कैलाली । कैलालीको धनगढीमा उत्कृष्ट ७ वटा सामुदायिक विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको छ । धनगढी उपमहानगरपालिका र उपमहानगरभित्र सञ्चालित ६८ वटा सामुदायिक विद्यालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मासिक रुपमा उत्कृष्ट काम गर्ने ७ वटा विद्यालयलाई सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । उपमहानगरपालिकाले २०८० चैत्र ८ गते ६८ वटा सामुदायिक विद्यालयहरुहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो।
सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शैक्षिक विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको थियो । ११ वटा मुख्य सूचक र ७२ वटा सहायक सूचक तय गरिएको छ। ती सबै सूचकहरुको पूर्णाङ्क १०० कायम गरिएको छ । उल्लेखित सूचकको आधारमा विद्यालयमा महिनाभरी भए गरेका गतिविधिलाई प्रधानाध्यापकहरुको बैठकका अवसरमा प्रस्तुतिकरण गर्ने काम हुँदै आएको छ ।
उक्त प्रस्तुतिकरणलाई तोकिएको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरेर मासिक रुपमा उत्कृष्ट विद्यालय घोषणा गर्ने गरिएको छ । सोहीअनुसार २०८१ बैशाख महिनाको उत्कृष्ट विद्यालय श्री शारदा माध्यमिक विद्यालय धनगढी-२, लाई सम्मानपत्रसहित १५ रुपैयाँ प्रोत्साहन उपलब्ध गराइएको थियो । २०८१ जेठ महिनादेखि भने तहगत रुपमा तीनवटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषणा गर्ने र उत्कृष्ट घोषणा भएका तीनवटै विद्यालयलाई सम्मानपत्र र १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउन थालिएको छ ।
जेठ महिनामा माध्यमिक विद्यालयतर्फ श्री पञ्चोदय माध्यमिक विद्यालय, धनगढी-५, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री सरस्वती आधारभूत विद्यालय धनगढी-१ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री जनजागृति आधारभूत विद्यालय धनगढी-१५ उत्कृष्ट विद्यालय हुन सफल भएका थिए ।
२०८१ असार महिनामा माध्यमिक विद्यालयतर्फ श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री न्यू कालिका आधारभूत विद्यालय धनगढी-१७ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री राष्ट्रिय आधारभूत विद्यालय धनगढी-५ उत्कृष्ट विद्यालय हुन सफल भएका छन् ।






