✍️ अनिल नेपाली
चिनियाँ दार्शनिक लाओत्सुको प्रख्यात कथन छ, ‘हजारौं माइलको यात्रा एक कदमबाटै प्रारम्भ हुन्छ ।’ र, मेरो आफ्नै अनुभव र आत्माविश्वासले पनि भन्छः हिँडे पुगिन्छ ।
पृष्ठ-९, श्रीगर्ण
पर्यटन उद्यमी एवं कलाकार राजन सिम्खडाको संस्मरण कृति ‘हिँडे पुगिन्छ’ साहित्यको आँगनमा पाएँ । उज्यालो हिमशृंखलामाथि प्रेरणादायी र स्पष्ट अर्थ दिने पुस्तकको शीर्षकले सुरुमै आकर्षित गर्यो । पुस्तक पढ्दै जाँदा लामो समयदेखि मिश्रित स्वादको पुस्तक पढ्ने मेरो तृष्णा मेटियो । हिँडे पुगिन्छ उनको प्रकाशित पहिलो कृति भए पनि नेपाली साहित्यको संस्मरण लेखनको विद्यामा हस्तक्षेपकारी उपस्थिति देखिएको छ ।
वास्तवमा सिम्खडालाई संस्मरण लेखनको क्षेत्रमा सशक्त रूपमा स्थापित गर्ने बलियो जग नै विषयवस्तुको उचित छनौट, विषयवस्तुमाथि गहिरो अध्ययन, अनुसन्धान र स्पष्ट दृष्टिकोण तथा प्रस्तुतीकरणमा लेखकीय इमानदारी हो । त्यस्तै, विषयवस्तुमाथि तथ्यगत उपस्थिति र मानवीय भोगाइलाई कथानक रूप दिने प्रवृत्ति उनको संस्मरण लेखाइको अर्को महत्वपूर्ण पक्ष हो । सिम्खडाले लेखक बन्नकै लागिमात्र संस्मरण लेखेका छैनन् । उनले किन र कसका लागि लेख्दै छु भन्ने कुरामा निक्कै संवेदनशील र सचेतक भएर संस्मरण लेखेका छन् । आफ्नो भोगाइको अभिलेखीकरणमा आवाजविहीनहरूको आवाज र दृष्टिविहीनहरूको दृष्टिकोण समावेश गर्न सक्नु उनको विशेषता हो ।
बसाइँसराइको स्थिति र अवस्था, जीवनशैली र संघर्षको पाटोलाई छर्लंग उतार्न लेखकले आफ्नै पुर्खाको उदाहरण दिएका छन् । पुर्खाहरूको परिवार ठूलो हुँदै गएपछि आ-आफ्नो परिवार खडा गर्न बसाइँ सर्ने क्रममा छिन्नभिन्न भएको तीतो यथार्थ लेखकले सुरुमै समेटेका छन् ।
यस कृतिमा समावेश भएका तीनवटा खण्डमध्ये पहिलो खण्ड हो-‘म बनेको माटो’ । यसखण्डमा पूर्वकथा, प्रकृतिको परख, आध्यात्मिक आलोक, सांस्कृतिक संसर्ग, पाहुँना परमेश्वर, अनुशासन र सिर्जनात्मक स्रोत, काठमाडौंको कष्ट, कलाकारिताको कखरा, राजनीतिक रंग र सिए बन्ने सपना नामक दशवटा विषयवस्तु समेटिएका छन् । पहिलो खण्डमा राजन सिम्खडाको प्रारम्भिक चरणको जीवनदेखि किरोरावस्था सम्मका घटना सिलसिलाबद्ध रूपमा उतारिएको छ ।
यस खण्डका विषयवस्तुमा किशोरावस्थासम्मको जीवन भोगाइका विविध यथार्थ समावेश भएका छन् । ‘पूर्वकथा’ शीर्षकमा आजभन्दा करिब ४८ वर्षअघि नेपाली समाजको मनोदशा, सामाजिक तथा पारिवारिक संरचनाका अनेक किस्साहरू कथानक शैलीमा प्रस्तुत गरिएको छ । त्यो बेला बसाइँसराइको स्थिति र अवस्था, जीवनशैली र संघर्षको पाटोलाई छर्लंग उतार्न लेखकले आफ्नै पुर्खाको उदाहरण दिएका छन् ।
पुर्खाहरूको परिवार ठूलो हुँदै गएपछि आ-आफ्नो परिवार खडा गर्न बसाइँ सर्ने क्रममा छिन्नभिन्न भएको तीतो यथार्थ लेखकले सुरुमै समेटेका छन् । त्यसपछि लेखक प्रकृति प्रेमी भएर आफू जन्मेको ठाउँ वरपरको प्राकृतिक सुन्दरताप्रति संवेदना र सहानुभूति झन् जीवन्त बनेर पोखिन पुग्छन् । सूर्योदय र सूर्यास्तमा चाँदीबाट सुनजस्तो हुने गणेश हिमाल बाल्यकालमै देखेर उनी भुतुक्क भएका थिएँ । त्यही बेलादेखि हिमालप्रतिको असीम मोह भएको बताएका छन् ।
‘आध्यात्मिक आलोक’ मा लेखकले धर्मकर्मप्रति पारिवारिक प्रभाव र संस्कारप्रति झुकाव हुँदै आध्यात्मिक यात्रासम्मको आलोक छोटोमीठो शैलीमा बुनेका छन् । उनी बाल्यकालको सुदूर कुनामा पुग्दै लेख्छन्-परम्परागत धार्मिक परिवारमा जन्मिएको ममा सानैदेखि धार्मिक-अध्यात्मिक प्रभाव प¥यो । बुबाले लाहुरबाट ल्याउनुभएको ‘ज्ञानमाला’ भन्ने किताबमा ‘परेवाको फूलजत्रो ३२ वटा गाँस नबोलिकन कपाकप खानू, अघाए पनि नअघाए पनि उठ्नू’ भनिएको थियो । मैले गाँस नगने पनि नबोलिकन खान सिकेँ, जुन शीललाई ब्रतबन्ध भएको आठ वर्षसम्म निरन्तर पालना गरेँ ।
त्यस्तै, दोस्रो खण्डमा ‘मैले हिँडेको बाटो’ भित्र पूर्वकथा, पर्यटनमा पहिलो पाइला, एक पाइला पछाडि, पहिलो जागिर, कलाकारिताको कसरत, कुन बाटो कुन बाटो, ‘फष्र्ट’ मा गाइड, मुस्ताङ महात्म्य, बरोबर कैलाश-मानसरोवर, सर्वोच्च शिखरको शान, लुम्बिनीः बुद्धको जन्मस्थल, लोभलाग्दो लाङटाङ, श्रीगणेश आफ्नै व्यवसायको, नयॉ विहानी र पर्यटनमा नौला आयाम, गरी जम्मा १५ वटा विषयमा चर्चा गरिएको छ । यस खण्डमा राजन सिम्खडाले पर्यटन क्षेत्रमा संघर्षको प्रारम्भिक कालखण्डदेखि उद्यमी हुँदासम्मका विभिन्न आरोह/अवरोह र सुख, दुःखलाई रोचक तरिकाले इमानदारीसँग उतारेका छन् । त्यस्तै उनले बाल्यकालदेखिको कलाकारिता मोहले पर्दासम्म पुर्याएको रोचक कहानी पनि यसै खण्डमा पस्केका छन् । प्रवेशीका परीक्षा उत्रीर्ण गरेपछि उनले सिए पढ्ने सपना बोके । तर, पैसाको अभावमा आफ्नो रोजाईको विषय पढ्न पाएनन् । अन्ततः उनी क्याम्पसको पढाइसँगै होटलमा सामान्य कर्मचारीको रूपमा काम गर्न थाले । शारीरिक तन्तुरुन्ती, स्पष्ट बक्ता, मिलनसार र परोपकारी सिम्खडा होटलको सामान्य कर्मचारीदेखि आधा दर्जनभन्दा बढी कम्पनीको मालिक कसरी बन्न सके भन्ने सबै बृतान्त यसै खण्डमा छ । दोस्रो खण्ड अध्ययन गर्दा संघर्षबाट सफलतासम्म पुगेका जो कसैलाई संघर्षका पुराना दिनहरू झलझली आँखामा टाँसेर भावुक बनाउँछ । यो खण्ड पढ्दा यस्तो लाग्छ यो पुस्तक जीवनकै व्यवस्थापन गर्ने विशेष पाठशाला हो । यहाँ सांस्कृतिक संसर्गदेखि पर्यटनका राष्ट्रिय पाटोसम्मका सुक्ष्म विषयको वर्णन छ । संघर्ष र सफलताको कथा छ । जीवन भोगाइको कहानी छ । यो खण्ड बच्चाले पढे बहादुर बन्छ । कायरले पढे हिम्मतीलो बन्छ । रोगीले पढे निरोगी बन्छ । चोरले पढे सॉधु बन्छ । असफल व्यक्तिले पढे सफल बन्छ । असन्तुष्टले पढे सन्तुष्ट बन्छ । विदेश जान मेनपावरमा पासपोर्ट बुझाएको युवकले पढे पासपोर्ट फिर्ता माग्छ ।
विविधताका पर्यटकहरूको बहुआयामिक गन्तव्यको रूपमा नेपाल रहेको भन्दै उनले अनगिन्ती पर्यटकीय पदमार्गहरूको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेका छन् । ‘पर्यटनको राष्ट्रिय पाटोमा उनी लेख्छन्-र्याफ्टिङ, आइस, स्केटिङ, रक क्लाइमिङ, बञ्जी जम्पलगायत साहसिक पर्यटनको खानी हो नेपाल । पदयात्राका दृष्टिकोणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो ।
र, तेस्रो खण्डमा ‘पर्यटनको राष्ट्रिय पाटो’अन्तर्गत पूर्वकथा, परदेशको ऐनामा हाम्रो परिदृश्य, अर्जुनदृष्टिः पचास लाख पर्यटक, यातायात सञ्जाल, पर्यटनका टेका, भिजन र मिसन र अन्ततः आत्मनिर्भर अर्थतन्त्र गरी जम्मा सातवटा विषयमा चर्चा गरिएको छ । पर्यटनको राष्ट्रिय पाटो अन्तर्गत नेपालको पर्यटनमा धार्मिक पाटोको विभिन्न उदाहरण र किस्साहरू उतारिएको छ । निष्कर्षमा लेखकले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा अघि सारेका छन् । विभिन्न ऋषिमुनि र ऐतिहासिक पात्रहरूको नेपाल साइनो खोतल्दै पर्यटनमा तिनको अन्तर्राष्ट्रिय महत्व रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । श्रृङ्गी ऋषि, व्यास, लवकुश, वाल्मीकि र ऋषि कौशिकको सम्बन्ध नेपालका विभिन्न पवित्र ठाउँमा रहेको खुलाएका छन् । त्यस्तै, यदुनन्दन, महामुनि मञ्जुश्री, सम्राट अशोक, हुवेन साङ, फाइयाल, शान्तरहिन, कमलाशीष, पद्यसम्भव, दिपांकर, श्रङ्चन गम्पोजस्ता सन्त र धार्मिक पात्रहरूले नेपालस‘ग कहिले र कुन कारणले साइनो राखे भन्नेबारे तथ्यसहित प्रष्ट्याएका छन् ।
संस्मरणको भुगोल धादिङको दार्खादेखि काठमाडौं, मुस्ताङ, कैलाश मानसरोबर, सगरमाथा, लुम्बिनी, लाङटाङ हुँदै चीन, भारत, हङकङ, रुस, बैंकक, क्वाललम्पुरसम्म फैलिएको छ । यसै क्रममा लेखकले विश्वका मुलुकले पर्यटन विकासको निम्ति खडा गरेका चामत्कारिक पूर्वाधारदेखि नेपालका अनगिन्ती पर्यटनका सम्भावित गन्तव्यहरू समेटेका छन् । ‘परदेशको ऐनामा हाम्रो परिदृष्य’ शीर्षकमा व्यापार र पर्यटनको अन्तरसम्बन्धको उदाहरण दिँदै उनी लेख्छन्-पूर्व र पश्चिमको पर्यटकीय हबको रूपमा विकास गरिएको रहेछ हङकङ । बेइजिङ वा रुसबाट आएर हङकङ हुँदै अष्ट्रेलियातिर जान मिल्ने । त्यहाँबाट लस एञ्जलस, सार्क मुलुक, पश्चिम एसिया र युरोपतिर पनि जान मिल्ने । एक सय वर्ष बेलायतको उपनिवेश रहेको हङकङ गज्जबको व्यापारिक केन्द्र रहेछ ।
त्यस्तै, उनी तनहुँको अन्तुडाँडादेखि रारातालसम्म, सगरमाथादेखि शुक्लाफाँटसम्म, जनकपुर-लुम्बिनीदेखि मुस्ताङसम्म ओलाङचुङगोलादेखि काठमाडौं, पोखरा, ढोरपाटन र सिञ्जा उपत्यकासम्मको भुभाग अनुपम संग्रह भएको बताएका छन् । हिमाल, पहाड र तराईमा भएका जैविक, सांस्कृतिक, भौगोलिक, भाषिक विविधतालाई बोटानिकल गार्डेन र चिडियाखाना भएको बताएका छन् । विविधताका पर्यटकहरूको बहुआयामिक गन्तव्यको रूपमा नेपाल रहेको भन्दै उनले अनगिन्ती पर्यटकीय पदमार्गहरूको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेका छन् । ‘पर्यटनको राष्ट्रिय पाटोमा उनी लेख्छन्-र्याफ्टिङ, आइस, स्केटिङ, रक क्लाइमिङ, बञ्जी जम्पलगायत साहसिक पर्यटनको खानी हो नेपाल । पदयात्राका दृष्टिकोणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो । एभरेष्ट बेस क्याम्प, डोल्मो ट्रेक, हिङ्मु र होङ्गु उपत्यका, उपल्लो मुस्ताङ, लाङटाङ भ्याली, अन्नपूर्ण सर्किट, जोमसोम र मुक्तिनाथ, जुम्लादेखि रारासम्म, जिरीदेखि लुक्लासम्म, रुबी भ्याली, धौलागिरि सर्किट, सोलु, लमजुङ घलेगाउँ, अन्नपूर्ण क्षेत्रलगायत धेरै पदमार्ग हाम्रा अनुपम सम्पदा हुन् । यी पदयात्रा मार्गको संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास गर्ने हो भने नेपालको समृद्धिमार्ग नै सावित हुन सक्छ ।
पर्यटन व्यवसायको इतिहास र चरणबद्ध विकासबारे उनले गहिरो अध्ययन, अनुसन्धान गरेर सामग्री पस्केका छन् । पर्यटन व्यवसायको इतिहास खोतल्न उनी सन् १८४१ सम्म पुग्छन् । र, सोही सालको जुलाईमा रेल चार्टर गरेर ५७० पर्यटकलाई बेलायतको लिस्टरदेखि लबरोसम्म यात्रा गराएका थमस कुकलाई उनी विश्वकै पहिलो ट्राभल एजेन्ट मान्छन् । यसरी लेखकले संस्मरणमार्फत आर्थिक, सामाजिक, राजनीतिक, भौतिक, ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भाव्यतालाई खिचडी बनाएर जस्ताको तस्तै पस्केका छन् ।
समग्रमा ‘हिँडे पुगिन्छ’ कृति पठनयोग्य छ । २९९ रुपैयाँ मूल्य रहेको यो किताब पाठकले किनेर पढ्दा राजन सिम्खडा धन्यवादका पात्र अवश्य बन्नेछन् । तर, पुस्तकको आवरण र समग्र साजसज्जा अलि आकर्षक नहुँदा पुस्तकभित्रको खुराकले पाठकको ध्यान सजिलै तान्दैन । लेखकले आफ्ना अनुभूतिलाई सिलसिलाबद्ध रूपमा उतार्ने प्रयास गरे पनि प्रसंगभन्दा बाहिरका विषयवस्तुसमेत जबरजस्त सम्बोधन गर्न खोज्दा पाठकलाई दिक्क लाग्न सक्छ । लामा वाक्य, विषय सूचीको अस्पष्टता, र मानवीय भोगाइका अन्य सूक्ष्म पाटाहरू ओझेलमा पर्दा लेखकीय अभ्यास र सिकाइको अलि कमी देखिन्छ । खैर, सिकाइ सधैं अनन्त र अनवरत रहन्छ । कृतिको रूपमा राजन सिम्खडाको ‘हिँडे पुगिन्छ’ पहिलो प्रयास हो । तर, सफल व्यवसायी, कलाकार, सामाजिक अभियन्त, उद्घोषक र लेखकको रूपमा उनले बाँचेको अनुकरणीय जीवन चाँहि पर्याप्त छ । यो उनको संघर्ष, सफलता र सपनाको कुञ्ज हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता