काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ । नेपालका सरकारी निकायमा बसेर सूचना प्रविधि क्षेत्रको खरिदमा घुस तथा कमिसनको जालो फैलाएको आरोप लागेका पौडेलविरुद्ध अहिले राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको अभियोगमा विभागले पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ४४ वर्षीय पौडेलको सिंगापुरको बैंक खातामा ५८ हजार अमेरिकी डलर भेटिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा छानबिन गर्ने क्रममा यो तथ्य फेला परेको थियो । विभागले ५८ हजार अमेरिकी डलरको हिसाबले हुन आउने ७७ लाख ४५ हजार ९ सय रूपैयाँ बिगो कायम गरी त्यसको तेब्बर रकम जरिवाना गर्नुपर्ने मागदाबी अदालतमा गरेको छ । पौडेल दोषी ठहर भएमा उनीबाट दुई करोड ३२ लाख ३७ हजार रूपैयाँ जरिवाना असुल गर्नुपर्नेछ ।
अख्तियारको छानबिनअनुसार, पौडेलले नेपालका सार्वजनिक निकायमा खरिद हुने सूचना प्रविधिसम्बन्धी ठेक्कावापत् सिंगापुरको बैंक खातामा घुस र कमिसन जम्मा गर्न लगाउने गरेका थिए ।
अख्तियारले उनका विरूद्ध विशेष अदालतमा तीन वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । तीमध्ये एउटामा दोषी ठहर भइसकेका छन् भने दुई वटा मुद्दा विचाराधीन छन् ।
काठमाडौं प्रहरीले उनीमाथि लिखतसम्बन्धी कसुर (किर्ते)मा पनि अनुसन्धान गरिरहेको छ । उनले करचुक्तासम्बन्धी कागजात नक्कली बनाएको फेला परेपछि अख्तियारले नै प्रहरीलाई थप अनुसन्धान गर्न पठाइदिएको हो । पौडेलविरुद्ध अख्तियारले नै थप प्रकरणहरूमा अनुसन्धान गरिरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा