घोराही । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका-१९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय निकै टरिसकेको थियो । बेलुका ८ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
तुलसीपुर-२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए । घरभित्र कसरी सर्प आयो होला भनेर हजुरआमालाई विश्वास लागेन । त्यसपछि बत्ती बालेर ओढिराखेको कम्बल फाल्दा सर्प बालकको कम्मरमा बेरिएको थियो । तत्काल उनलाई मोटरसाइकलमा चढाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइयो ।
प्रादेशिक अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउन सकेनन् र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरियो । आठ वर्ष अघि सर्पकै टोकाइबाट आमा गुमाएका घनश्यामलाई उपचारका क्रममा यही असार ७ गते साँझ ८ बजे डाक्टरले उनलाई बचाउन नसकिने खबर सुनाए ।
यी प्रतिनिधि मूलक घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा आर्थिक वर्ष २०७८/७९ मा नौ र २०७९/८० मा छ जनाको मृत्यु भएको छ । दाङमा चालु आर्थिक वर्षको हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने एक सय ७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङले देखाउँछ ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचायले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेको बताउनुभयो ।
समयमै अस्पताल पुगिसकेका बिरामीले पनि ज्यान गुमाउनुमा स्वास्थ्यकर्मीकै लापरवाही भएका बिरामीका आफन्त गुनासो गर्छन् । सर्प नचिन्दा र अस्पताल ढिलो आउने गरेका कारण कतिपय व्यक्तिहरुको सर्पदंशबाट ज्यान जाने गरेकोे चिकित्सकहरु बताउँछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारी सर्पले टोकी हाल्यो भने तत्काल अस्पताल पुग्न आग्रह गर्नुहुन्छ ।
पछिल्लो समय एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्ने भएको हुँदा पनि कतिपयले अकालमै ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने उहाँ बताउनुहुन्छ ।
अस्पताल जानुको साटो झारफुकमा विश्वास गर्दा पछिल्लो तीन वर्षमा २५ जनाको मृत्यु भएको छ । सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति भए पनि जिल्लामा कतिपयले झारफुकमा लाग्दा ज्यान गुमाएका छन् भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नुपरेको छ । रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts