काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तले शव बुझेका छन् । शुक्रबार र शनिबार गरी १७ परिवारले शव बुझेको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको हो । एक विदेशीको शव भने दूतावासको समन्वयमा पठाइने भएपछि केही ढिलाइ भएको प्रशासनले जनाएको छ । प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यमनका नागरिक अरेफ रेडाको शव पठाउन अझै केही दिन लाग्ने बताइएको छ । उहाँ सौर्य एयरलाइन्सकै कर्मचारी हुनुहुन्थ्यो ।
त्रिवि प्रशासनका अनुसार शुक्रबार पाँच र शनिबार १२ जना मृतकका परिवारले शव बुझेका छन् । विमान दुर्घटनामा परेर १८ जनाको निधन भएको थियो । पाइलट मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । उहाँको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालले सबैको पोष्टमार्टम भने बिहीबारै सकेको थियो । परिवारले दिएको विवरणकै आधारमा सबै शव पहिचान पनि भएको थियो । तर, पीडित परिवारले कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव नपाएसम्म शव नबुझ्ने अडान लिएका थिए । शुक्रबार सौर्य एयरलाइन्सले पीडित परिवारलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएपछि परिवारले शव बुझेका हुन् । आफन्त विदेशबाट आउनुपर्ने भएकालेहरूले भने शव शनिबार बुझेका हुन् । गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा १९ जना सवार थिए ।






