
सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिरमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताको तयारी स्वरूप विभिन्न खेल गतिविधि सञ्चालन हुनुका साथै खेलकुद भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन् । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगितामध्ये २४ वटा खेलहरू कर्णालीमै सञ्चालन गर्न सकिने अवस्था छ ।
सोहीअनुसार २४ वटा खेल कर्णालीमै सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव पेश गरिएको उहाँ बताउनुहुन्छ । मंसिर २ गते उद्घाटन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप खेलकुद पोशाक र खेलकुद गीत निर्माणदेखि खेल प्रशिक्षणका अभ्यासहरूसमेत तीव्र रूपमा भइरहेका छन् । ‘प्रदेश गौरवको आयोजनाअन्तर्गत कर्णाली रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, जिल्ला–जिल्लामा खेल संरचना धमाधम बन्दैछन्,’ उहाँले भन्नुभयो, ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि हामी तयारी अवस्थामा छौँ, अधिकांश खेल सुर्खेतमै र केही खेल अन्य जिल्लामा सञ्चालन गर्ने तयारी छ ।’
सदस्य-सचिव सञ्ज्यालका अनुसार प्रदेश गौरवको आयोजनाअन्तर्गतको कर्णाली रंगशाला निर्माणको ९० प्रतिशत काम सकिएको छ । बाँकी अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी तीव्र काम भइरहेको छ । यो रंगशाला १०औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी निर्माण थालिएको थियो । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि कोरोना महामारीलगायतका कारण निर्माण सम्पन्न हुन केही ढिलाइ भएको हो । प्रदेश रंगशाला कर्णाली सरकार स्थापनाकालदेखि अहिलेसम्मको एकमात्र गौरवको आयोजना हो । यो रंगशालाभित्र मात्रै १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार हुँदैछन् ।
सदस्य-सचिव सञ्ज्यालले थप्नुभयो, ‘लकडाउनकै कारणले रंगशाला निर्माणको काम सम्पन्न हुन केही ढिलाइ भएको हो तर त्यसलाई पनि मेक अप गर्ने गरी रफ्तारमा काम गरिरहेका छौँ ।’ १० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम गर्न बाँकी नै छन् ।
अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । त्यो काम ६ महिनाको अवधिमै सकिएको थियो । सञ्ज्यालका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउनेलगायतका काम पनि बाँकी छन् । यस्तै झ्यालढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन बाँकी नै छ । यी सबै काम साउन र भदौ महिनामा जुनसुकै हालतमा सम्पन्न गरिने उहाँको दाबी छ । २०८० असारसम्म रंगशाला निर्माणको ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
अहिलेसम्म एक अर्ब ४४ करोड बराबरको रकम निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ । दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्विमिङ पुल, छाना लगाउनेबाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम सम्पन्न हुन बाँकी छ । यी काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउनुहुन्छ । आउटडोर मोडमा बास्केट बल, भलिबललगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ ।
२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशालाको शिलान्यास गर्नुभएको थियो । ३० महिनाभित्र अर्थात् ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ०७८ कात्तिक २८ गते एमएसी–जिएसएल जेभी काठमाडौंले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको थियो ।
यद्यपि विविध कारणले रंगशालाको काम समयमै सम्पन्न हुन नसकेकाले अब केही महिनाका लागि म्याद थप गरी छिट्टै काम सक्ने तयारी छ । रंगशालाका कारण मंसिरमा हुने १०औँ राष्ट्रिय खेलकुद आयोजनामा कुनै असर नपर्ने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सञ्ज्याल बताउनुहुन्छ । उहाँका अनुसार रंगशालाका अधिकांश भित्री काम पूरा भइसकेको भन्दै बाहिर देखाउनका लागि चिटिक्क पार्नमात्र बाँकी छ । काम सकेर पनि खेलाडीले केही महिना रंगशालामा प्रशिक्षण गराउने तयारी छ । इतिहासमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीमा सञ्चालन हुन लागेको छ । तर, कर्णालीलाई अनुुभवको अभाव छ ।
भौगोलिक विकटताले गर्दा पनि सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । तर, परिषद्का सदस्य-सचिव सञ्ज्याल खेल पूर्वाधारको अभावका कारणले खेलकुद प्रतियोगिता नरोकिने बताउनुहुन्छ ।
धमाधम खेल पूर्वाधार बन्दै
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन् । ठेक्का सम्झौताअनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेल पूर्वाधार निर्माण भइरहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्का अनुसार हाल डोल्पा र सल्यानबाहेक कर्णालीका अन्य आठवटै जिल्लामा विभिन्न खेल पूर्वाधार निर्माण भइरहेका छन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारी स्वरूप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन् ।
प्रदेश रंगशालामा फुटबल मैदान, भलिबल कभर्डहल, एथलेटिक्स ट्र्याक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भिआइपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ । प्रदेश रंगशालामै हृयाण्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइँदैछ । हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउँदै अपांगता भएका व्यक्तिका लागि पारा खेल पूर्वाधारसमेत निर्माण गर्ने तयारी रहेको परिषद्ले जनाएको छ ।
खेलकुद विकास परिषद्का अनुसार सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा धमाधम खेल पूर्वाधार बनिरहेका छन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेलमैदानको प्रयोग गर्ने गरी जिल्ला-जिल्लामा खेल पूर्वाधार निर्माण थालिएको हो । ती मैदानहरूलाई विकल्पका रूपमा राखिनेछ । वैकल्पिक मैदानहरूमा खेल तालिकाअनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।
जसअन्तर्गत कालिकोट र जाजरकोटमा कभर्डहल निर्माणको बहुवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ । मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ । दैलेखमा उपभोक्ता समितिमार्फत् कभर्डहल मर्मत गरिएको छ ।
यस्तै हुम्लामा एक करोड ५० लाख लागतमा हकी खेलमैदान निर्माण गरिएको छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिबल खेलमैदान तथा प्याराफिट निर्माणको काम जारी छ । जिल्ला खेलकुद विकास समिति रूकुम पश्चिमका अनुसार त्यहाँ पनि कभर्डहल मर्मत गरिएको छ । मुसिकोटमा रहेको कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत् भएको हो ।
यस्तै, सुर्खेतको चिसापानीमा फुटबल मैदान निर्माण भइरहेको छ । १०औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा कालिञ्चोक क्रिकेट मैदान निर्माणको काम अन्तिम तयारीमा छ । वीरेन्द्रनगरमा देउडा पार्कसहितको अर्को क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको रंगशालामा संरचना निर्माणको ठेक्का जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच