चारैतिर लमतन्न सुतेको सेता हिमाल । छर्लंग खुलेको आकाश । मनमोहक भूगोल । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल एवं ताल तलैयाहरू । पुरातात्विक संरचना, स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरू । पठारको प्राकृतिक सुन्दरता, तिब्बती संस्कृति, वास्तविक हिमाली जीवन र सांस्कृतिक सम्पदाको आकर्षण । मुस्ताङ आउन पर्यटकहरूलाई आकर्षित गर्छ । हिमशृंखलाभन्दा उत्तरपट्टि अवस्थित रहेकोले ‘हिमालपारीको जिल्ला’ भनेर मुस्ताङलाई चिनिन्छ । धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरहरूका बीचमा अवस्थित छ मुस्ताङ । नेपालको मरुभूमि भनिने मुस्ताङमा जताततै देखिने बालुवाको थुप्रो, ढुंगा, माटो कम देखिने कलात्मक बुट्टा र अग्ला हिमशृंखलाले मुस्ताङलाई धर्तीको स्वर्ग बनाएको छ । प्रकृति र संस्कृतिको धनी मुस्ताङ पर्यटकीय तथा धार्मिक दृष्टिकोणले प्रसिद्ध र महत्वपूर्ण छ ।
मुस्ताङ जिल्लाको करिब-करिब बीच भाग भएर कालीगण्डकी बग्छ । मुस्ताङ जिल्लालाई उपल्लो र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजन गरिएको पाइन्छ । कागबेनीभन्दा माथिको वा उत्तरतिर रहेको भागलाई उपल्लो मुस्ताङ भन्ने गरिन्छ । यस क्षेत्रलाई लो–क्षेत्र पनि भनिन्छ । अधिकांश पहाडै पहाड र केही भाग हिमालले घेरिएको छ । साविक छुसाङ गाविसबाहेक दक्षिणमा रहेको भागलाई तल्लो मुस्ताङ भन्ने गरिन्छ । अधिकांश पहाडै पहाड भए तापनि उचाइ घट्दै गएको भूमि भएकाले केही सिमसार, वनजंगल एवं तालत रहेका छन् ।
विश्वव्यापी रूपमा जलवायु परिवर्तन अहिलेको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ । समग्र मानव सभ्यताको भविष्यमाथि प्रश्न चिहृन बनेर जलवायु परिवर्तन उभिएको अवस्था छ । जलवायु परिवर्तनको असरबाट कुनै पनि मुलुक र क्षेत्र अछुतो रहन सकेको छैन् ।
जलवायु परिवर्तनका असरहरूसँग मुस्ताङ जिल्लाले प्रत्यक्ष रूपमा जुध्नुपरेको देखिन्छ । जलवायु परिवर्तनको असरले मुस्ताङ जिल्लामा प्राकृतिक विपद्जन्य घटनाहरू बढ्दै गएका छन् । जलवायु परिवर्तनमा आफ्ना क्रियाकलापको खासै दोष नरहे पनि दुष्परिणाम मुस्ताङवासीहरूले समेत भोग्न बाध्य रहेका छन् ।
जलवायु परिवर्तनबाट नेपालजस्ता हिमाली तथा पर्वतीय देश अझै बढी प्रभावित रहेको छ । त्यसमा पनि नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरको खतरा एकदमै उच्च रहेको छ । हालैका वर्षहरूमा नेपालको सुन्दर पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनको असरहरू तीव्र रूपमा देखिन थालेको छ । जलवायु परिवर्तनका असरहरूसँग मुस्ताङ जिल्लाले प्रत्यक्ष रूपमा जुध्नुपरेको देखिन्छ । जलवायु परिवर्तनको असरले मुस्ताङ जिल्लामा प्राकृतिक विपद्जन्य घटनाहरू बढ्दै गएका छन् । जलवायु परिवर्तनमा आफ्ना क्रियाकलापहरूको खासै दोष नरहे पनि दुष्परिणाम मुस्ताङवासीहरूले समेत भोग्न बाध्य रहेका छन् ।
जलवायु परिवर्तनको असरले पृथ्वीको तापमानमा अस्वभाविक वृद्धि भइरहेको छ । तापक्रममा अस्वभाविक वृद्धि भएको छ । हिउँ पर्ने क्रममा निकै कमी आएको छ । हिमालको हिउँ तीव्र रूपमा पग्लिरहेको छ । समुद्री सतह बढ्दै गएको छ । मुस्ताङ जिल्लाको पूर्व र पश्चिमतर्फ रहेको लामो हिमशृंखलाबाट ठाडो खोलाहरू निरन्तर बग्ने गरेको छ । तापक्रमको निरन्तर वृद्धिले हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम बढेसँगै ती ठाडो खोलाहरूमा लेदो र गेग्रानसहितको बाढी आउने क्रम बढेको छ । बाढीले तल्लो क्षेत्रका बस्तीमा प्रत्यक्ष क्षति पुर्याउन सक्ने सम्भावना बढेको छ ।
२०८० सालको चैत महिनामा लेदो र गेग्रानसहितको बाढी मार्फा खोलामा पटक पटक आएको थियो । अहिले वर्षातको सुरुवाती अवस्थामै फेरि लेदो र गेग्रानसहितको बाढी आयो । त्यस्तै २०८० साल साउन २८ गते कागबेनीको कागखोलामा आएको बाढीलाई पनि जलवायु परिवर्तनको असरको रूपमा लिन सकिन्छ । जलवायु परिवर्तनको असरले विभिन्न जीवजन्तुहरूको जीवनलाई संकटमा पार्दै लगेको छ । वनस्पतिको जीवनचक्रमा प्रतिकूल असर पारेको छ । वनस्पतिमा फूल फुल्ने र फल फल्ने समयमा परिवर्तन हुन थालेको छ । साना टापुहरू समुद्रमा बिलिन हुने खतरा बढेको छ । अतिवृष्टि, अनावृष्टि र बेमौसमी वर्षा तथा हिमपात बढेको छ ।
यसले बाढी र पहिरो जस्ता घटनामा वृद्धि भएको छ । मुस्ताङमा समेत हिमपातको प्रवृत्ति र घनत्वमा परिवर्तन आएको छ । बेमौसमी हिमपातको क्रम बढ्दो छ । सरदरभन्दा कम हिमपात हुन थालेको छ । हालैका वर्षहरूमा तल्लो क्षेत्रमा हिमपाल हुनै छोडेको छ । हिमपात हुने समयमा पानी पर्न थालेको छ । जलवायु परिवर्तनको असारले मुस्ताङका खहरे खोलाहरूमा वर्षेनी बाढी निम्त्याइरहेको छ । जिल्लाको दक्षिणी भेगमा कालो रंगको बलौटे दोमट खालको माटो पाइन्छ भने उत्तरी भेगमा खैरो रंगको क्षारीय किसिमको माटो पाइन्छ । समष्टिगत रूपमा मुस्ताङ जिल्लामा अत्यधिक चुन पाइन्छ । जिल्लाभरको माटो नै हल्का रूपमा क्षारीय किसिमको छ । मुस्ताङ जिल्लाको अधिकांश पहाड र डान्डाहरू कमजोर गेगर माटो र ससाना ढुंगाबाट बनेका छन् । मुस्ताङ जिल्लाको भूभाग निकै कमलो रहेको छ ।
यहाँका पहाडहरू बालुवाको थुप्रोजस्ता छन् । हावाले उडाउने र हिउँले पगाल्ने भएकाले पहाडमा खोल्सा परेका छन् । मुस्ताङ जिल्लामा अधिकांश माटोको गारो र छत भएका घर रहेका छन् । पानी पर्ने क्रम बढेसँगै सांस्कृतिक महत्व बोकेका माटोका पुराना घरहरूमा जस्ताको छाना राख्नुको विकल्प छैन । जलवायु परिवर्तनको असरले औषत वर्षाको दर बढेको छ । तापक्रममा निरन्तर वृद्धि भइरहेको छ । सबैभन्दा कम सरदर वर्षा हुने जिल्लाको रूपमा रहेको मुस्ताङमा सरदर वर्षा सन् २००० को आँकडा अनुसार २५२ मिलिमिटर हुने गरेको थियो । सन् २०२० को आँकडा अनुसार मुस्ताङ जिल्लामा सरदर वर्षा ३०७ मिलिमिटर हुने गरेको देखाएको छ ।
सन् २०२० को आँकडा अनुसार लोमान्थाङ र जोमसोमको सरदर वर्षाको दर क्रमशः १६५ र २९५ मिलिमिटर पुगेको छ । हरेक वर्ष बढिरहेको वर्षाले मुस्ताङ जिल्लामा वर्षाजन्य विपद्को जोखिम निकै बढाएको छ । यसरी जलवायु परिवर्तनको असर र जिल्लाको भूबनोटका कारण मुस्ताङ जिल्ला विपद्जन्य घटनाको अत्यन्त जोखिमयुक्त जिल्ला बन्न पुगेको छ । स्याउको पकेट क्षेत्रको रूपमा रहेको मार्फामा स्याउ उत्पादन घट्दो छ । स्याउ खेती क्रमशः माथिल्लो क्षेत्रमा सर्दै छ । हिमपात हुने समयमा पानी पर्दा स्याउ उत्पादनमा कमी आएको छ । मुस्ताङको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल असर परेको छ ।
जिल्लामा विगतमा भएका विपद्का घटनालाई विश्लेषण गर्दा, संख्याको आधारमा हिमपात पहिलो स्थानमा र क्षतिको आधारमा बढी तथा पहिरो पहिलो स्थानमा रहेको पाइन्छ । यहाँका ठूला पहाडहरूबाट निस्केका बालुवा र गिट्टी सबै कालीगण्डकी नदीमा मिसिने गरेका छन् ।
मुस्ताङको तल्लो क्षेत्रमा सिल्टुङ, गहत, कोदो, गोलभेडा जस्ता बाली अहिले राम्रोसँग फल्न थालेका छन् । केही दशकअघिसम्म यी बाली मुस्ताङमा हुनेगरेका थिएनन् । बदलिदो मौसमी प्रणालीका कारण मुस्ताङको रैथाने बालीमा प्रत्यक्ष प्रभाव परेको छ । यहाँको रैथाने बाली नै हराउने हो कि भन्ने खतरा बढाएको छ । मुस्ताङ जिल्ला बाढी, पहिरो, आगलागी, भूकम्प, चट्याङ, हिमपात, हावाहुरी जस्ता विपद्को उच्च जोखिममा रहँदै आएको छ । खास गरी बाढी, पहिरो तथा जलजन्य विपद्को जोखिम वर्षेनी बढ्दै गएको छ ।
जिल्लामा विगतमा भएका विपद्का घटनालाई विश्लेषण गर्दा, संख्याको आधारमा हिमपात पहिलो स्थानमा र क्षतिको आधारमा बढी तथा पहिरो पहिलो स्थानमा रहेको पाइन्छ । यहाँका ठूला पहाडहरूबाट निस्केका बालुवा र गिटी सबै कालीगण्डकी नदीमा मिसिने गरेका छन् । कालीगण्डकीमा रहेको नदीजन्य पदार्थ उत्खनन् गर्न अदालती आदेशले रोकिएको छ । कालीगण्डकी नदीको सतह तटीय क्षेत्रका वस्तीभन्दा माथि आइसकेको छ । बस्ती जति धेरैजसो यही नदीको किनारमा अवस्थित छन् । संसारकै सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी खास गरी छुसाङदेखि लेतेसम्म तराई जसरी ठूलो फाँटमा बालुवा र मसिना ढुंगाबीच हराएर कलकल गर्दै बगिरहेको देखिन्छ । यसले बस्ती डुबानको खतरा बढाएको छ ।
जलवायु परिवर्तनको असर केही हदसम्म यहाँको सामाजिक रहनसहनमा समेत देखिन थालेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने क्षेत्र पर्यटन पनि हो । मुस्ताङ आउने पर्यटक मुस्ताङको गाउँ र गाउँलाई घेरेका सेताम्य हिउँ तथा हिमालको मनमोहक दृश्य हेर्न आउने गरेका छन् । हिमालको हिउँ पग्लिँदै गएमा हिमालको स्वरूप परिवर्तन हुन्छ । खुइलिएको डाँडाका रूपमा परिणत भएको हिमालले पर्यटकको मनोकांक्षा पूरा गर्न सक्दन् । भूक्षयबाट ट्रेकिङ पदमार्गमा क्षति पुग्न सक्छ । प्राकृतिक तथा भौगोलिक सुन्दरतामा ह्रास आउन सक्छ । पर्यटकहरू जे हेर्न मुस्ताङ आउन खोज्छन् त्यसमै ह्रास आएको खण्डमा पर्यटकलाई मुस्ताङले आकर्षित गर्न सक्दैन । बिस्तारै पर्यटकको रोजाइमा मुस्ताङ नपर्न पनि सक्छ । यसरी मुस्ताङको विकासको आधार नै ध्वस्त हुन सक्छ । मुस्ताङलाई पुनः परिभाषित गर्नुपर्ने अवस्था आउन सक्छ ।
(लेखक हाल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुस्ताङको निमित शाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता