काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरूको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्री स्टाटस रिपोर्ट (आइएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगको मागमा कमी आएको देखाएको हो ।
गत वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामूलक उद्योगको संयुक्त रूपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको सिएनआईले जनाएको छ ।
सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगले अझै पनि जेनेरेटर प्रयोग गर्दै आएको जनाएका छन् ।
सो अवधिमा उद्योगहरूको आयमा समेत ह्रास आएको पाइएको छ । सर्वेक्षणमा सहभागी उद्योगीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका हुन् । अघिल्लो त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास आएको उनीहरूले बताएका छन् । माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कुल उद्योगमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेकोसमेत जनाएका छन् ।
उद्योगीले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगले अझै पनि जेनेरेटर प्रयोग गर्दै आएको जनाएका छन् । जसका कारण उत्पादन लागत १२.८९ प्रतिशतले बढेको बताइएको छ । सर्वेक्षणमा सहभागी उद्योगले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । जुन अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याजदर ११.२८ रहेको जनाइएको छ ।







Breaking news with related posts