
झापा । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्वोले यदि संघीय लोकतान्त्रिक गणतन्त्र माथि कहिँ कतै खतरा छ भने तीन दलका तीन शीर्ष नेतबाटै खतरा भएको बताउनु भएको छ ।
'संविधान निर्माणपछि तीन ठूला दलका तीन शीर्ष नेता पालैपालो प्रधानमन्त्री बन्नुभयो ' झापाको बिर्तामोडमा सोमबार आयोजित देवकुमार आचार्यको २१ औँ स्मृतिसभामा नेता आङ्वोले भन्नुभयो, 'अहिले पनि संघीयता र संविधानको पूर्णकार्यान्वयन भएको छैन, यस्तो अवस्थामा व्यवस्था माथि खतरा छ भने उहाँहरुबाटै छ ।' तीन शीर्ष नेतामा संघीयता कार्यान्वयन गर्ने इच्छा शक्ति नहुनु दुखद पक्ष भएको उहाँको टिप्पणी छ ।
गणतन्त्र ल्याउन अग्रणी भूमिका निर्वाह गर्नुभएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कार्यान्वयन चुकेको आङ्वोको ठम्याइ छ । 'गणतन्त्र आएपछि बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भएपनि थोरै समय मात्रै हुनुभएको र धेरै समय दाहाल, देउवा र ओली नै प्रधानमन्त्री भएकोले संघीयता र संविधानको पूर्णकार्यान्वयन नहुनुमा उहाँहरुकै दोष बढी भएको उहाँको भनाइ छ ।
माओवादीका केन्द्रीय सदस्य समेत रहनु भएको उहाँले अहिलेको व्यवस्थालाई कसैले पनि बाङ्गो आँखाले हेर्न नहुने बताउनुभयो । 'अहिलेको व्यवस्थासँग व्यक्तिगत समस्या गौण हुन्छन्, दाँज्न नै मिल्दैन' उहाँले भन्नुभयो,'सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारका समस्या जटिल छन्, यसको व्यवस्थापन यही व्यवस्था र संविधानबाट गर्ने हो, समस्याको हल गर्न नसक्नु व्यवस्थाको होइन, व्यक्तिको दोष हो ।" व्यवस्था परिवर्तन गर्न योगदान र बलिदान गर्नेलाई सम्मान गर्न राज्यले नसकेको उहाँले बताउनुभयो ।
२००७ सालमा एउटा सामन्तको हातबाट अर्को अर्को हातमा व्यवस्था हस्तान्तरण गर्नेदेखि बाहेक कुनै परिवर्तन नभएको तथा कांग्रेसले गरेको सशस्त्र क्रान्ति र शान्तिपूर्ण आन्दोलनले ०४६ सालमा प्रजातन्त्र मात्रै ल्याएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,'माओवादीको दस वर्षे सशस्त्र आन्दोलन र ०६२ / ०६३ को आन्दोलनले देशमा वंशवादको अन्त्य गर्यो, व्यवस्था परिवर्तन भयो।' व्यवस्था परिवर्तनसँगै अधिकार विकेन्द्रीत भएको उहाँको भनाइ छ ।
संघीयताको प्रारम्भिक चरणमा रहेको दोहोर्याउनु भएको नेता आङ्वोले अमेरिकामा ३० र भारतमा संघीयता कार्यान्वयन गर्न ५० लागेको दृष्टान्त सुनाउनुभयो । 'संघीयता संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न समय लाग्छ ' उहाँले भन्नुभयो, 'राज्य व्यवस्था परिवर्तन हुनु गर्वको विषय हो, संघीयता संस्थागत र संविधान कार्यान्वयन भएपछि व्यक्तिगत समस्या आफैँ हल हुन्छ।'
संघीयता र संविधान पहिला कार्यान्वयन गर्ने अनि सुधार्ने प्रक्रिया सुरु हुने उहाँको निष्कर्ष छ । अहिलेको सत्ता समीकरणबाट आफू बेखुसी नरहेको बताउनु भएको उहाँले कांग्रेस र एमाले मिल्दा पनि देश र जनताका समस्या नसुल्झिए जटिल अवस्था आउने चेतावनी दिनुभयो ।
राजनीतिक, वित्तीय, प्रशासनिक गरी संघीयताका तीन तह उल्लेख गर्नु भएको आङ्वोले संघमा रहेको नीतिगत भ्रष्टाचारकै कारण स्थानीय तहमा भ्रष्टाचार मौलाएको जिकिर गर्नुभयो।
कोशी प्रदेशका पूर्वअर्थमन्त्री समेत रहनु भएको आङ्वोले देशको आर्थिक स्थिति ऋण काढेर तिर्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले आफू एमसीसी र बिआरआईको पक्षमा रहेको बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच