झापा । एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुने पक्का भएको छ। योसँगै सो पार्टीबाट मन्त्री बन्नेको चर्चा उत्कर्षमा पुगेको छ । त्यसको चर्चा झापामा थप चुलिएको छ ।
झापाबाट कोको मन्त्री बन्छन्, चर्चा हुनु स्वभाविक नै हो । किनकि, केही घण्टाभित्रै झापाली नेता एमाले अध्यक्ष ओली चौथोपटक मुलुकको प्रमुख कार्यकारी बन्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीको गृहजिल्ला झापाबाट नेकपा एमालेले तीन नयाँ अनुहारलाई मन्त्री बनाउने निश्चित प्रायः भएको छ । झापाबाट देबेन्द्र दाहाल , सुनिता बराल र लालप्रसाद साँवा ( एलपी ) लाई मन्त्री बनाउने विषयमा छलफल चलिरहेको एमाले नेताहरूले बताएका छन् ।
तीनजनाको नाममा पार्टीमा छलफल भएपनि औपचारिक निर्णय भने भइनसकेको एमाले झापा अध्यक्ष प्रेम गिरीले बताउनुभयो । यद्यपि, उहाँहरू मन्त्री बन्ने पक्का जस्तै भइसकेको छ ।
उहाँहरूले सम्हाल्ने मन्त्रालयको टुङ्गो लाग्न मात्रै बाँकी रहेको बुझिएको छ । उहाँहरुको नाममा छलफल भएको बताएर एमाले झापा अध्यक्ष गिरीले उहाँहरु मन्त्री बन्ने संकेत गर्नुभयो । जिल्लाबाट बन्ने मन्त्रीको विषयमा छलफल र टुङ्गो लगाउने झापाका एमाले नेताहरू काठमाडौँमा हुनुहुन्छ ।
अध्यक्ष ओली आफ्नो "स्पिरिड" अनुसार चल्ने र काम गर्ने व्यक्तिलाई मन्त्री बनाउने योजना हुनुहुन्छ । मन्त्री बनाउन एमालेले अवसर, क्षेत्र, समुदाय लगायत विषयलाई मापदण्ड बनाएको छ । तर, बनाएको मापदण्ड मिचेको आवाज रोक्न उनीहरूको नाम गोप्य राखिएको हुनसक्ने बुझिएको हो ।
झापाबाट मन्त्री बन्ने चर्चामा रहनु भएको दाहाल अहिले राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता हुनुहुन्छ । राष्ट्रियसभा सदस्य दाहाल दुई दशक अघिदेखि एमाले अध्यक्ष ओलीको निकटवर्ती नेता मानिनु हुन्छ। झापा एमालेको अध्यक्ष हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी रहनुभएको दाहाल ओलीको गृहनगर दमकबासी हुनुहुन्छ ।
कांग्रेसका डा. गोपाल कोइरालासँग एकपटक पराजित भएपछि दाहाल काठमाडौँ केन्द्रित हुनुभएको हो। उहाँले ओलीको सचिवालयमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिसक्नु भएकोछ ।
बराल एमालेको समानुपातिक सांसद हुनुहुन्छ । प्रतिनिधिसभामा एमाले सचेतक रहनुभएकाे बराल अनेरास्ववियुको अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा आउनु भएको हो । स्थायी घर भद्रपुरको बिपीचोक भएको बराल राजनीतिमा छिटो प्रगति गर्नु भएको युवा नेता हुनुहुन्छ।
साँवा झापा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँ दोस्रोपटक सो क्षेत्रबाट निर्वाचित हुनुभएको हो। साँवाले २०७९ को निर्वाचनमा कांग्रेस झापा सभापति देउकुमार थेवेलाई पराजित गर्नु भएको हो । दुबैपटक साँवाको प्रतिस्पर्धी कांग्रेस नेता थेवे नै हुनुहुन्थ्यो ।
शिवसताक्षीका स्थायीबासी साँवाले हालसम्म सांसद बाहेक लाभको पदको अवसर पाउनु भएको छैन । साँवा विगतमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष हुनुहुन्थ्यो । जो एमालेको जनवर्गीय संगठन हो ।
नाम उल्लेख नगर्ने सर्तमा ओली निकट एकजना नेताले भने उहाँहरु मन्त्री बन्ने कुरा चर्चा भएपनि "असम्भव " भन्ने सटिक जवाफ दिनुभएको छ । साँवा बाहेक दाहाल र बराल पार्टीको संसदीय फाँटको महत्वपूर्ण जिम्मेवारीमै रहेकोले मन्त्री बन्ने सम्भावना कम रहेको उहाँले संकेत गर्नुभयो।
श्रम तथा रोजगार मन्त्रालय कांग्रेसको भागमा परेकोले पनि साँवा मन्त्री बन्ने सम्भावना कम भएको उहाँको तर्क छ । साँवा वैदेशिक रोजगारीमा अनुभव भएको नेता हुनुहुन्छ । मन्त्री बन्दा साँवा श्रम तथा रोजार मन्त्री बन्ने सम्भावना छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता