
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुन लगायतका विपद् पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री लेखकले विपद्मा परेर मृत्यु भएकाका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रूपमा अघि बढाइएको जानकारी दिनुभएको हो । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट तीन हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । विपद्मा परेर १३३ जनाको मृत्यु भएको र घाइते १४४ मध्ये पाँच जनाबाहेक सबै उपचार गरी घर फर्किएको जानकारी दिँदै गृहमन्त्री लेखकले भन्नुभयो, ‘यस वर्षको मनसुन सुरु भएको २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका एक हजार ५९२ घटना भएका छन् । जसमध्ये हालसम्म १३३ जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन् । ४८ जना बेपत्ता भएका छन् । त्यसैगरी, ५९४ पशु चौपायाको नोक्सानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुल बगेका छन्/भत्केका छन् । दुईवटा सरकारी भवन भत्किएका छन् । चार हजार चार परिवार विस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये एक हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन् । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।’
गृहमन्त्री लेखकले अधिकांश विपद्का घटनामा नेपाली सेनासमेत खोज र उद्धारमा खटिएको जानकारी दिनुभयो । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध गरिएको, मृत्यु भएका १३३ जनामध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । बाँकी परिवार राहत रकम पाउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसद्लाई जानकारी दिनुभयो ।
पूर्वमन्त्रीले पाँच हजार घुस दिएको विषयमा छानविन गर्न निर्देशन
गृहमन्त्री रमेश लेखकले पाँच हजार रुपैयाँ घुस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानविन गर्न निर्देशन दिनुभएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सांसद महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई पाँच हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानविन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी दिँदै भन्नुभयो, ‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानविन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’ यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले पाँच हजार रुपैयाँ घुस दिएर काम गराएको बताउनुभएको थियो ।
यसअघि मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले एउटा पूर्वमन्त्री र बहालवाला सांसदले सर्टिफिकेट प्रमाणित गर्न पाँच हजार रुपैयाँ घुस दिनुपरेको विषयबारे सम्बन्धित मन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीले तीन दिनभित्र संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नै ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको स्मरण गर्दै केसीले भन्नुभयो, ‘यो भ्रष्टाचार हो कि होइन ? पाँच हजार घुस खाएको कुरा संवेदनशील हो यसलाई नजरअन्दाज गर्न मिल्दैन । एउटा मन्त्री र सांसदले घुस दिनुपर्ने हो भने सर्वसाधारण जनताको अवस्था के होला ?’
शिक्षा मन्त्रालयद्वारा छानविन गर्न समिति गठन
पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालका अनुसार समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य हुनुहुन्छ । मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनेको छ ।
पूर्वराज्यमन्त्री रायको हत्याबारे अनुसन्धान जारी
गृहमन्त्री लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताउनुभएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधि सभामा प्रश्न उठेपछि मंगलबार गृहमन्त्री लेखकले जवाफ दिनुभएको हो । घटना हुनुअघि घरमा आएका तीनजना शंकास्पद व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिँदै गृहमन्त्रीले भन्नुभयो, ‘उहाँको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ । घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय रामउजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०÷४५ उमेरका तीनजना व्यक्तिहरू आएको र जग्गाको कुरा कहिले मिलाइदिने भनेका छन् । तीनजना फरारको खोजतलास जारी छ ।’ मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
प्रचण्ड र रवि राज्यव्यवस्था समितिमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यव्यवस्था तथा सुशासन समिति रोज्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा मनोनयन र हेरफेर गर्नुभएको हो । पूर्णबहादुर खड्का, राजेन्द्रकुमार राई पनि सोही समितिमा हुनुहुन्छ । रमेश लेखक गृहमन्त्री बनेपछि कांग्रेसको तर्फबाट संसदीय सुनुवाइ विशेष समितिको सदस्यमा प्रमुख सचेतक श्यामकुमार घिमिरे सदस्य बन्नुभएको छ । रास्वपाले डा.स्वर्णिम वाग्लेलाई हटाएर डोलप्रसाद अर्याललाई संसदीय सुनुवाइ विशेष समिति सदस्य बनाएको छ । त्यस्तै, पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य हुनुभएको छ । हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य हुनुभएको छ । रघुवीर महासेठ उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शक्तिबहादुर बस्नेत पूर्वाधार विकास समिति, रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समिति, हरि ढकाल सार्वजनिक लेखा समिति र मीना यादव कृषि सहकारी समितिको सदस्य बन्नुभएको छ ।
आरजुको बचाउ गर्दै कांग्रेस सांसदको आक्रोश
नेपाली कांग्रेसकी सांसद शान्ति विकले परराष्ट्रमन्त्री आरजु राणाको चरित्र हत्या गरिएको भन्दै आक्रोश पोख्नुभएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र रास्वपाका सांसदमाथि आक्रोश पोख्दै भन्नुभयो, ‘कुनै पनि महिलाको बिना प्रमाण चरित्र हत्या गर्नु गलत हो । यसले महिलाको आत्मसम्मान र मर्यादालाई चोट पुर्याउँछ । यो एक प्रकारको मानसिक हिंसा हो । परराष्ट्रमन्त्री आरजु राणा आरोपित प्रमाण भएझैँ संसद्मा बारम्बार सवाल उठाइएको छ । उहाँ पनि दुर्गम क्षेत्रमा महिला र बालबालिकाका लागि काम गरेको व्यक्तित्व हो । तर, मिडिया ट्रायल गरी–गरी महिलाको चरित्र हत्या गरियो ।’ आइतबारको संसद् बैठकमा रास्वपा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्नुपर्ने राणालाई परराष्ट्रमन्त्री बनाइएको भन्दै व्यंग्य गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच