काठमाडौं । आगामी असोज ३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘खुस्मा’को पहिलो रोमान्टिक गीत ‘खुशीका फूल बटुलेर’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको संयुक्त गायन छ भने राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंको संगीत छ ।
सुरेन्द्र राईको कोरियोग्राफीमा तयार भएको गीतमा चलचित्रका मुख्य अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड हुनुहुन्छ । निर्देशक तथा लेखक अशोक थापामगरले चलचित्रमा यो गीतलाई कथावाचनको रुपमा समावेश गरिएको बताउनुभएको छ ।
मगर समुदायको पृष्ठभूमिमा बनेको चलचित्रमा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजता राई, राज थापा काउचा, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापा मगर, सारा राई, विवेश मगर, दुईसाङ थिङ, श्वेता मिश्र, अरुण पुनमगर लगायतका कलाकरको अभिनय छ ।
वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर निर्माता रहेको चलचित्रमा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता रहनुभएको छ भने मोहन राई कार्यकारी निर्मातामा हुनुहुन्छ । गोविन्द शाहीले वितरण गर्न लागेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगर स्वयंको शब्द रचना छ ।






