचि, पुलस्त्य क्रतु, मृगु, अंगिरा, दत्तात्रय र नारद बसेका थिए । उनले ती सबैको दर्शन गरे । यसै क्रममा नारदले हनुमानलाई सोधे-हे वानर ! तिमी कहाँबाट यहाँ आयौ ? किन आयौ ? कसरी तिम्रो यो चिउँडो भाँचियो ? छिटो भन । नारदको भनाइ सुनेर हनुमानले मुनिहरूसँग भेट भएको घटनासम्मको सबै वृत्तान्त बताए । हनुमानको भनाइ सुनेर उनको यस स्थलको आगमन र चिउँडो भाँचिएको वृत्तान्तले ऋषिहरू अत्यन्त आश्चर्यचक्ति भए ।
ऋषिहरू सबैले यहाँ हनुमानलाई धन्यवाद दिए र उनको उचित नामको विचार गरी उनलाई भने । ‘हे कपीश्वर । आजदेखि तिम्रो नाम हुनुमान रहृयो ।’ हे वानर ! आकाशबाट तिम्रो भाँचिएको हनु (चिउँडो) यहाँ खस्यो, त्यसैले यस तीर्थको नाम आजदेखि वरदायक हनु तीर्थ भयो । हे कपीश्वर ! यो तीर्थ उत्तम तीर्थ छ । यसले मानिसहरूलाई विशेष गरेर स्नान गर्ने व्यक्तिहरूलाई इच्छा लागेको फल दिन्छ । हे हनुमान ! यस ठाउँमा स्नान गरी बालुवा र ढुङगा ल्याएर शिवजीको लिंग बनाऊँ । आजदेखि तिमी चिरञ्जीवी हुनेछौ, यसमा शंका छैन ।
त्यसपछि तिमीले यस तीर्थको जलमा स्नान गरेको हुँदा त्रेतायुगमा रामचन्द्रलाई सहयोग गर्न सक्नेछौ, सबै प्राणीहरूलाई तिमीले सहयोग पुर्याउने छौं । हे हनुमान ! चाँडो यो सबै काम गरेर आफ्नो घर जाऊ । यस तीर्थमा तिमीले प्रयास गरेर सबै पर्वहरूमा स्नान गर्नुपर्दछ । ऋषिको यो भनाइ सुनेर हनुमानले भक्तिपूर्वक भाद्र शुक्ल तृतीयाका दिन प्रसन्न हँुदै यस तीर्थमा स्नान गरे । विधिपूर्वक ढुंगाले बनेको लिंगलाई स्थापना गरेर दर्शन गरी उत्तम प्राप्त गर्ने श्रीरामका भक्त एवं सेवक हनुमान छिट्टै आफ्नो किष्किन्धा नगरीमा गए ।
हे सिद्ध विरूपाक्ष ! हनुमान भगवान् रामको लीलामा सहयोगी भई रामायण पूरा गरेर आज पनि सपरिवार यहाँ आउँछन् र नुहाउँछन् । यहाँ स्नान गर्ने मानिसले अग्निष्टोम यज्ञ गरेको फल पाउँछ । सम्पूर्ण पापबाट मुक्त भएर इच्छा लागेको भोग उपभोग गरी ऊ स्वर्ग जान्छ । बाँझी आइमाई छ भने पनि उसले यहाँ स्नान गर्दा ऊ पुत्रवती हुन्छे, पतिको प्यारी हुन्छे, सधैं गुण, रूप र शक्तिले युक्त बन्दछे । हे विरूपाक्ष । जसको थोरै आयु छ, त्यसले यस तीर्थमा स्नान ग¥यो भने सम्पूर्ण पापबाट मुक्त भएर त्यो व्यक्तिमा चिरञ्जीवी हुन्छ ।
हे विरूपाक्ष ! अब तिमी यहाँबाट दुई हजार धनु पर वायव्य दिशामा रहनुभएका कोटिश्वर भगवान्को नजिकै जाऊ । जसले आनन्द भएर यस अध्याय सुन्छ, त्यसले त्यस तीर्थमा स्नान गरेको फल पाउँछ । बोली, हृदय र शरीरका अंगबाट भएका सम्पूर्ण पापबाट मुक्त भएर त्यो व्यक्ति अवश्य स्वर्ग जान्छ ।
प्रत्येक वर्ष वानरहरू हनुमान घाटमा स्नान गरी मन्दिर छेउका बासिन्दाहरूको घरको छतछतमा हिँड्ने तर कुनै बिगार नगर्ने परम्परा यथावत रहेको स्थानीयहरू बताउँछन् । अन्य धेरै दैवी लक्षणहरू देखिने भए तापनि छुट्याउन, पहिचान गर्न नसक्दा उल्लेखनीय छैनन् ।
स्कन्दपुराण अन्र्तगतको हिमवतखण्डमा विरूपाक्षको तीर्थ यात्रा प्रसंगमा वर्णित हनुमान तीर्थको महात्म्यबाट यहाँस्थित महादेवको नाउँसँग जोडिएको ‘हनुलिंगेश्वर’ शिवको विषयमा बुझ्न सहज बन्दछ । हरेक महिनाको दोस्रो सोमबार त्यहाँ आयोजना हुने रामायण भजनले पनि हनुमान र शिवको सम्बन्धलाई बुझ्न सजिलो बन्दछ ।
जयति रघुवंशतिलक :, कौशल्याहृदयनन्दनो राम : ।
दशवदननिधनकारी, दशरथि : पुण्डरीकाक्ष : ।।१।।
कूजन्तं रामरामेति मघुरं मर्घुराक्षरम् ।
आरुहृय कविता शाखां बन्दे वाल्मीकि कोकिलम् ।।२।।
बन्धन्तमञ्जलिं सन्तं कथां श्रृण्वन्तमादरात् ।
भक्तिमन्तं दाशरथौ हनुमन्तं नमाम्यहम् ।।३।।
उपरोक्त मंगलाचरणबाट प्रारम्भ हुने रामायण भजनले हनुमान तीर्थको महत्वलाई प्रारम्भमै उजागर गर्दछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने भक्त र गायकहरूको उपस्थिति पनि महत्वपूर्ण देखिन्छ । पारिपट्टि रहेको हनुमानघाट र वारिपट्टि रहेको मन्दिरका बीचबाट प्रवाहीत हुने हनुमन्ते नदीका कारण मनोरम देखिएता पनि नदी प्रदुषणका कारण नदीको जलमा स्नान गर्न सकिँदैन । प्रत्येक वर्ष वानरहरू हनुमान घाटमा स्नान गरी मन्दिर छेउका बासिन्दाहरूको घरको छतछतमा हिँड्ने तर कुनै बिगार नगर्ने परम्परा यथावत् रहेको स्थानीयहरू बताउँछन् । अन्य धेरै दैवी लक्षणहरू देखिने भए तापनि छुट्याउन, पहिचान गर्न नसक्दा उल्लेखनीय छैनन् । हनुमानको सिद्धि, पराक्रम तथा ज्ञानलाई भानुभक्तले पनि एवं प्रकार वर्णन गर्नुभएको पाइन्छ ।
एक विर ता मइ हुँ हुकुम सिर उपर लियेर आयाँ यहाँ ।
पायाँ देख्न सिताजिलाई दुत हुँ रामको छलिन्थ्याँ कहाँ ।।
वानर हुँ र उखेली साफ गरि दियाँ तेरो बघैचा पनी ।
आया मार्न मलाई जो अघि सरी उनलाई मार्या पनी ।।
लंकामा पुगेर रावणका सामुन्ने आफ्नो पराक्रम वीरता भयरहित भएर बखान गर्दै रावणलाई भयभीत पार्न खोजेको देखिन्छ ।
जो यो लोक विषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तो भनी ।
सूतुन्ज्याल सपना छ सत्य उठि ता लाग्दैन साँचो पनि ।।
तस्तै ज्ञान त भयो भन्या त्रिभुवनै एक् देख्छ आत्मा फगत् ।
अज्ञान रूप् निदमा पर्यो पनि भन्या देखिन्छ नाना जगत् ।।
आत्मा सत्य म हुँ भनेर बुझिले यस देहलाई पनि ।
झुटो जान् पृथिवी र जलहरू मिली झुट्टै बन्याको भनी ।।
तर्लास यो मनमा लिइस पनि भन्या तान्या उनै विष्णु हुन् ।
जो हो विष्णु उ राम हुन् शरण पर् रिस उढ्छ तेरा त झन ।।
एवं प्रकार रावणका सामुन्ने ज्ञानज्ञुनका कुरा गर्ने ज्ञानी हनुमानको प्रसिद्ध यो तीर्थ यस क्षेत्रकै सिद्धस्थलका रूपमा देखिन्छ । तलितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वार्ड नं.-३ स्थित हनुमान तीर्थ झैँ रामायणकालीन प्राचीन स्थलहरू पनि यस नगरपालिकामा रहेका छन् । त्रेता युगमा रामजन्मका लागि राजा दशरथले गरेको पुत्रेष्टी यज्ञका आचार्य ऋषि शृष्यश्रृंगीको आश्रम वडा नं. ९ मा रहेको छ । ऋषि पर्यटन र रामायणलाई धार्मिक पर्यटनको प्याकेज बनाउँन सक्दा यस क्षेत्रको महत्व विश्वले थाहा पाउँन सक्छ । भारतको अयोध्यामा राममन्दिर निर्माण गर्नासाथ विश्वका रामभक्तहरू अयोध्यामा आउनाले धार्मिक पर्यटनबाट समृद्धिमा भारत पुग्दैछ । नेपालमा पनि विश्वका सनातन धर्मावलम्बीहरूलाई आकर्षित गर्ने यस्ता स्थानहरूबारे प्रचारप्रसार गर्न सक्दा धार्मिक पर्यटनबाट आर्थिक समृद्धिका साथै स्वरोजगारको वृद्धि हुनेछ ।
वार वार वर मागौँ, हरषि देहु श्रीरंग ! ।
पदसरोज अनपायनी, भगति सदा संतसंग ।।
वरनि उमापति रामगुन, हरषि गए कैलास ।
तव प्रभु कपिन्ह दिवाए, सब विधि सुखप्रद बास ।।
सिमावर रामचन्द्र जय !
उमापति महादेव कि जय !
पवनसुत हनुमान कि जय !
श्री राधा कृष्ण कि जय ।।

शोभनम् ।