✍️ विमल भौकाजी
‘एब्स्ट्रयाक आर्ट’ भनिएका चित्रहरूको अर्थ खोज्ने सामान्य मान्छेहरूलाई तत्चित्रकारहरूले बताउने गरेका छन्- ‘चित्र हेर्दा जे बुझिन्छ, त्यही हो अर्थ ।’ तर, अलिक साहित्यिक मान्छेहरूले अझ खास गरेर उत्तरआधुनिक कविता लेख्नेहरूले यस्तो जिज्ञासा राखे भने त्यसको चाहिँ प्रतिप्रश्नात्मक जवाफ यस्तो हुन्छ-‘तिमीहरूले लेख्ने कविताको अर्थचाहिँ के हो नि ?’ र, उत्तरआधुनिक कविले सहजै भन्लान्-‘मेरो त कविताको अक्षर बोल्छ, त्यहीँ हुन्छ अर्थ ।’ तत्काल चित्रकारले पनि पक्कै प्रतिक्रिया दिइहाल्लान्- ‘तिम्रो अक्षर बोल्छ भने मेरो एब्स्ट्र्याक आर्टमा पनि रङले बोल्छ, त्यही रङमा हुन्छ अर्थ ।’
उपर्युक्त आधारमा भन्नुपर्दा, साहित्य वा कलाको अर्थ बुझ्ने आधार ‘बुझाइ’ मा भर पर्छ । अर्थात्, जसले पनि आ-आफ्ना किसिमले त्यसलाई अथ्र्याउन सक्छ । तर, यसको अर्थ यो होइन कि त्यो अथ्र्याइमा सत्य लुकोस् । यस हिसाबले, एब्स्ट्रयाक आर्ट र उत्तरआधुनिक कवितालाई मनपरि अथ्र्याउन मिल्दैन । यहाँ सन्दर्भ छ- कविताको । कविता धेरैले लेखेका छन् । त्यसमा पनि सामान्यतः नबुझिने खालका कविताहरू प्रायः लेख्ने गरिन्छ । जस्तो कि- मोहन कोइरालाको ‘फर्सीको जरा’ । यसलाई बुझ्न निकै कठिन छ । स्पष्ट छ, बिम्ब वा प्रतीकको बढी प्रयोगले त्यस खालको कविता दुरुह बनेको हो । तर, जब त्यसको अर्थलाई अनुभूत गर्न सकिन्छ, त्यसले दिने सन्तुष्टिलाई शब्दमा व्यक्त गर्न सकिन्न ।
जन्मेको बेला उनी पनि अरू शिशुझैँ रोए, त्यो रुवाइ अरू शिशुको भन्दा फरक थिएन । तर, पछि, त्यो रुवाइ कवि-बिम्बमा बदलियो र बदलिँदा सारङ्गीको आवाज बन्यो । सारङ्गीको धुनलाई यसरी अर्को पृथक् आवाजसँग जोड्नु सक्ने कौशलले गर्दा नै यो विशेष कविता बन्यो ।
कवि रमेश श्रेष्ठ पनि आफ्ना कवितामा बढीभन्दा बढी बिम्ब प्रयोग गर्छन् । पछिल्लो उनको कवितासङ्ग्रह ‘मलामी पहाड र सारङ्गी’ भित्रका कविताहरूले पनि यो परम्परालाई कायम राखेका छन् । त्यसो त, रमेश साहित्यिक फाँटमा ‘बिम्ब कवि’ कै रूपमा सम्बोधित हुन्छन् । त्यसमाथि उनी रङसँग खेल्ने कलाकार पनि हुन् । रङ र अक्षरको समायोजन भएकाले पनि उनको कविताहरूमा बढी विम्ब पोखिनु स्वाभाविक छ । जस्तो यो सङ्ग्रहभित्रको ‘सारङ्गी-७’ शीर्षकमा उनको बिम्बात्मक कवितामा उनले भनेका छन्-
‘घाउ छैन
जताततै दुखाइ मात्र छ,
आवाज छैन
मात्र ओठहरूको अट्टहास मात्र छ
न दिन आफ्नो अञ्जुलीमा छ
न रात आफ्नो पोल्टामा छ ।’
भन्नै परेन, यहाँ ‘सारङ्गी’ बनाएर मान्छे-बिम्ब देखाइएको छ । त्यसो त, किताबभित्रको आधाजसो भागमा सबै नै ‘सारङ्गी’ शीर्षकका कविता रहेका छन्, जसअन्तर्गत १७ वटा कविता रहेका छन् भने पुस्तकको अघिल्लो भागमा ‘मलामी पहाड’ शीर्षकमा अत्यन्तै छोटा-छोटा ६१ वटा कविता रहेका छन् । सङ्ग्रहको एउटा विशेषता के हो भने दुवै भागका कविताहरू छुट्टाछुट्टैजस्तो लागे पनि वास्तवमा ती सबै एक-आपसमा पूरक छन् ।
मूलतः पुस्तकको नाम ‘मलामी पहाड र सारङ्गी’ राखिनुको औचित्य खोज्ने हो भने त्यसको पुष्टि कविकै भनाइबाट मिल्छ । उनको भनाइ रहेको छ- ‘म जन्मँदा सारङ्गीजस्तै रुँदै जन्मिएको कुरा मैले आमाबाट थाहा पाएको थिएँ ।’ जन्मेको बेला उनी पनि अरू शिशुझैँ रोए, त्यो रुवाइ अरू शिशुको भन्दा फरक थिएन । तर, पछि, त्यो रुवाइ कवि-बिम्बमा बदलियो र बदलिँदा सारङ्गीको आवाज बन्यो । सारङ्गीको धुनलाई यसरी अर्को पृथक् आवाजसँग जोड्नु सक्ने कौशलले गर्दा नै यो विशेष कविता बन्यो । अर्थात् बिम्ब-कविता बन्योे ।
शिशु अनभिज्ञ हुन्छ । यो स्वाभाविक कुरो हो । जब शिशुको शारीरिक र मानसिक अवस्था वृद्धि हुँदै जान्छ, उसले नयाँ-नयाँ कुरा सोच्दै जान्छ, सिक्दै जान्छ । त्यसमाथि, ऊ कवि-हृदयको भयो भने शब्दहरूसँग आफैँ खेल्न थाल्दछ, जुनसुकै विषयमा र खास गरेर संवेदनाका विषयमा अग्रसर हुन थाल्दछ । सबैभन्दा बढी एउटा कविलाई आफ्नो बाल्यावस्थाले बढी प्रभाव पारेको हुन्छ । अझ, अनभिज्ञ शिशु-अवस्थाको परिकल्पनाले उसलाई झन््बढी आन्दोलित तुल्याउँछ ।
यतिसम्म कि यहाँ कवि रमेश आमाको पाठेघरको वर्णन गर्छन् । पाठेघरलाई उनी सर्वशक्ति मान्छन् । र, त्यहाँभित्रको भ्रूणलाई ज्वालामुखी मान्छन् । बडो दर्दनाक कल्पना गर्न पुग्छन् कवि, प्रकृतिले नारीको आविष्कार गरेदेखि नै जोडिएर आएको पाठेघर-सत्यको । पाठेघरको कुनै इतिहास छैन, वर्तमानमा जे छ त्यही नै हो सत्य, जो अनन्त वर्षदेखि (करोडौं भनिए पनि) जन्मनेहरू पाठेघरसँग लड्दै आएको छ । ती रगतको हतियारले इतिहास लेख्न खोज्छन् । तर, पाठेघरको अर्को नाम मातृत्व ! ऊ दूधको धारले गीत गाउँछ ।
कवि भन्छन्-साह्रै गाह्रो हुन्छ आमाहरूको पूरा गीत लेख्न । अन्तहीन छ आमाको सङ्गीत । त्यसैले त कविहरू मौनतामै गीत गाउँछन् कविहरू, पर्वत बनेर । पर्वत;रू कुनै होचा, कुनै अग्ला सगरमाथाजस्ता । कवि रमेश, जो पृथ्वीको कविता लेख्न खोज्छन् उनी पनि त्यही पर्वत बनेको अनुभूति गर्छन्-
‘...पृथ्वीको कविता लेख्न
पसिनाले भिजेर
मुस्कुराइरहेको
त्यो दिन
पहाडहरूका हातहरूले
आकाश छोएपछि
मभित्रको कवि पहाड भयो ।...’
शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले कवि रमेशको लेखनका बारेमा पुस्तकमा लेखेका छन्- ‘समयको आँखामा उभिएर कलात्मक काव्यका लागि नव बिम्बहरू निर्माण गर्न सक्ने उनको क्षमता वास्तवमै लोभलाग्दो छ । यसरी नै नेपाली काव्यको फाँट भरिँदै जानेछ ।...’
हो, समय आँखा हो, आँखाले देखेकोजति सत्य अर्को के छ ? मान्छे जन्मँदाको उत्सव, अर्को चरणमा जन्ती, सन्तानको खुशी र अन्ततः मृत्युमा मलामी, बस्जीवनका यिनै चरणहरू त हुन् मानव-सभ्यताको सत्य । कवि रमेश श्रेष्ठले सारङ्गीको धूनको बिम्बमा रोएको पीडा-अर्थ र खुशीको सङ्गीत-अर्थ; दुवै स्पष्ट पहिल्याएका छन् । अर्थात्, यसरी पनि बुभल्न सकिन्छजीवनलाई ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता