काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शनिबार एक समारोहबीच उनीहरूले शपथ लिएका हुन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले कांग्रेसका चार मन्त्रीलाई शपथ गराउनुभएको हो । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथग्रहण गर्नुभएको हो । शपथपछि उनीहरूको कार्यभारसमेत तोकिएको छ । बुधबार नियुक्त भएका तीन र बिहीबार नियुक्त भएका चारजना गरी कांग्रेसका सात मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, खड्गीलाई सामाजिक विकास मन्त्रालय र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बुधबार नियुक्त कुन्दनराज आफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने श्यामबहादुर खड्काले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हाल्नुभएको छ ।
मुख्यमन्त्री लामाले बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिनुभएको हो । बुधबार विना विभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाब दिनुभएको थियो ।
लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरिप्रभा पुग्नुभएको हो । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ । यससँगै १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रीको संख्या १४ पुगेको छ ।
कोशीमा एमाले र कांग्रेसबीच टुंगियो मन्त्रालय भागबण्डा
सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेशमा मन्त्रालय भागबण्डा टुंग्याएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकार छाडेलगत्तै शनिबार काठमाडौंमा मुख्यमन्त्री हिक्मत कार्की र कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री उद्वव थापासहितका नेताहरूको छलफलले मन्त्रालय भागबण्डा टुंगो लगाएको हो ।
कांग्रेस संसदीय दल नेता उद्वव थापाका अनुसार प्रदेश सरकारमा कांग्रेस र एमालेले चार/चार मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसले माओवादीले छाडेको मन्त्रालय पाउनेछ । नेता थापाका अनुसार कांग्रेसले पाउने चारमध्ये तीन मन्त्रालय टुंगिसकेको छ । भौतिक पूर्वाधार, स्वास्थ्य र वन, वातावरण तथा पर्यटन मन्त्रालय कांग्रेसले पाउनेछ । त्यस्तै, मुख्यमन्त्री कार्कीले सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय कांग्रेसलाई छानेर लिन भन्नुभएको छ । ९ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका तीन मन्त्री यसअघि नै सरकारमा छन् ।
कृषि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले सम्हालेका छन् । अब सरकारमा एमालेको मुख्यमन्त्रीसहित पाँच र कांग्रेसको चार मन्त्री हुनेछन् । मुख्यमन्त्री कार्की र कांग्रेसका दल नेता थापाबीच सरकार आलोपालोबारे पनि छलफल भएको छ । एक नेताका अनुसार सरकारको आलोपालोबारे भने संघबाट स्वतः निर्धारण हुनेगरी सहमति भएको छ । ‘अर्थात् संघमा हालका प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गरेकै दिन कोशीमा पनि सरकार हस्तान्तरण हुन्छ,’ ती नेताले भन्नुभयो । कोशीमा वैशाख २७ मा एमाले र माओवादी केन्द्रले सरकार बनाएका थिए । संघमा समीकरण फेरिएपछि कोशीमा पनि शुक्रबार माओवादी सरकारबाट बाहिरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts