चारवेदका चारवटा महावाक्य छन् । वेदमध्ये पहिलो र सर्वाधिक महिमामण्डित र सबैभन्दा स्थूलकायी वेद मानिन्छ ऋग्वेद । यसको प्रसिद्ध उपनिषत् हो ‘ऐतरेयोपनिषत्’ यसको ३।१।३ मा प्रज्ञानं ब्रहृम भनिएको छ । यता वैयाकरणहरूले ब्रहृमको र शब्दको मिल्दोजुल्दो स्वरूप प्रक्रिया र पद्धति देखिएको हुनाले ‘शब्दब्रहृम’ भनेर नयाँ ग्रह सिर्जना गरे । शब्दब्रहृमका सम्बन्धमा भतृृहरिले आफ्नो व्याकरणका पुस्तकमा ब्रहृमकाण्ड भनेर एउटा काण्डको नै व्यवस्था मिलाएका छन् । नागेशले पनि शब्दब्रहृमको व्यापक व्यख्या गरेका छन् । पुराण उपनिषत् आदिका प्रमाणको समेत आधार लिएर वैयाकरणले भार्गवले नवग्रह बनाएर आकाशमा झुण्ड्याए झैँ व्याकरणपाठीलाई तिनको दिमागी तेज जाँच्ने एउटा कसी बनाए शब्दब्रहृमलाई ।
कालक्रममा विकसित भएको दोस्रो वेद हो वाजसनेय शाखाअन्तर्गतको माध्यन्दिनिय शुक्लयजुर्वेद । यसको उपनिषत् हो ‘बृहदारण्यकोपनिषत्’ यसको १।४।१०मा अहं ब्रहृमास्मिलाई महावाक्यका रूपमा अघि सारिएको भेटिन्छ भने स्वयं शुक्ल यजुर्वेद संहिताको ४०औं अध्यायको १८औं मन्त्र ‘खं ब्रहृम’लाई मैले शुक्लयजुर्वेदको महावाक्यका रूपमा निकै पहिले नै पाठकका सामुन्ने प्रस्तुत गरेको थिएँ । सामवेदको मुख्य उपनिषत् छान्दोग्योपनिषत्लाई मानिन्छ र यसले ६,८।७,६। ९।४,६ ।१०। ३,६।११।३,६।१२।३, ६।१।३।३,६।१४।३,६ ।१५।३।३,६।१६।३।३ मा तत्वमसिलाई महावाक्य मानेको भेटिन्छ भने अथर्ववेदको मान्डुक्योपनिषत् मन्त्र २ मा सर्वंहृयेतद्ब्रहृमायमात्मा ब्रहृमसोद्रयमात्मा चतुष्पात् भनेको भेटिन्छ (यात्री,२०६१) । यो सम्पूर्ण संसार ब्रहृम नै हो ।
जाग्रत् अवस्थामा अभिमानी भएर स्थूल पदार्थलाई भोग गर्दै ब्रहृम बहिर्मुख बनेको हुन्छ । वैयक्तिक रूपमा प्राणीहरूका जाग्रत अवस्थामा अभिमानी हुनेभएको हुनाले समष्टि रूपमा भने देखिनसक्नाको विशाल र व्याप्त छ ।
जीवात्मा पनि ब्रहृमस्वरूप मानिन्छ । भोग्य जागतिक वस्तु र भोक्ता जीव दुवैका स्वरूपमा देखिने यो आत्मा नै ब्रहृम हो, यो चार पाउ भएको छ । प्रसंगको स्पष्टताका निमित्त ‘जागरितस्थानो बहिष्प्रज्ञः सप्तांग एकोनविंशतिमुखः स्थूलवैश्वानरः प्रथम पादः ।।३।। अर्थात् यो आत्माको पहिलो पाउ वैश्वानर हो । जाग्रत् अवस्थामा अभिमानी भएर स्थूल पदार्थलाई भोग गर्दै यो बहिर्मुख बनेको हुन्छ । वैयक्तिक रूपमा प्राणीहरूका जाग्रत अवस्थामा अभिमानी हुनेभएको हुनाले समष्टि रूपमा भने देखिनसक्नाको विशाल छ । भू्रर्भूव्वादि सात लोक नै त्यो वैश्वानरका सात अंग हुन् र ज्ञानेन्द्रिय पाँच, कर्मेन्द्रिय पाँच, प्राण पाँच तथा चार अन्तःकरणसमेत १९ करण (साधन)नै त्यसका मुख हुन् ।
अथर्ववेदको सप्तम काण्डमा तीनवटा आत्मा सूक्त छन् । विश्वप्राणसूक्त पनि यसै कान्डमा रहेको छ । अथर्ववेदकै चतुर्थकाण्डमा ब्रहृमविद्यासूक्त रहेको भेटिन्छ । यसै काण्डको दोस्रो सूक्त हो आत्मविद्यासूक्त । हो, यिनै सूक्तसँग सम्बद्ध रहेको देखिन्छ मान्डुक्योपनिषत् । यसले आत्मालाई ब्रहृम मानेर जाग्रत्, स्वप्न, सुषुप्ति अवस्था बहिर्मुख र अन्तमुर्खको कुरो गरी आत्मालाई ब्रहृम र बाँकी समग्र कुरालाई त्यसैका अंगउपांग र अवस्थाका रूपमा व्यख्या गरेको छ । अयमात्मा ब्रहृमको कुरो यही नै हो ।
हाम्रो आत्मा नै ब्रहृम हो,
ब्रहृमाण्डका चरको र अचरमा चाहिँ स्थावरको आत्मा हुन्छ । हरिमञ्जुश्रीले मान्डुक्योपनिषत्लाई पढेर या नपढी अथर्ववेदको महावाक्यमा आधृत रहेर एउटा वैदिकगान बनाएर मलाई पठाएका थिए । त्यो गीतले मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बा धाएर ब्रहृम नभेटेपछि अन्तर्मुख बनेर आफैंभित्र टटोल्दा यी बाहिरका त काठ, माटो, ढुंगा, रड, सिमेन्ट आदिका ढिकुरा पो रहेछन् । त्यो सर्वशक्तिमान् ईश्वर जसलाई हामी जे गर्न पनि सक्ने, गर्दै नगर्न पनि सक्ने, अन्यथा गर्न पनि सक्ने, सर्वत्र व्याप्त रहेको परमरहस्यमय अदृश्य पुरुष ब्ररूम या ईश्वर हो भन्ने गरिएको तत्व आफैंसँग भेटेर परमविस्मित भएछन् ।
सत्ता, शक्ति, इज्जत, प्रतिष्ठा आदिका वृथा चिन्तनमा लागेका यस पृथ्वीका छातीमा भएका सारा प्राणीभित्र रहेको चित्तत्व नै पो त्यो रहेछ अतः सबै त्यसैतिर लागौं नासवान् वस्तुका पछि नलागौं भन्ने भावको त्यो गीत नै आजको मेरो प्रतिपाद्यविषय हो । त्यसका थायी र अन्तराले भन्छन् :
‘मन्दिर धाएँ, मस्जिद धाएँ, चर्च र गुम्बा धाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ
किनभने-अयमात्मा ब्रहृम अयमात्मा ब्रहृम
अर्थात्
हाम्रो आत्मा नै ब्रहृम, त्यही ब्रहृम नै ईश्वर ।
गएँ हिमालमा, गएँ पहाडमा, गरेँ निकै तपस्या
गएँ तराई भेग, समुद्री क्षेत्र, भयो समस्या
चैत्य र मठमा, गुरुद्वारामा पनि यो शिर निहुँर्याएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ
हाम्रो आत्मा नै ब्रहृम, त्यही ब्रहृम नै ईश्वर ।
अर्थव वेदको चतुर्थ काण्डको ब्रहृमविद्यासूक्त नै मान्डुक्योपनिषत् हो । यस उपनिषत्मा आत्मासूक्तका कुरा आएका छन् । यसभन्दा पहिलो व्याख्या हो ब्राहृमण यसको ब्राहृमण नभेटेको हुनाले पढ्न पाएको छैन । दोस्रो व्याख्या हो आरण्यक । आरण्यक पनि मैले पढ्न पाएको छैन । उपनिषद्हरू वेदको तेस्रो व्याख्याका क्रममा प्रतिपादन भएका ग्रन्थ मानिन्छन् । पहिले संहिता पाठ, अनि ब्राहृमण पठन यसपछि आरण्यक पठन र त्यसभन्दा पछि अति नै मसिनु किसिमले सोचेर बुझेर ऋषिका परिपक्व अन्तरात्मामा ध्वनित भएको ज्ञान नै औपनिषदिक ज्ञान हो । यो ध्वनन आचरण, निदिध्यासन र तपोसाधनाका बलबाट भएको मानिन्छ ।
बहिर्मुखी चेतनाले ब्रहृमानुभव गर्न सक्दैन । यो केबल जीवपालक अभिमानग्रस्त पाशविक अभिलक्षण भएको जैविकत्व मात्र हो । पराजैविक बन्नका लागि समग्र जीवावयवलाई उल्टाएर अन्तर्मुख गराउन सक्नेले मात्रै आफ्नै हृत्केन्द्रमा ईश्वरानुभव गर्न लाग्दछ ।
यसै ज्ञानको सूक्तवाक्य या तेरिजवाणीलाई समातेर हरिमञ्जुश्रीले एउटै थायी पाँचपटक दोहोरिने एउटा वैदिकगान बनाएछन् र आज म त्यसैका पूर्वप्रसंग र उत्तरव्याप्तिलाई समातेर केही कुरा गर्न खोज्दैछु । मान्छे असन्तोषी जीव हो । सबै कुरामा अनन्य हुनुपर्ने रोगले यो सृष्टिको प्रथम निशाबाटै आक्रान्त भयो । यसै वरदान या अभिशापले वेदवेदांग पनि बनायो । चारवेद, ६ वेदांग १४, या १८ विद्या र ६४ कलाका अतिरिक्त जरथ्रुस्त, बुढापेस्ट, मुन्धुम, त्रिपिटक र कुरान तथा बाइबल पनि निर्माण गर्यो । यतिले पनि नपुगेर ब्रहृमाण्ड सिर्जना, विकास र विनाशका समयतिर यसले नजर लगायो । यसै क्रममा ऋग्वेदका पुरुषसूक्त, नदीसूक्त, उषासूक्त, नासदीयसूक्त पनि बनायो ।
ईश्वर कस्तो छ ? कहाँ छ ? के खान्छ ? के लाउँछ ? भन्नेजस्ता जिज्ञासासँग जुध्दै मान्छे अनेकौं प्राक्कल्पनामा लाग्दाको परिणाम आजको मानव र यसको विश्व हाम्रा अगाडि प्रस्तुत छ । यसो भएका कारणले मठ, मन्दिर, चर्च, गिर्जाघर, गुम्बा आदि कतै मान्छेले परमनिदान फेला पार्न नसकेर एकथरी मान्छे आत्मानं शततं विद्धि भन्न पुगे । यसलाई अनुभव गरेपछि यसले उद्घोष गरे अयमात्मा ब्रहृम । अर्थात् यो आत्मा नै ब्रहृम हो । ब्रहृम अदृश्य मात्रै छैन अनुभूय पनि छ । ब्रहृमभन्दा सूक्ष्म र ऊ भन्दा परम शक्तिशाली यथाकर्तुमन्यथाकर्तुमकर्तुमपि यः सक्नोति स एव ब्रहृम छ । गाईका ठाउँमा गाई नै बनाउन या राख्न र गाईका ठाउँमा गधा राख्न या बनाउन र केही नगरीकन चुपचाप बस्न र हुँदै नभएका उट्पटयाङ काम गर्न पनि जो समर्थ छ त्यो नै ब्रहृम हो ।
प्राणीका आभ्यन्तरमा रहेको यो अगोचर अंगुष्ठ प्रमाणको आत्मा पनि यसो गर्न सक्छ । हाम्रै देशको कुरो गर्दा बी.पी.कोइरालाको आत्मा, सुशील कोइरालाको आत्मा र शेरबहादुरको आत्मा त एकै होला पनि तर यिनका कृत्य, सामथ्र्य र चाहनामा अर्थात् (इच्छा) शक्तिमा कत्रो विराट् अन्तर देखिन्छ । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका आत्मा पनि सजाति नै थिए तर तिनकै उत्तराधिकारी माधव नेपाल, केपी ओली र झलनाथ खनालका बौद्धिक क्षमता, चिन्तन, आचरण र क्रियाकलापमा भैंसी र भुसुनाको अन्तर किन ? हो, यो ब्रहृमचरित्र हो सबै एकै हुँदैनन् न त उस्तै हुन्छन् भएका दिन सृष्टि सिद्धिन्छ । यसैले संकल्प र क्रियान्वयनमै सहज अन्तर ल्याउने तारतम्य गोप्य रूपले मिलाउने बहादुरलाई नै हामी विधि भन्छौं । वेदले यसैलाई ऋत भन्छ । अर्को साधारण शब्दमा भन्दा स्वचालितप्रक्रिया भन्न सकिन्छ ।
यत्र तत्र सर्वत्र व्याप्त ब्रहृम
जसरी अग्नि, वायु, वरुण, आकाश व्याप्त छ त्यसैगरी ब्रहृम पनि ब्रहृमाण्डमा व्याप्त छ । भित्र-बाहिर, तल-माथि, वर-पर सर्वत्र छ तर देखिंँदैन । हात्ती, चण्डाल, ब्राहृमण र कुकुरमा मात्रै होइन हृवेल, डाइनासोर, भुसुनु, झुसिलेसम्मलाई मृत, जीवित बनाउने तत्व त्यही ब्रहृम हो जब त्यो भुसुनाबाट निक्लन्छ अनि भुसुनु पनि मर्छ । हात्ती, हृवेल र झुसिले त्यो निक्लेपछि मर्छन् ।
अच्छेद्योद्रयमदाहृयोद्रयमक्लेद्योद्रशोष्य एव च (गीता,२.२४)। यो काटिँदैन, यसलाई आगाले डढाउँदैन, पानीले भिजाउन सक्दैन र हावाले सुकाउन पनि सक्दैन ।
स हि दिवः स पृथिव्या ऋतस्था मही क्षेमं रोदसी अस्कभायत् । महान् मही अस्कभायद् वि जातो द्यां सद्म पार्थिवं च रजः (अथर्व, काण्ड ४, सूक्त १, मन्त्र ४) । त्यही ब्रहृम, द्युलोक र पृथ्वीलोकमा पनि व्याप्त भएर रहेको हुन्छ । शाश्वत् सत्यका नियमलाई अँगालेर उनै (ब्रहृम)ले द्युलोक र पृथ्वीभित्र आफूलाई व्याप्त गराएका हुन्छन् । यसैबीचमा ती (ब्रहृम) उत्पन्न भएर द्युलोक र पृथ्वीलोक रूपी आफ्ना गृहलाई उद्भाषित (प्रकाशित) गर्दछन् । अतः यो आत्मा पार्थिवजीवदेखि द्युलोकीय जीव तथा वनस्पत्यादिमा समेत आव्याप्त भएको हुन्छ । यसैले विज्ञानीहरू समग्र पार्थिव तत्वलाई लिभिङ थिङस् र ननलिभिङ थिङ्स भन्छन् भने ज्ञानीहरू (ब्रहृमादेखि भुसुनासम्म सबका घटमा रहने टम्म) भन्छन् ।
डुलेँ ‘स्व’ देशमा घुमे विदेशमा गाउँशहर चहारेँ
गुफा गुफामा, वनजंगलमा चारैतर्फ नियालेँ
मन्त्र पढेँ अनि मूर्ति पूजेँ र पूजा भजन लगाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ ।।
वेद, त्रिपिटक, मुन्धुम पढ्दै पढेँ कुरान र बाइबल
जति पढ्दा पनि शान्ति भएन, मन भो सदैव खलबल
अल्लाह येसु र बुद्ध मुहम्मद तीर्थंकर हरि गाएँ
आखिर मैले ईश्वरलाई आफूसँग नै पाएँ । मन्दिर धाएँ... त्यही ब्रहृम नै ईश्वर ।।
हो, बहिर्मुखी चेतनाले ब्रहृमानुभव गर्न सक्दैन । यो केबल जीवपालक अभिमानग्रस्त पाशविक अभिलक्षण भएको जैविकत्व मात्र हो । पराजैविक बन्नका लागि समग्र जीवावयवलाई उल्टाएर अन्तर्मुख गराउन सक्नेले मात्रै आफ्नै हृत्केन्द्रमा ईश्वरानुभव गर्न लाग्दछ ।... हृद्देशेद्रर्जुन तिष्ठति । हे अर्जुन त्यो ब्रहृमाण्डमा व्याप्त ब्रहृम प्रत्येक प्राणीका हृदयमा बसेको हुन्छ । योगशास्त्रका अनुसार यसका पनि दुई अवस्था हुन्छन् । सम्प्रज्ञात समाधि र असम्प्रज्ञात समाधि । सम्प्रज्ञात समाधिबाट व्यासले, शुकदेवले, वशिष्ठ र विश्वामित्रले समाजोपकार गरे । अन्य पनि धेरै ऋषिहरू यस कोटिमा भेटिन्छन् । आदि शंकर, बुद्ध पनि यसै कोटिका चिन्तक हुन् । असम्प्रज्ञात समाधिलाई साधना गरेर लोकोपकार गर्ने महादेव र पार्वतीमात्रै शास्त्रमा रहेका देखिन्छन् ।
अरू जति पनि असम्प्रज्ञात समाधिमा पुगे ती सबै ब्रहृमभूयता पाएर ब्रहृमाण्डमा त्यसरी हराए जसरी बरमुण्डा त्रिभुजमा बडेबडे पानीजहाज र हवाई जहाजको अत्तोपत्तो लाग्दैन । सारा नदीनाला गंगामा र स्वयं गंगा पनि सागरमा अन्तर विलीन भए जस्तै बन्छन् । अर्थात् ब्रहृममा नै लीन गराउँछ असम्प्रज्ञात समाधिले । महादेव र पार्वती स्यम्भू, स्वयमेव परात्पर ब्रहृम एवं त्यो जगन्नियामक ब्रहृमकी वामावर्तिनी शक्ति भएकी हुनाले यो ब्रहृमाण्डमा नानारूपावयवले तिनै दुई व्याप्त छन् प्रकृति र पुरुषका रूपमा । अद्र्धनारीश्वरको रहस्य पनि यही नै हो । प्रत्येकनारीमा ईश्वर अनि प्रत्येक पुरुषमा आद्यशक्ति पार्वती रहेकी हुन्छिन् । अन्य सारा देवीदेवता यिनकै प्रकार्यात्मक विभिन्न अवस्थाका स्वरूपमात्र हुन् । ॐ खं ब्रहृम/अयमात्मा ब्रहृम ।







हाम्रै देशको कुरो गर्दा बी.पी.कोइरालाको आत्मा, सुशील कोइरालाको आत्मा र शेरबहादुरको आत्मा त एकै होला पनि तर यिनका कृत्य, सामथ्र्य र चाहनामा अर्थात् (इच्छा) शक्तिमा कत्रो विराट् अन्तर देखिन्छ । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका आत्मा पनि सजाति नै थिए तर तिनकै उत्तराधिकारी माधव नेपाल, केपी ओली र झलनाथ खनालका बौद्धिक क्षमता, चिन्तन, आचरण र क्रियाकलापमा भैंसी र भुसुनाको अन्तर किन ?