अहिले बर्खाको बेला छ । प्रकृतिले आफ्नो ऋतुकालीन विशेषता प्रकट गर्नु स्वाभाविक हो । हिउँदमा सुख्खा र आगलागीको भय भएजस्तै बर्खामा भल, बाढी पहिरो र डुबानको जोखिम हुने नै भयो । गत विगतका घटना विस्तृत बन्दै गएकाले हुनसक्छ मानिसले वर्तमानको साम्नेका घटना हेरेर यसवर्ष पोहोर-परारभन्दा बढी जोखिम देखापर्यो भन्ने प्रतिक्रिया दिने गर्छन् । तर, यसवर्ष भने साँच्चै पहिलाभन्दा बढी जोखिमको सामना गर्नुपरेको छ । अस्ति शुक्रबार बिहान दुईवटा बस पहिरोमा परी त्रिशूली नदीको गर्भमा विलिन भएका छन् । ती बससँगै तिनमा सवार सबैजसो यात्रीहरू नदीमा डुबेर बेपत्ता छन् । तीनजना यात्री पौडिएर निस्कन सफल भएको बाहेक अन्य सबै बससँगै डुब्न पुगे ।
रातको समय लगभग ३.३० बजे हुँदो हो जताततै अन्धकार व्याप्त भएका बेला दुई बस पहिरोको हिलो लेदोसँगै त्रिशूलीमा खसे, धेरै यात्रीहरूले थाहै पाएनन्, कति त गहिरो निद्रामा थिए होलान् । बिउँझेकै अवस्थामा भएका भए पनि अन्य कुनै उपाय थिएन । छिनभरमा सोच्दै नसोचेको अवस्थाको सिर्जना हुन पुगेकाले हामफाल्न सक्ने मौका थिएन र हामफाल्दा पनि पहिरोमै परिने सम्भावना छँदैथियो ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौर जाँदै गरेको बसका सबैजसो यात्री गन्तव्यमा पुग्न पाएनन् । चितवनको भरतपुर नगरपालिका-२९ सिमलतालमा भएको घटनाले यस वर्षकै सबैभन्दा ठूलो कहाली उत्पन्न गराएको छ । कास्कीको पहिरोमा परेर ११ जनाले ज्यान गुमाएका छन् भने देशैभरि एक-दुईजनाका संख्यामा ज्यान गुमाउनेहरूको संख्या धेरै छ ।
खोलो तर्दा, पहिरोमा पर्दा, घरबास पहिरोले लैजाँदा, खोलाले घर बगाउँदा वा डुबाउँदा ज्यान गुमाउनेहरूको संख्या धेरै छ । यस्ता धेरैजसो घटना मानिसको काबुबाहिरको परिस्थितिले हुन्छ । त्यसकारण यिनलाई प्राकृतिक प्रकोप मान्न सकिन्छ भने केही घटना मानिसको लापरबाहीले हुनेगरेका छन् । यस्तो बेलामा सतर्कताको जरुरी छ । उद्धारमा खटिएकाहरूले ज्यान गुमाएका उदाहरण पनि पाइन्छन् । अप्ठ्यारामा परेकाहरूको उद्धार गर्नु मानवीय कर्तव्य हो र राज्यको कर्तव्य यसै हुँदै हो । राज्यले खटाएका सेना, प्रहरी तथा सशस्त्र प्रहरी बलका मानिसहरू आफ्नो जागिरको क्रममा त्यस्तै उद्धारको तालिमसमेत लिएर तयारी अवस्थामा बसेका हुन्छन् तर उनीहरू पनि सर्वगुण सम्पन्न हुन्छन् भन्ने छैन । डुबेका, पुरिएका, आगोमा परेका, भीरको खोँचमा अड्किएका मानिसहरूलाई बचाउन खोज्दा आफैं ज्यान गुमाउन पुगेका घटना प्रसस्तै छन् ।
यस्तो अवस्थामा आफू सुरक्षित भएरमात्र अरूको उद्धार गर्नु बुद्धिमानी हुनजान्छ । एकजनालाई बचाउन खोज्दा त्यसभन्दा बढीको संख्यामा उद्धार टोलीका मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था देखिन्छ भने त्यसमा विचार गर्नुपर्ने हुन्छ । केही दिनदेखिको अविरल वर्षाले देशभरि नै विभिन्न प्रकारका जोखिमका वर्षाजन्य दुर्घटना भइरहेका छन् । सबै नदीहरूमा पानीको वहाब बढिरहेको छ । विभिन्न संरचना बगिरहेका र डुबिरहेका छन् । पहिरोले मानिस तथा धनसम्पत्तिको क्षति गरिरहेको छ । बाढीपहिरोले जताततै क्षति पुर्याइरहेको छ । तराईमा डुबान भइरहेको छ । अविरल वर्षा हुने क्रम रोकिएको छैन । दुःखद् घटना अरू पनि हुने सम्भावनालाई नकार्न सकिँदैन ।
सबै नदीहरूमा पानीको सतह खतराको बिन्दुभन्दा माथि छ । हत्तपत्त सबै ढोका नखोलिने सप्तकोशीका सबै ५६ वटै ढोकाहरू खोलिएका छन्, त्यहाँ खतरासूचक रातो बत्ती बालिएको छ । प्रकृति मानिसको खटनमा चल्दैन । यसवर्ष अलिक ढिलो गरेर सुरु भएको मनसुन सुरुमा सक्रिय हुन केही ढिलै भयो । नेपाल प्रवेश गरेको केही दिनसम्म पूर्वको कोशी प्रदेशका जिल्लाहरूमा मात्र सक्रिय भयो । त्यसभन्दा पश्चिम लाग्न सकेन । केशी प्रदेशमा किसानहरूले सुरुमै रोपाइँ गर्न पाएनन् । त्यसपछि जब मनसुन देशैभरि समान रूपमा सक्रिय भएर सबैतिर फैलियो अनि वितण्डत सुरु भयो ।
केही दिन पहिलेसम्म पानी नपरेका कारण अत्यन्त थोरै प्रतिशत धान रोपाइँ भएको भन्ने समाचार संप्रेषण भइरहेका बेला एकाएक पर्न थालेको भारी वर्षले चरम रूप अहिले देखापरिरहेको छ । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । अहिले असार अन्तिम हुँदैछ । पानी पर्ने साउन र भदौ अझै दुई महिना बाँकी छन् । त्यतिमात्र होइन कुनै अप्रिय घटना हुनका लागि लामो समय चाहिँने पनि होइन । एक छिन्मै यस्ता घटना हुनसक्छन् त्यसैले पलपल सतर्कताको आवश्यकता पर्छ ।
एकातिर नागरिकहरू आफैं सावधान हुनै पर्छ । आफ्नो उद्धार अरूले गरिदेला भनेर प्रतीक्षा गर्नु लज्जास्पद हुन्छ । खोलाको छोउछाउमा पहिरोको जोखिम हुने ठाउँमा, भीर पाखामा घर बनाएर बस्नु आफैंमाथि जोखिम निम्त्याउनु हो तर देशको भूमि सबैतिर यस्तै भएकाले कतिको अन्यत्र घरघरेडी नभएको हुँदा बाध्यता हुन जाला तर सकेसम्म यसबाट आफैं सतर्क हुनु जरुरी हुन्छ । अर्कातिर नागरिकहरू सतर्क रहँदारहँदै पनि त्यस्तो अवस्था सिर्जना हुन पुगे राज्यपक्षले जिम्मेवारीका साथ उद्धार र राहतको व्यवस्था गर्नुपर्छ । जरुरी काम नपरी पदयात्रा, वनभोज, तीर्थाटन जस्ता कार्यक्रम यस्तो बेलामा नराख्नु उचित हुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा