काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘तेल भिसा’ सम्पर्ण छायांकन पूरा भएको छ । छायांकन प्रारम्भ भएको ३५ दिनमा चलचित्रको ‘इण्डक्ल्याप’ गरिएको हो । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको यो चलचित्रको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।
चलचित्रको इण्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित हुनुहुन्थ्यो । दाहालले चितवनको भरतपुरमा चलचित्र छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै ‘तेल भिसा’ लाई सफलताको शुभकामनासमेत दिनुभएको थियो । यो चलचित्रबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैै हुनुहुन्छ । यसअघि उहाँले ‘विष, विरताको चिनो, ब्रेकफेल तथा तुलसी’ लगायतका चलचित्र निर्माण तथा निर्देशन गर्नुभएको थियो । यो चलचित्रमा अभिनेता विपिन कार्की पहिलोपटक दोहोरो भूमिकामा देखिन लाग्नुभएको छ ।
चलचित्रमा विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा विपिनसँगै वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन छ ।






